विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली बाढीपछिको कठिन र सङ्कटपूर्ण अस्तव्यस्त अवस्थामा लायन्स क्लब र स्वयम्सेवक खटिएर प्रभावितको खाना, बसोबास, स्वास्थ्य उपचारका साथै मानवीय सेवामा उदाहरणीय कार्य गरेर नुवाकोटवासीको मनमनमा बस्न सफल भएको छ ।




जिल्लामा रहेका लायन्स क्लब अफ नुवाकोट क्यापिटल, लायन्स क्लब अफ नुवाकोट आदर्श, लायन्स क्लब अफ नुवाकोट सम्पदा, लायन्स क्लब अफ नुवाकोट बाराही, लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी बाढीपछि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठको समन्वयमा प्रभावित क्षेत्रमा खटिएका थिए । सुरुका दिनदेखि त्रिशूली नदीकिनारका खण्डहर बस्तीमा मानवीय सेवाका लागि बिहान, बेलुकाको खाना, दिउँसोको खाजाका लागि सामूहिक भान्साघर विदुर–५, देवीघाट क्षेत्रमा सञ्चालन गरी तीन सय ५५ परिवारका सात सय जनाभन्दा बढीलाई एक महिनासम्म दैनिक खानाको व्यवस्थापन गरेको थियो । त्यसैगरी, बाढीपछि सदरमुकामबाट आवतजावत ठप्प रहेको त्रिशूली नदीपारि विदुर–६, मूलथलामा दैनिक सयजनालाई खाना खुवाउनसमेत लायन्स क्लब र स्वयम्सेवक अहोरात्र खटिएका थिए । जिल्लाका क्रियाशील लायन्स क्लब र स्वयम्सेवकले बाढीका कारण व्यापार, व्यवसाय र रोजगार गुमाएका परिवारको पहिचान गरी उहाँहरू बसेकै स्थानमा खाद्यान्न सामग्रीसमेत प्रभावितको मागअनुसार उपलब्ध गराएका थिए ।

बाढीबाट घरबारविहीन भएका र परिवारजन गुमाएर शोकमा परेका प्रभावित आफ्नो संस्कारअनुसार काजकिरियाका लागि जहाँ बसेका थिए, त्यहीँसम्म लायन्स स्वयम्सेवकले मोबाइल भ्यानमार्फत आवश्यक राहत सामग्री पु¥याउने व्यवस्था मिलाएका थिए । रसुवाको उत्तरगया गाउँपालिकाबाट विस्थापित भई नुवाकोट आएका ४१ परिवारलाई विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालयमा अस्थायी आवास केन्द्र स्थापना गरी सुरक्षित वासस्थान र खानाको प्रबन्ध गरिएको थियो । एक महिनापछि अस्थायी बसोबासका लागि विदुर–५, पिपलटारस्थित पोष्टबहादुर पार्कमा रहेको खाली जमिनमा टेन्टको व्यवस्थापन गरी आवश्यक खाद्यान्न, ओढ्ने–ओछ्याउने डसना–सिरक, भाँडाकुँडा, ग्यास चुलो तथा भान्साका सामग्रीलगायत लत्ताकपडा र अन्य दैनिक आवश्यकताका सामग्री उपलब्ध गरी बसाइ व्यवस्थापन गरिदिएका थिए ।


लायन्सले स्थायी प्रकृतिको आवास व्यवस्थापनका लागि बेलकोटगढी नगरपालिका–८ का ६५ परिवारलाई लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनबाट प्राप्त आर्थिक सहयोगमा जस्तापाता वितरण गरेको थियो । स्थानीय सरकारसँगको समन्वय र अन्तर्राष्ट्रिय दातृ संस्था ‘खाल्सा एड इन्टरनेसनल’को आर्थिक सहयोगमा विदुर– १, त्रिशूली बजार क्षेत्रमा पाँच दिनसम्म विभिन्न हेभी उपकरणको प्रयोग गरी बाढीले थुपारेका भग्नावशेष, बालुवा र गेग्य्रान हटाउनसमेत सहयोग गरेको थियो । सो कार्यका लागि आवश्यक गमबुट, पन्जा, मास्क, साबेल तथा पिकलगायतका सामग्री स्वयम्सेवकलाई लायन्स क्लबले उपलब्ध गराएको थियोे । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३५४ डी (कोरिया)बाट आएका उद्धारकर्ता लायन्स स्वयम्सेवकसँग सहकार्य गरी उद्धार तथा सरसफाइ कार्यमा समेत सक्रिय जिल्लाका लायन्स क्लबहरूको समन्वयमा त्रिशूली नदीमा भएका पुल बाढीले बगाएपछि नदी वारपार गर्न कठिनाइ भएको अवस्थामा विदुर–६, देवीघाट जलविद्युत् उत्पादन गृह सिँचाइ क्षेत्रमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनबाट प्राप्त रकममार्फत ‘विद्युतीय स्वचालित तुइन’ जडान गरी सञ्चालन भइरहेको छ । तुइनबाट दैनिक सयौँ स्थानीयवासी, विद्यार्थी, बालबालिका, किसान तथा सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

बाढीका कारण विदुर क्षेत्रको खानेपानीको मुहान र पाइपलाइन बगाएपछि बजार क्षेत्रमा खानेपानीको अभावका कारण उत्पन्न समस्या समाधान गर्न लायन्स स्वयम्सेवक बोरिङ मर्मत गरी खानेपानी व्यवस्थापनमा जुटेका थिए । बाढीको त्रासदीले मानसिक स्वास्थ्य कमजोर भएका प्रभावितका लागि विशेष मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको छ । नियमित स्वास्थ्य जाँच र उपचारका लागि प्रभावकारी स्वास्थ्य क्लिनिक स्थापना गरी निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गरिएको छ । विस्थापित परिवारका बालबालिकाको पठनपाठन नरोकियोस् भनेर प्रभावितको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । त्रिशूली नदीपारिका विभिन्न स्थानमा लायन्स क्लबमार्फत खाद्यान्न, लत्ताकपडालगायतका दैनिक उपभोग्य सामग्री वितरण गरी मानवीय सेवाका उल्लेख्य कार्य गरिरहेको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । बाढीपछि धादिङ, नुवाकोट र रसुवाका विकट स्थानमा पुगेर लायन्स र लियो स्वयम्सेवक सेवामा जुटेका थिए । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स स्वयम्सेवकले भोटेकोसी र त्रिशूलीको प्रलयबाट प्रभावितको सेवामा खटिएर यो प्रमाणित गरेका छन् कि विपत्को घडीमा समाजको साथमा लायन्स परिवार सदैव अडिग छ ।






प्रतिक्रिया