‘त्रिशूली प्रवाह’ साप्ताहिक आजदेखि २७औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५७ वैशाख १ गते बिहीबार प्रकाशन आरम्भ गरेको यस साप्ताहिकले सो अवधिमा एक हजार तीन सयभन्दा बढी अङ्क प्रकाशन गरिसकेको छ ।
गत भदौ २३ र २४ को जेन–जी आन्दोलनका बलमा गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट पुराना दललाई विस्थापन गर्दै सुशासन दिने वाचासहित दुईतिहाइ नजिकको सरकार बनेको छ । यस सरकारबाट नागरिकसहित सञ्चार क्षेत्रले पनि आशा र भरोसा गरेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेको एक हप्तामै आमसञ्चारमाध्यममाथि गम्भीर प्रहार भएको छ । जब सूचनाको माध्यममाथि जुनसुकै प्रकारको र सर्तका, प्रत्यक्ष वा अप्रत्यक्ष किन नहून्, प्रतिबन्ध लगाइन्छ भने त्यहाँ सुशासनको कुनै गुञ्जायस रहँदैन । नवगठित सरकारले सरकारी निकायका सबै विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन/प्रसारण गर्ने निर्देशन दिएपछि चरम आर्थिक चपेटामा रहेका निजी क्षेत्रका सञ्चारमाध्यम थप प्रताडित हुनुपरेको छ । सरकारको निर्देशनले निजी क्षेत्रबाट प्रकाशित पत्रपत्रिका र स्थानीय सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट सङ्कटलाई जीवनशैलीको एउटा अङ्ग बनाउन सामथ्र्य राख्ने मिडिया अघि बढ्नेछन्, नहुने क्रमशः पेसाबाट विमुख हुनेछन् । हामीले पनि २५ भन्दा बढी वर्षका यात्रामा विविध प्रकारको सङ्कटको अनुभूति गरेका छौँ । यस्तै कठिनाइबिच हाम्रो २६ वर्षे यात्रामा साथ दिएर हामीलाई बचाइराख्ने सम्पूर्ण पाठक, सञ्चारकर्मी, विज्ञापनदाता एवम् शुभचिन्तकमा हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।
वर्षौँदेखि चलिरहेका स्थापित र लोकप्रिय प्रकाशनसमेत अहिले खुम्चिन विवश भएका छन् । आर्थिक सङ्कटको सामना गरेर चलेका कैयन् प्रकाशनगृहलाई आफ्नो प्रतिष्ठा जोगाउन अहिले धौधौ छ । यस अवस्थाको सामना गरेर आफूलाई टिकाइराख्नकै लागि विविधखाले सङ्घर्ष गर्नुपर्ने अवस्थाबाट अहिले नेपाली सञ्चारमाध्यम गुज्रिरहेका छन् । यो परिस्थिति कसरी बन्यो ? मुलुकभर समग्र मिडियाको अवस्था कस्तो छ ? यस सङ्कटको सामना गर्न सरकारले कस्तो भूमिका खेलिरहेको छ ? यो अवस्था आउनामा स्वयम् मिडियाकर्मी कति जिम्मेवार छन् ? जन्मोत्सवका अवसरमा हामीले यी विषय खोतल्ने प्रयास गरेका छौँ ।
यस्तो परिस्थितिमा सर्वसाधारण जनताको सुसूचित हुन पाउने अधिकारको सुनिश्चित गर्दै व्यावसायिक र जिम्मेवार पत्रकारिता सँगसँगै अघि बढ्न सक्छ कि सक्दैन भन्ने बहस थप टड्कारो बनेको छ । लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूका गतिविधिका कारण प्रेस स्वतन्त्रता तथा मुलुकको समग्र अवस्था सङ्कटोन्मुख छ । यो अवस्था आउनु अत्यन्त दुःखद हो । यस परिस्थितिमा पत्रकारिताका माध्यमबाट आफ्नो जिम्मेवारीलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । हाम्रो यस प्रयासमा पाठकवर्ग तथा विज्ञानपनदाताबाट प्राप्त सहयोग तथा हौसला अत्यन्त उत्साहजनक छ । त्यो नै हाम्रो शक्ति, सामथ्र्य तथा पुँजी हो । हामीले सीमित स्रोत, साधन र जनशक्तिको बाबजुद मोफसलबाट निरन्तर हरेक हप्ता पत्रिका प्रकाशन गरेर जनताको सुसूचित हुने अधिकारको पूर्ति गर्न तथा लोकतन्त्रको सम्बद्र्धन गर्न आफ्नो कर्तव्य र दायित्व निर्वाह गरिरहेका छौँ । आफ्नो कर्तव्य र दायित्वमा अझ सजग हुँदै मुलुकमा सुशासन, लोकतन्त्र र समृद्धि सम्बद्र्धन र प्राप्तिमा बल पुग्ने गरी भौगोलिक रूपमा पत्रिकाको पहुँचमाथि अझ दायरा वृद्धि गर्दै हामी आगामी दिनमा प्रस्तुत हुने प्रतिबद्धता जाहेर गर्छौँ । हाम्रो यो कठिन यात्रा सरकारी, गैरसरकारी, निजी एवम् सर्वसाधारण जनता एवम् नागरिकको माया र सहयोगका कारण सहज भएको हो र आगामी दिनमा पनि हामीप्रति यहाँहरूको साथ, सहयोग र विश्वास रहने अपेक्षा गर्दछौँ ।
अन्तमा, हाम्रा सम्पूर्ण पाठकवर्ग, सञ्चारकर्मी मित्र, विज्ञापनदाता, सहयोगी, लेखक, समाचारदाता, सहकर्मी एवम् शुभचिन्तकहरूमा नयाँ वर्ष विक्रम संवत् २०८३ सुखद् बनोस् रहोस् भन्ने शुमकामनाका साथ आगामी दिनमा पनि यस्तै शुभेच्छा र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ ।

विसं २०८३ वैशाख ३






प्रतिक्रिया