+
Search

ताजा अपडेट +

पपुलर +

सभामुख अर्यालको पुख्र्यौली गाउँ नेपालकै पहिलो नमुना, सफा तथा स्वच्छ घोषणा

सभामुख अर्यालको पुख्र्यौली गाउँ नेपालकै पहिलो नमुना, सफा तथा स्वच्छ घोषणा
त्रिशूली प्रवाह
५ दिन अगाडी

धादिङबेँसी । नेपालको चार सय ६० गाउँपालिकामध्ये धादिङको ज्वालामुखी नेपालकै पहिलो नमुना, सफा तथा स्वच्छ गाउँपालिका बनेको छ । नमुना, सफा तथा स्वच्छ हुनका लागि आवश्यक पूर्वाधार सबै पूरा ज्वालामुखीले गरेकाले नेपालकै पहिलो नमुना, सफा तथा स्वच्छ गाउँपालिका २०८२ सालको अन्तिम दिन घोषणा गरिएको छ । धादिङमा ११ गाउँपालिका रहेका छन् ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गाउँपालिका–४, ढोलामा आयोजित कार्यक्रममा ज्वालामुखीलाई देशकै पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्नुभएको हो । सभामुख अर्याल यसै पालिकाको मैदीमा विसं २०३१ भदौ ६ गते जन्मनुभएको हो । उहाँले सरसफाइ र स्वच्छताप्रति समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै अभियानलाई सफल बनाएकोमा स्थानीय तह र नागरिकको खुलेर प्रशंसा गर्नुभयो । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको मौलिक हक तथा सरसफाइसम्बन्धी रणनीतिक योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ज्वालामुखी देशकै पहिलो नमुना, सफा तथा स्वच्छ पालिका बन्न सफल भएको छ ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार प्रत्येक घरधुरीमा सरसफाइका आधारभूत सुविधा, सुरक्षित खानेपानीको पहुँच तथा व्यक्तिगत स्वच्छता अभ्यास सुनिश्चित भएपछि गाउँपालिकालाई स्वच्छ घोषणा गरिएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य तथ्याङ्कमा मात्र सीमित नभई नागरिकको दैनिकी र व्यवहारमै सरसफाइको संस्कार विकास गर्नु हो । वडास्तरबाट सूचकहरू पूरा गर्दै ‘सफा र स्वच्छ ज्वालामुखी’को लक्ष्य हासिल गरेका छौँ । यस अभियानमा सबै घरधुरीको सक्रिय सहभागिता र प्रतिबद्धता महत्त्वपूर्ण रह्यो ।’ ज्वालामुखी गाउँपालिकामा कुल ६ हजार ७९ घरधुरी रहेका छन् । जसमा पाँच हजार चार सय ३३ घरधुरी आवासका रूपमा प्रयोजनमा छन् । सबै घरधुरीमा सुरक्षित खानेपानी, शौचालय तथा स्वच्छ जीवनशैलीका आधार प्रयोगमा ल्याइएको अध्यक्ष दनैले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह