चमेली गुरुङ
उपाध्यक्ष
उत्तरगया गाउँपालिका रसुवा
रसुवा जिल्लाको धुन्चेमा २०४३ साल कार्तिक ११ गते पिता पे्रमबहादुर गुुरुङ र माता दिलमाया गुरुङको कोखबाट डाँडागाउँमा जन्मिएकी चमेली गुरुङ २०६७ सालदेखि शिक्षण पेशामा संलग्न भएकी थिइन् । शिक्षण पेशामा संलग्न रहँदै गर्दा स्थानीयतहको निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचन लड्ने अवसर पाईन् । उक्त अवसर पाएपछि चमेलीले शिक्षण पेशाबाट राजीनामा दिएर उत्तरगया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनिन् र निर्वाचित समेत भईन् । स्नातककोतर तहसम्मको अध्ययन पूरा गरेकी गुरूङ आफन्त र नेकपाका केन्द्रिय सदस्य माधव अर्यालको हौसलाबाट राजिनितीमा लागेको बताउँछिन् । विगत ३ वर्षदेखि उपाध्यक्ष पदमा रहेकी गुरूङले उत्तरगया गाउँपालिकालाई आफ्नो कार्यकालमा समृद्ध पालिका बनाउँछु भन्ने प्रतिर्वद्धता ब्यक्त गरेकी छिन् । गाउँपालिकाले जनतालाई सरकारको अनुभुति हुने गरी के, कति काम भईरहेको छ ? यही विषयमा उप–प्रमुख चमेली गुरुङसँग त्रिशूली प्रवाह साप्ताहिककी सम्वाददाता सरस्वती न्यौपानेले गर्नुभएको कुराकानीको संक्षिप्त :
स्थानीय सरकार प्रमुखको नजरमा संघीयता कार्यान्वयनको अवस्था कस्तो छ ?
संघीयता लागू भएको करिव तीन वर्षको अवधिमा अहिले पनि संघीयता शिशु अवस्थामा रहेको छ । अहिले यसले संविधानतः संस्थागत विकासोन्मुख भएर अगाडी बढिरहेको छ । यसको कार्यान्वयनको प्रक्रिया शुभारम्भ भएकाले यसको विकास सहज रूपमा हुनेछ ।
स्थानीय सरकारलाई जनआकाङ्क्षा अनुसार काम गर्न कस्ता चुनौती छ त ?
जनताको आकाङ्क्षा पूरा गर्न र भएका गुनासो सुन्नका लागि स्थानीय सरकार तयार छ र जनआकाङ्क्षा अनुसार काम पनि गरिरहेका छौं । आफू नजिकै आफूले चाहेको समयमा भेट्न, बोल्न र लागेको कुरा भन्न सकिने सरकार छ । स्थानीय सरकारले बनाउनुपर्ने धेरै ऐन कानुन छन् । संघीय र प्रदेश सरकारले समयमा ऐन कानून नबनाउँदा हामीले सोचेअनुसार काम गर्न र गर्न लागेको कामले पूर्णता पाउन सकेको छैन । ऐन बनेपछि गाउँपालिकालाई कसरी ब्यवस्थापन गर्नेदेखि गर्नुपर्ने काम बाँडफाँड गरी भएका चुनौती समाधान गर्न आवश्यक छ ।
जनताले सुशासनको प्रत्याभुति नभएको गुनासो गरिरहेका छन् नि ?
जनताबाट गुनासो आउनु स्वभाविक हो, सुशासन दिने प्रयत्न हामीले गरिरहेका छौं र गर्नुपर्छ पनि, नागरिकको कुरालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने पद्धति र परिपाटीको विकास हुँदैछ । अर्को कुरा सुशासनलाई जोड दिनुपर्छ भनेर उपलब्ध भएसम्मको प्रविधिमैत्री गाउँपालिकाको कार्यालय बनाएका छौं ।
जनप्रतिनिधी भएर काम गर्नुभएको ३ वर्ष भयो । यस अवधिमा तपाईबाट विकास निर्माणको काम के–के भए त ?
सर्वप्रथम ३ वर्षको अवधिमा पुनःनिर्माण अभियानमा लागियो । ग्रामिण सडक विशेष प्राथमिकतामा राखेर सडकले नछोएको स्थानहरुमा सडक पु¥याऔँ । प्रत्येक २÷३ घरलाई १ धाराको सुविधा दिएका छौँ । ओझेलमा परेको एतिहासिक क्षेत्र घलेगढी पर्यटकिय गन्तब्यको रुपमा चिनाउन हामी लागिरहेका छौं । यो अवधिमा जनताको अपेक्षालाई सम्बोधन गर्दै थुप्रै काम भएका छन् ।
स्थानीय सरकारको अनुभुति जनताले गर्न पाएका छन् त ?
हिजोका दिनमा जस्तो साना–तिना कामको लागि सिंहदरवार (केन्द्र) धाउनुपर्ने बाध्यता अहिले छैन । आफ्नै घर, अाँगनमा आफैंले निर्वाचित गरेका जनप्रतिनिधीसँग विकास निर्माण र दुःख, सुखको बारेमा जनताले छलफल गर्न पाएका छन् । जनप्रतिनिधीलाई आफ्नो समस्याको बारेमा सहज रूपमा भन्न पाएका छन् । सेवाग्राहीले सहज रुपमा सेवा लिन पाईरहेका छन् । गाउँ–गाउँमा सिंहदरवार भन्नु घर दैलोमा नै सहज रूपमा काम हुनुु होइन र ? संघीयताले केन्द्र वा सदरमुकाममा धाउनुपर्ने अवस्थाको अन्त्य गरेको छ । नागरिकता, पासपोर्ट, नापी, मालपोत र मुद्दा, मामिला बाहेकका काम गाउँपालिकामै हुन्छ । संघीयता कार्यान्वयनको चरणमा रहेकोले हामी जनप्रतिनिधी पनि केही अलमलमा प¥यौं भने जनता पनि आफ्नो अधिकारको बारेमा जानकार भएन । अहिले मेरो गाउँपालिकाका जनताले स्थानीय सरकार छ भन्ने अनुभुति गरिरहेका छन् । हामीलाई सल्लाह, सुझाव दिईरहेका छन् ।
स्थानीयतहमा जनप्रतिनिधी र कर्मचारीको सम्बन्ध सुमधुर छैनन् भन्छन्, उत्तरगया गाउँपालिकाको अवस्था कस्तो छ ?
संघीयता कार्यान्वयन गर्ने भनेकै स्थानीयतहका कर्मचारी र जनप्रतिनिधीले हो । संघीयता नयाँ भएकोले कार्यान्वयन गर्ने क्रममा कहीँ–कहीँ स्थानीयतहका जनप्रतिनिधी र कर्मचारीको सम्बन्धको बारेमा नराम्रो हल्ला भएको थियो । जनप्रतिनिधी र कर्मचारीको सम्बन्ध सुमधुर भएन भनि त दैनिक सेवा प्रवाहदेखि विकास निर्माणका काम अगाडी बढ्न सक्दैन । तर हाम्रो गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीको सम्बन्ध सुमधुर र धनिष्ट छ । गाउँपालिकामा हामी जनताका दुःख सुखको लागि सिमित समयका लागि आएका हौँ र कर्मचारी स्थायी सरकार एंव बौद्धिक वर्ग हुन् भन्ने भावना हाम्रोमा छ । दुवैले आ–आफ्नो अधिकार क्षेत्रको बारेमा सचेत छौं । त्यसैले गर्दा हाम्रो गाउँपालिकामा काम गर्दा कुनै अवरोध र विवादको खासै सामना गर्नुपरेको छैन ।
समृद्ध रसुवा बनाउने अभियानको लागि के कस्ता काम भएका छन् ?
समृद्ध रसुवा बनाउने अभियानको लागि आ–आफ्नो क्षेत्रको प्राकृतिक साधान र स्रोतको उचित प्रयोग गर्नुपर्छ । स्थानीय क्षेत्रमा उद्योग, ब्यवसायको विकास र बिस्तारमा आवश्यक वातावरण बनाउनु पर्छ । विशेष गरी विकास निर्माण र भौतिक संरचना निर्माणलाई प्रमुख प्राथमिकता दिनुपर्छ । हाम्रो गाउँपालिकाले यी सबै क्षेत्रमा योजनावद्ध ढंगले काम गरिरहेको छ ।
स्थानीयतहमा खटाईएका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्ने गुनासो छ नि त ?
हाम्रो गाउँपालिकामा आएका कर्मचारीलाई हामीले माला लगाएर स्वागत र सम्मान गरेका र्छौं । समायोजन भएर आएका कर्मचारीलाई हाजिर गर्न नदिने त प्रश्नै आउँदैन । आवश्यक, दक्ष कर्मचारी नहुँदा प्रस्ताव गरिएका कार्यक्रम सम्पन्न हुन सकेको छैन । अझै पनि हाम्रो पालिकामा पूरा दरबन्दीअनुसार कर्मचारी छैनन् । यस्तो अवस्थामा संघ र प्रदेशबाट खटाईएका कर्मचारीलाई हाजिर गर्न नदिने त कुरै भएन नि ?