भैरवी मन्दिरको शिलान्यास

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:२१

धादिङवेंशी, धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं.–६ सुनौलाबजारमा रहेको भैरवी मन्दिरको पुनःनिर्माणका लागि शिलान्यास भएको छ । मन्दिरको पुनःनिर्माणको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले गत हप्ता शिलान्यास गर्नुभएको थियो ।

मन्दिर पुनःनिर्माणको लागि निलकण्ठ नगरपालिका, ६ नम्वर वडा कार्यलय र सांसद् खेम लोहनीमार्फत स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट आर्थिक सहयोग जुटाईएको छ । मन्दिर पुरातत्व विभागमा सूचिकृत भएको साँस्कृतिक सम्पदा भएकाले पुरातत्व विभागको नीति र निर्देशनमा पुनःनिर्माण गर्न लागिएको हो । त्यस्तै मन्दिरको पुनःनिर्माणको लागि पुनःनिर्माण समितिले सञ्चालन गरेको महायज्ञबाट २ करोड ५ लाख रुपैयाँ उठाईएको थियो ।
मन्दिर क्षेत्रबाट मनास्लु हिमश्रृंखला र धादिङवेंशी आसपासका क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पूरानो सदरमुकामबाट नजिकै रहेको भैरवी मन्दिरलाई ऐतिहासिक, साँस्कृतिक र धार्मिक महत्व मात्रै होइन पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मन्दिरको रुपमा लिइने गरिन्छ । नुवाकोटमा रहेको भैरवी मन्दिरकै डिजाइनअनुसार निर्माण गर्न लागिएको छ ।