सुन गायव, १६ प्रहरी अख्तियारको फन्दामा

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:२७

धुन्चे, रसुवा जिल्लामा पहिलो पटक तस्करीको सुन लुकाउने नेपाल प्रहरीका प्रहरी अधिकृत सहित १६ प्रहरी अख्तियारको फन्दामा परेका छन् ।

तस्करीको करिव ३६ तोला सुन बाँडीचुँडी लिएका इन्स्पेक्टरसहित १६ जना प्रहरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिरासतमा राखेर छानबिन अघि बढाएको छ । प्रारम्भिक छानबिनमा उनीहरूले सुन लुकाएको पुष्टि भएपछि थुनामा राखेर छानबिन अघि बढाईएको हो ।

सीमा प्रहरी चौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ प्रहरीमाथि अहिले छानबिन भईरहेको छ । अख्तियारकै पत्रानुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । इन्स्पेक्टर नेपालसहित प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरूषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ । प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रूम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ पनि अख्तियारको हिरासतमा छन् । उनीहरू सबैलाई गत हप्ता नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौंडामा राखिएको थियो । अख्तियारको पत्रानुसार प्रहरीले उनीहरूलाई बुझाएको हो ।

गत पुस ११ मा केरूङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा प्रहरीले ना.६ ख.४९३२ नम्बरको कन्टेनरबाट ४ सय २२ ग्राम सुन बरामद गरेको थियो । गाडीका चालकले नै यस सम्बन्धमा माथिल्लो निकायमा सूचना दिएपछि घटना बाहिर आएको हो । सुरूमा वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको समितिले छानबिन गरेको थियो । सोही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान अघि बढाएको थियो । बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् । स्रोतका अनुसार यो घटनामा प्रहरी बाहेक ब्यापारी, कर्मचारी र जनप्रतिनिधी समेतको संलग्नता देखिएको आशंका अख्तियारले गरेको छ ।