कोरोना भाईरसको त्रासले रसुवाको पर्यटन ब्यवसाय सुनसान

  • त्रिशूली प्रवाह
  • २३ फाल्गुन २०७६, शुक्रबार १४:५७
Logo of trishuli prawaha

धुन्चे, कोरोना भाईरसको त्रासले विदेशी पर्यटकको चहल–पहल नहुँदा रसुवाको पर्यटन ब्यवसाय अहिले सुनसान अवस्थामा पुगेको छ । ४४ देशमा कोरोना भाईरस प्रभाव परेपछि विदेशी पर्यटकको भ्रमण नेपालमा रोकिंदा रसुवालगायत देशैभरका पर्यटकीयस्थलको पर्यटन ब्यवसाय सुनसान बनेको छ । रसुवा जिल्लामा विगत केही समय यता कोरोना भाईरसको त्रासका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या न्युन रहेको छ ।

निकुञ्जको अनुसार गत वर्ष एक जना कर्मचारीले चिट काट्ने, एक जना कर्मचारीले राजश्व संकलन गर्दा भ्याई–नभ्याई हुने गरेको थियो । गत वर्ष दैनिक सयौं जना पर्यटकको आगमन हुन्थ्यो भने यो वर्ष कोरोना भाईरसका कारण दैनिक ४÷५ जना मात्र पर्यटक आईरहेका छन् । आन्तरिक पर्यटक भने कहिले शून्य, कहिले ४०/५० जनासम्मको आगमन भईरहेको छ ।

भूकम्पका कारण पर्यटनको आगमन घटेको थियो भने अहिले कोरोना नामक भाईरसले घटेको लाङटाङका वडाध्यक्ष सुप्पा तामाङले बताउनु भयो । अहिले कोरोना नामक भाईरसले गर्दा पर्यटक आउने सिजनमा पनि पर्यटक देख्नै मुश्किल परेको उनले बताए । निकुञ्ज भ्रमणका लागि इजरायल, फ्रान्स, क्यानाडा, जापान, इटाली, अमेरिका, थाईल्याण्ड, बेलायत, कोरिया, रसिया, स्पेन उरुग्वे, कोरिया, सिंगापुरलगायत देशका पर्यटक आउने गरेका छन् भने नेपालको ७७ वटै जिल्लाबाट आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् भने अहिले कोरोनाको त्रासले फाट्ट–फुट्ट पर्यटक पुग्छन् । सयौं संख्या पुग्ने पर्यटक आजभोली शून्य रहेको लाङटाङबासी बताउँछन् ।

गोसाइँकुण्डमा भने हिँउ पर्ने समय र अत्याधिक चिसोका कारण मानिस त्यति नआउने, आएपनि चन्दनबारीसम्म पुगेर फर्कन्छन् । १÷२ जना भने कुण्ड नै पुग्ने गरेको होटल ब्यवसायी पासाङघ्युर्मी तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । गोसाइँकुण्ड र लाङटाङका होटल सुनसान छन् ।