– रिना खनाल
चीनमा उत्पत्ति र त्यहींबाट संक्रमित हुँदै फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सहित अहिले अमेरिका, युरोपलगायत संसार नै आक्रान्त बनेको छ । यसबाट छुटकारा पाउन विश्वका सबै देशले विभिन्न उपाय अपनाईरहेका छन् । विश्वका शक्तिशाली देशलाई समेत घुँडा टेकाउने यो भाईरसले विश्वकै आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक तथा धार्मिकलगायत मानव जीवनलाई नै अस्तब्यस्त बनाएको छ । अहिले मानव अस्तित्व जोगाउने एक निष्ठ कर्ममा संसार नै लागिपरेको छ ।
अहिले करीब दुई तिहाई विश्व नै लकडाउन (बन्दाबन्दी) को अवस्थामा रहेको छ । नेपालमा पनि लकडाउन शुरू भएको ३७ दिन भईसकेको छ । एक महिना भन्दा बढी भईसकेको लकडाउनका कारण मानिस आ–आफ्नो घरभित्र बस्न बाध्य छन्, कतिपय भने अलपत्र परेका छन् । किन भने मानिस–मानिस बीचको भौतिक दूरी बढाउनु नै संक्रमणबाट बच्ने उत्तम उपाय हो । विश्व समुदायले यही उपाय अवलम्बन गरिरहेका छ, केही अपवाद बाहेक यो समय कतिका लागि सदुपयोगको समय बनेको छ भने कतिको लागि कमाउ धन्दा चलाउन मौका छोप्ने जस्तो घृणित अवसर भईरहेको छ भने कतिका लागि भने पुर्पुरोमा हात राख्नुपर्ने विवशता बन्न गएको छ ।
बन्दाबन्दीको कारणले विश्वभर करोडौं मानिसले रोजगारी गुमाएका छन् । गरीव तथा ज्यालादारी गर्ने मजदुरको लागि यो समय भयावह बनेको छ । कतिपयको अवस्था अत्यन्त नाजुक बन्दै गईरहेको छ । तथापी, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैं यो समय कृषिकर्म गर्नेको लागि भने ज्यादै उपयोगी बनेको छ । अहिलेको अवस्था शहर पसेका सन्तान गाउँ फर्केका छन् र आफ्ना सन्तान घरमा रहेको बेला उनीहरुलाई खेतबारीमा काम लगाउन सक्छन् र लगाउनै पर्छ । नत्र भने दिनभरी कताकता बरालिन सक्छन् । बरालिने मात्र होइन कि काम नगरी बस्दा उनीहरूलाई डिप्रेसन पनि हुन सक्छ ।
नेपालको हकमा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा असर परिसकेको छ । साथै, घरेलु बाहेक कलकारखाना पनि धेरैजसो बन्द भईसकेका छन् । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गत पुसमा सार्वजनिक गरेको रिर्पोटअनुसार नेपालबाट रोजगारीको सिलसिलामा खाडी मुलुकमा गएकाले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रको ५० दशमलव ३ प्रतिशत हिस्सा ओगटेको सार्वजनिक गरेको थियो ।
हाम्रो भान्छामा दैनिक उपयोग गरिने वस्तुहरुको हिस्सा बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता छ, हामी आत्मनिर्भर छैनौं । साथै, दुर्भाग्यवश, महामारीका कारण संसार नै आर्थिक संकटमा परेको र देश बन्दाबन्दीमा परेको मौका छोपी कतिपय जनप्रतिनिधीले यस्तो विपत्मा समेत आर्थिक अपचलन गर्न घिन नमानेको देखिन्छ । कतिपयले त अझ यसबीचमा वितरण गरिएको राहत प्याकेजलाई आफ्ना आसेपासे पोस्ने जस्तो निर्लज्ज ब्यवहार गरेको समाचार आईरहेको छ ।
दैनिक ज्यालादारीमा कार्य गर्ने मानिसले राहतको प्राथमिकतामा पर्नुपर्ने हो किनभने काम नहुँदा सबैभन्दा समस्यामा उनीहरु नै पर्छन् । यो समयमा गरीव झन्झन् असजिलोमा पर्न जान्छन् । राज्यले उनीहरुको भोजन र आवासको ब्यवस्था गर्न सकेन भने लकडाउनले कोरोनाबाट त जोगाउला तर भोकमरीले बिकराल समस्या ल्याउन सक्छ ।
शहरका तुलनामा ग्रामीण क्षेत्र त्यति त्रास पनि छैन बरु खेत बारीमा ब्यस्त छन् मानिस । शहरी क्षेत्रमा अध्ययन गर्ने तथा जागिरको सिलसिलामा जिल्ला बाहिर गएकाहरु समेत आजभोली परिवारसहित खेतबारीमा भेटिन्छन् । पाकी सकेका बाली भित्र्याउन ब्यस्त छन् भने कोही बाली लगाउने ब्यस्त रहेका छन् । कतिपय मौसमी–बेमौसमी तरकारी फलाउन ब्यस्त रहेका छन् । ग्रामीण भेगमा बस्नेलाई कोरोनाले खासै असर गरेको छैन । कारण, उनीहरु कृषिकर्ममा नै ब्यस्त रहेका छन् । यसले गर्दा समय ब्यतित गर्न पनि खासै समस्या देखिंदैन ।
के पाठ सिक्ने त अब ? कोरोनाका कारण ११ चैत ०७६ बाट लागू भएको बन्दाबन्दीले कृषि तथा खाद्यका लागि कुनै सहायताको भर नपरी आफ्नै देशमा उत्पादन बढाउनुपर्ने आवश्यकता देखिएको छ । विश्वका कतिपय देशले यसैलाई हृदयंगम गर्दै कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु ल्याएका छन् । हामीले पनि स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
कोरोनाले गर्दा कृषकले आफूले उत्पादन गरेका बस्तु तथा तरकारीले बजार नपाइरहेको अवस्थामा खेर जान नपाओस् भनेर स्थानीय सरकार तथा प्रशासनले खरिद गरेर यसैलाई राहतको रुपमा वितरण गर्न सकिन्थ्यो । त्यस्तै, राहत वितरणले सामानको माग बढ्ने र ग्राहकले पनि सकेसम्म धेरै खरिद गर्ने हुनाले सामान नपाइने हुन्छ । माग र आपूर्तिको सन्तुलन बिग्रिन्छ । यसर्थ सामानको भाउ आकासिने अवस्था आउन नदिन स्थानीय सरकारले उचित मूल्य खरिद गर्नुपर्छ । यसो गर्दा किसानलाई राहत र प्रोत्साहन दुबै हुन्छ । साथै, यसो गर्दा स्थानीय बजारमा सर्वसुलभ तरिकाले खाद्यलगायतका सामग्री उपलब्ध गराउन सघाउ पुग्छ । साथसाथै यस अवस्थामा हामीले स्थानीयस्तरमा कहलिएका रैथाने कृषिउपजहरुलाई संरक्षण गरी चिनाउने र ब्यापक प्रचार–प्रसार गर्न मौकाको रूपमा लिनुपर्छ ।
बन्दाबन्दीका कारण अरु सामग्री जस्तै अहिले तरकारी बजार पनि बिथोलिएको छ । कतिपय बिचौलियाहरुले सस्तोमा खरिद गरेर धेरै महंगोमा बेच्ने गरेका छन् । बिचौलियाबाट जोगाउदै सरकारले कृषकलाई यस्तै समयमा हो साथ दिने । यस्तै समयमा कृषकसँग सहकार्य गर्न सके र उनीहरु आर्थिक उपार्जनबाट माथि उठ्न सक्छन् । साथै के पनि मननीय छ भने लकडाउन खुलेपछि पनि दैनिकी सामान्य अवस्थामा आउन निकै समय लाग्ने छ । दैनिक ज्यालामा कार्य गरिरहेका मजदुरले रोकिएको आम्दानी र बचत भएको रकम पनि सकिई सक्ने अवस्था आउने हुँदा उनीहरुको जीविकोपार्जन समस्यागस््रत नै रहने छ । यसतर्फ राज्यले ध्यान दिनैपर्छ र ध्यान दिने मात्र होइन, समस्या समाधान गर्ने विशेष सक्रियता चाहिन्छ ।
साथै, किसानलाई बिउ, बिजन तथा मल उपलब्ध गराउन सहयोग गर्नुपर्नेछ । कृषि फार्मलाई आवश्यकताअनुसार सहयोग गर्नु स्थानीय सरकारको दायित्व नै हो । भनिन्छ नि संकटको अवस्थामा चुनौती त थपिन्छन् नै तर ती चुनौतीसँगै नयाँ अवसर उपस्थित भईरहेको हुन्छ । अवसरको पहिचान गर्दै त्यसलाई सर्वोपरी हितमा प्रयोग गर्न सक्नुपर्छ ।