धुन्चेमा ल्होसार कार्यक्रम सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:२२

– सरस्वती न्यौपाने

धुन्चे, ‘‘कला, संस्कृति, भाषा, धर्मको प्रर्वद्धन र जर्गेना गरौं रसुवाली कलाकार एक जुट हौं’’ भन्ने नाराका साथ गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ धुन्चेमा ल्होसार कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा भएको ल्होसार विशेष कार्यक्रम तामाङ संस्कृति, लाङटाङ, गोसाइँकुण्ड जस्ता क्षेत्रको प्रचार–प्रसारले पर्यटन वर्ष २०२० सफल बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका संयोजक दावाफिन्जो तामाङले जानकारी दिनुभयो ।

प्रतिनिधीसभा सदस्य मोहन आर्चायको प्रमुख आतिथ्यमा वाग्मती प्रदेशसभा सदस्यहरू प्रभात लामा, प्रेम तामाङ, शान्ति थिङलगायतका विशिष्ट ब्यक्तिको उपस्थितिमा भएको कार्यक्रममा स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो । आफ्नो कला, संस्कृति, भेषभुषा र इतिहासलाई झल्काई भावी पुस्ताले समेत जान्न र बुझ्नु भनेर नै कार्यक्रम गरिएको संयोजक तामाङले बताउनु भयो ।

प्रतिनिधीसभा सदस्य आर्चायले कार्यक्रमको अवसरमा धुन्चेको सभाहल भूकम्पले तहसनहस भएको छ । यसलाई १ वर्षभित्रै निर्माण गर्ने बाचा रसुवालीबीच गर्नुभएको छ । जिल्ला तामाङ समुदायको बाहुल्यता रहेकोले ल्होसार मात्र नभई हरेक पलपलमा तामाङ संस्कृति झल्कने कार्यक्रम हुनुपर्ने भन्दै उहाँले शुभकामना ब्यक्त गर्नुभयो ।

धुन्चेमा अवस्थित चर्चित ब्याण्डलगायतका ख्याती प्राप्त गायक, गायिका, हास्यकलाकारको बेजोड प्रस्तुती रहेको थियो । आगामी दिनमा यस्ता कार्यक्रम भईरहने बताईएको छ ।