तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ असार २०७७, बिहीबार ०९:२८
Buddha Eyes

यो हप्ता स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे जोड–घटाउले कोरोना भाइरसको महामारीको फैलिँदो रूपलाई जिल्लाका सरोकारवाला निकायले अन्दाज गर्न सकिरहेका छैनन् । कोरोना सङ्क्रमणले नुवाकोटमा महामारी फैलाउन सक्ने हुँदा पनि सजगता नअपनाएको हो कि लकडाउन खुला भएसँगै कोरोना भाइरसलाई स्वतन्त्र छाडिदिएको बुझ्न कठिन भइरहेको छ । जिल्ला सरकारले केही यातायात व्यवसायीलाई सौतेने व्यवहार गरेको भान भइरहेको छ । जिल्लाका रातो प्लेटधारी निजी अर्थात चारपाङ्ग्रे सवारीसाधनमा अटाई–नअटाई पासै बोकेर १०–१२ जनासम्म र छतभरि मालसामान लोड गराएर हिँड्नेको चुरीफुरी भाडाका काला प्लेटधारीको टुलुटुलु ! बैंकको ब्याज, सवारीकर, नवीकरण गर्नुपर्ने काला प्लेट कतिञ्जेल अन्यायमा रहनुपर्ने हो कुन्नि ? सुमो, स्कार्पियो र बोलेरो, कार, भ्यानले चाहिँ यात्रु जति पनि बोकेको देख्दा बस, माइक्रो सडकमा उत्रिए भने थाम्न सकिएला र सिडियो सा’व ? माइक्रो र बसले स्कार्पियो र कारले जति सामाजिक दूरी कायम गरेर यात्रु बोक्छु भन्यो भने दिने कि नदिने, बेलैमा चेतना भया ! नत्र कोरोना भाइरस त नियन्त्रण होला दुईतिहाइ सवारीसाधनलाई हेप्दा समस्या विकराल बन्ला ?