- सरस्वती न्यौपाने
विदुर, नुवाकोट र रसुवाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण हुने काठमाडौंको बुढानिलकण्ठदेखि नुवाकोटको शिवपुरी गाउँपालिका हुँदै रसुवाको पवित्र धार्मिक तिर्थस्थल पुग्ने पदमार्गको अध्ययन गरेर पर्यटन ब्यवसायी काठमाडौं फर्केका छन् । लकडाउनकै भईरहेको अवस्थामा गत हप्ता ट्रेकिङ ब्यवसायीको टोलीले उक्त मार्गको भौगोलिक अवस्थाको बारेमा स्थलगत अध्ययन र अवलोकन गरेको थियो ।
कोरोना कारणले थलिएका पर्यटन ब्यवसायी लकडाउन खुकुलो भएसँगै पर्यटकीय गतिविधी सञ्चालनको तयारीमा छन् । पर्यटन ब्यवसाय सुचारू गर्ने क्रममा रसुवा–नुवाकोट पर्यटन समाजले स्थलगत रूपमा पदयात्रा प्रवद्र्धन तथा अध्ययन थालेको छ । समाजका उपाध्यक्ष शिव लामीछानेको नेतृत्वको टोलीले काठमाडौंदेखि रसुवाको पवित्र धार्मिक तिर्थस्थल गोसाइँकुण्डसम्मको पदयात्रा ७ रात ८ दिनमा पूरा गरी काठमाडौं फर्किएको छ । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले दिएको जानकारीअनुसार अध्ययन टोलीले काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै नुवाकोटका विभिन्न ठाउँ भएर रसुवाको लाङटाङ राष्ट्रिय निकञ्जभित्रका हिमाल र पहाडको अवलम्वन गर्दै गोसाइँकुण्ड पुगेका थिए ।
आठ दिनको भ्रमणका लागि छ सदस्यीय टोलीले पदमार्गको अवस्था, भूगोल मानव, बसोबास र जिवनशैलीसहित विभिन्न आकर्षणको विवरणको संकलन गरेर फर्किएका छन् । काठमाडौंबाट पदयात्रामा निस्केको टोली शिवपुरी हुँदै सिक्रे, लिखु, नेपाने, मानेमन्याङ, समुन्द्रटार, भंगेरी, बाघमारा, राउजुली खुकुरीघार, घ्यार्कुुङचुली, एक्लेकुण्ड, राजारानीकुण्ड, सस्वतीकुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड, लौरीबिना, सिङगोम्पा, भार्खु, धुन्चे हुँदै पुन काठमाडौं फर्किएको ट्रेकिङ ब्यवसायी गगनराज न्यौपानेले जानकारी दिनुभयो ।
पदयात्रामा पर्ने गाउँले परिवेंश संस्कृति र जिवनशैली रहेका छन् भने शिवपुरी राष्ट्रिय निकुञ्ज लाङटाङ निकुञ्जमा रहेका विभिन्न प्राकृतिक सम्पदा, वन, जिवजन्तु, हरियाली मनमोहक वातावरण, हिमाली फुललगायत दर्जना कुण्डमा रमाउन सकिन्छ । नेपाल पर्यटन बोर्डको सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले आयोजना गरेको हो । यस पदयात्राले नेपालकै पर्यटन क्षेत्रलाई केही राहत दिने रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष एवं वरिष्ठ पर्यटन ब्यवसायी बलराम न्यौपानेले बताउनु भयो ।
‘अध्ययन टोलीले सम्पूर्ण यात्रा सफलतापूर्वक पूरा गरेको छ,’ समाजका अध्यक्ष न्यौपानेले भने, ‘टोलीले यो पदमार्गको आन्तरिक र बाह्य पर्यटकका लागि उच्च सम्भावना देखाएको छ, पछि यो मार्ग लोकप्रिय ट्रेकिङ गन्तब्य बन्न सक्ने उनीहरूको निस्कर्ष छ ।’ मार्गबारे सकरात्मक सन्देश दिन सके लकडाउन सकिएसँगै आन्तरिक पर्यटक यस क्षेत्रतर्फ यात्रा गर्न सकने सम्भावना रहने समेत न्यौपानेले बताए । यो पदमार्ग एकदम दुर्गम छ, तर प्राकृतिक र साँस्कृतिक परम्परामा अथाह धनी छ, यो मार्गको प्रचारप्रसार गर्न सके आगामी दिनमा बाह्य पर्यटकको पनि गन्तव्य बन्ने देखिन्छ, उपाध्यक्ष लामिछानेले भने, ‘यो मार्गलाई लाङटाङ, रूबी भ्याली, गणेश हिमाललगायतका पदमार्गसँग पनि जोड्न सकिन्छ ।’ देशका धेरै ठाउँको पदमार्ग सडक निर्माणसँगै मासिंदै गएको र यो मार्ग काठमाडौं हुँदै जाने भएकोले भविष्यमा थोरै समयमा धेरै अनुभव बटुल्न सक्ने भएकोले यसको भविष्य रहेको भ्रमण टोलीका सहभागी रसुवा ट्रेकिङका गगन न्यौपानेले बताउनु भयो ।
टोलीले पदमार्गको अवस्था, भूगोल, मानव बसोबास र जीवनशैलीसहित विविध आकर्षणका विवरण संकलन गरेर फर्किएको लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालले बताए ।रसुवा नेपालको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो । काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये पनि एक हो । त्यसैले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकको रोजाईमा परेको स्थानीय होटल ब्यवसायी सुप्पा लामाले बताएका छन् ।
नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य तथा वरिष्ठ पर्यटन ब्यवसायी दिपक महतले भन्नुभयो, ‘सरकारले लकडाउन खुकुलो पारेसँगै कोरोना महामारीको बिचमा गरिएको अध्ययन भ्रमण न्युनतम सामाजिक दुरी राख्दै र अध्ययन (कोभिड–१९) को निर्देशिका पालना गरेर सम्पन्न भएको हो आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र हुने रेडपाण्डाको अध्ययन र संरक्षणमा पालिकाले जोड दिएको र पर्यटन विकास तथा प्रवद्र्धनमा स्थानीय सरकारले सकेको भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय रसुवाको उत्तरी क्षेत्र पदयात्री नहुँदा सुनसान छ । विगतमा यही समयमा खचाखच भरिने होटल बन्द रहेका छन् । पर्यटकीय क्षेत्र स्याफ्रुवेंशीका होटल ब्यवसायी लाक्पा ग्याल्बो तामाङले भने, पहिला–पहिला त यो समयमा विदेशीको एकदम चाप हुन्थ्यो, तर अहिले कोरोनाले गर्दा पूरै सुनसान छ ।’ तामाङ सम्पदामार्गको पदयात्रादेखि लाङटाङ तथा गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकबाट सुन्दरीजलसम्मको एक महिनाको यात्रा गर्न वर्षेनी १५ हजार विदेशी तथा सोही हारहारीमा स्वदेशी पदयात्री आउने गरेकोमा अहिले शून्य अवस्थामा छ ।