कोलोनी । विगतमा नुवाकोट, रसुवा र धादिङवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको त्रिशूली अस्पतालको सेवा अहिले चुस्त भए पनि पूर्वाधारको व्यवस्थापनमा सकस भइरहेको छ । बागमती प्रदेशमातहत रहेको अस्पतालले अघिल्लो आइतबार सामाजिक परीक्षण कार्यक्रम गरेर आर्थिक वर्ष ०८१/८२ का उपलब्धि, चुनौती र भावी सुधारका योजना सार्वजनिक गरेको छ । सामाजिक परीक्षण प्रतिवेदनले अस्पतालको समग्र स्वास्थ्य सेवा र अवस्थामा ८५ प्रतिशत सेवाग्राहीले सन्तुष्ट, आठ प्रतिशतले सामान्य र सात प्रतिशतले असन्तुष्ट व्यक्त गरेको उल्लेख छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर-९ का वडाध्यक्ष हरिराम भण्डारी, स्थानीय समाजसेवी, अस्पतालका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक परीक्षण संस्था जिएस लिगल रिसर्च कन्सल्टेन्सीका प्रतिनिधि गोकर्ण पुडासैनीले अस्पतालले सेवा विस्तारमा उल्लेख्य प्रगति गरिरहेको दाबी गर्नुभयो । उल्लेख्य प्रगति गरिरहे पनि अस्पतालको व्यवस्थापकीय र पूर्वाधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कन्सल्टेन्सीका प्रतिनिधि पुडासैनीले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सधैँ सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएको उल्लेख गर्दै यस क्षेत्रको सुधारका लागि जुनसुकै कदम चाल्न नगरपालिका तयार रहेको छ ।’
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालको उपचार प्रक्रिया र सेवा प्रवाहका विषयमा रहेका भ्रम चिर्ने प्रयास गरिरहेको बताउनुभयो । अस्पतालको आकस्मिक कक्षमा चौबिसै घण्टा एमबिबिएस डाक्टर उपलब्ध रहने र कुनै पनि गम्भीर उपचार प्रक्रिया विशेषज्ञ चिकित्सकसँगको प्रत्यक्ष समन्वय र परामर्शविना अगाडि नबढाइने गरिरहेको उहाँले बताउनुभयो । उपचार प्रक्रिया विशेषज्ञ चिकित्सकसँगको प्रत्यक्ष समन्वय र परामर्शमा गर्ने गरेकाले सेवाको गुणस्तरमा ढुक्क हुनसमेत उहाँले जिल्लावासीलाई आग्रह गर्नुभएको छ । विशेषगरी भिडियो एक्सरे सेवाका सम्बन्धमा स्पष्ट पार्दै काठमाडौँका ठुला अस्पतालमा जस्तो लामो समय कुर्नुपर्ने झन्झट यहाँ नरहेको र दैनिक ६० देखि ७० जनाले विशेषज्ञबाटै सेवा पाइरहेको जानकारी दिनुभयो । आकस्मिक अवस्थाका बिरामीका लागि रातदिन सेवा उपलब्ध गराइए पनि वार्डमा रहेका र नियमित जाँचका बिरामीले केही समय कुर्नुपरेको यथार्थलाई स्वीकार गर्दै अस्पताल त्यसको व्यवस्थापनमा निरन्तर लागिरहेको छ ।
कन्सल्टेन्सीले अस्पतालमा भएको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्तिलगायतका उपलब्धि सुधार भएको उल्लेख गरेको छ । अस्पतालले पछिल्लो समय विशिष्टीकृत सेवामा जोड दिँदै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नाक, कान, घाँटीको ओपिडी सेवा र महिलाका लागि स्तन क्यान्सर स्क्रिनिङजस्ता महत्त्वपूर्ण सेवा थप गरेको छ । यसका साथै मानसिक स्वास्थ्यका बिरामीका लागि श्रव्य-दृश्य परामर्श कक्षको स्थापना र महिनाको एकपटक मुटुरोग विशेषज्ञको सेवा उपलब्ध गराउनुलाई अस्पतालले आफ्नो प्रमुख उपलब्धिको रूपमा लिएको छ । सेवालाई प्रविधिमैत्री बनाउन अस्पतालले अनलाइन टिकटिङ प्रणाली र ल्याब रिपोर्ट सेवाग्राही आफैँले ‘अटो-प्रिन्ट’ हुने व्यवस्था मिलाएको छ । यसबाट बिरामीले रिपोर्ट लिनका लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । पछिल्लो समय डिजिटल रेकर्डिङ प्रणालीतर्फ अस्पताल उन्मुख भइरहेको छ । यद्यपि, प्रविधिको पूर्ण उपयोगमा अझै केही प्राविधिक कठिनाइ कायमै रहेको अस्पताल प्रशासनले बताएको छ ।
विपन्न र असहाय बिरामीका लागि अस्पतालले ‘औषधि बैंक’ स्थापना गरेको छ । अस्पतालमा म्यागङ गाउँपालिका र विदुर नगरपालिकासँग समन्वय गरी सामाजिक सेवा इकाइमार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गरी सिलिन्डर रिफिलमा हुने खर्च कटौती गरेको र एम्बुलेन्स सेवालाई थप व्यवस्थित बनाएको छ । अस्पतालमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा (ओपिडी) सञ्चालन हुन्छ । जसले गर्दा बिरामीलाई बिहानैदेखि सेवा लिन सहज भएको छ । तर, विशेषज्ञ चिकित्सक प्रायः १० बजेपछि मात्र उपलब्ध हुने भएकाले बिहानी ओपिडीबाट रिफर भएका बिरामीले पुनः दोस्रोपटक लाइन बस्नुपर्ने बाध्यता रहेकाले यसलाई सहज बनाउन बिरामीले सुझाव दिएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधि सिफारिस र काउन्टरको छुट्टै व्यवस्था गरिएको भए तापनि बिमामा तोकिएका औषधिको पर्याप्त अस्पतालमा मौज्दात नहुँदा बिरामीले बाहिरका निजी फार्मेसीबाट महँगोमा औषधि किन्नुपर्ने अवस्था छ । बजेटको अभाव र भुक्तानी प्रक्रियामा हुने ढिलाइले गर्दा औषधि आपूर्तिमा चुनौती थपिएको अस्पताल व्यवस्थापनले बताएको छ । जिएस लिगल रिसर्च कन्सल्टेन्सीले अस्पताल सुधारका लागि २४ वटा सुझाव दिएको छ । पूर्वाधारको क्षेत्रमा अस्पतालले एक सय शय्याको स्वीकृत दरबन्दी पाए पनि सोही अनुपातमा भौतिक संरचनाको अभाव खेपिरहेको छ । प्रसूति, एक्सरे र बालरोगजस्ता विभागमा बिरामीको अत्यधिक चाप हुने प्रतिवेदनले देखाएको छ । विशेषगरी भिडियो एक्सरे गर्ने विशेषज्ञ चिकित्सकको कमीले गर्दा दैनिक सीमित सङ्ख्यामा मात्र बिरामीले सेवा पाउने गरेका छन् । जसले गर्दा धेरै सेवाग्राही समयमै सेवा नपाएको गुनासो छ । अस्पतालले विपत् र महामारी व्यवस्थापनका लागि ‘मास क्याजुअल्टी म्यानेजमेन्ट’ समिति पुनर्गठन गरेको र कर्मचारीलाई अग्नि नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ ।
जनशक्ति व्यवस्थापनमा अस्पतालले ‘निक साइमन्स इन्स्टिच्युट’ जस्ता संस्थाबाट सहयोग पाउँदै आएको भए पनि सहयोगको समयावधि सकिन लाग्दा थप आर्थिक भार पर्ने देखिएको छ । नर्सिङ जनशक्तिको अभाव र दक्ष कर्मचारी तालिमपछि विदेश पलायन हुने प्रवृत्तिले गर्दा अस्पताललाई सेवाको गुणस्तर कायम राख्न ठुलो चुनौती देखिएको छ । अस्पतालले आगामी दिनमा भौतिक पूर्वाधारको मर्मत, अपाङ्गमैत्री संरचना निर्माण र कर्मचारीको अनुशासन तथा समयपालनमा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ । सूचना अधिकारीको व्यवस्था र गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउँदै बिरामीमैत्री वातावरण सिर्जना गर्नु नै अस्पतालको अबको मुख्य लक्ष्य हुनुपर्ने सुझाव सामाजिक परीक्षणले दिएको छ । अस्पतालको आवश्यकताभन्दा पनि विगतमा राजनीतिक आस्था र भनसुनको आधारमा राखिएका अर्धदक्ष कर्मचारी अहिले हटाउन नसक्दा सेवा प्रवाह चुस्तदुरुस्त हुन सकिरहेको छैन ।
एक लाख सेवाग्राही
बागमती प्रदेशमै स्तरमापन गरिएको सरकारी स्वास्थ्य संस्थाको रूपमा स्थापित त्रिशूली अस्पतालले चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिमा स्वास्थ्य सेवा प्रवाहमा करिब एक लाख सेवाग्राहीले स्वास्थ्य उपचार सेवा लिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको अवधिमा अस्पतालले बहिरंग (ओपिडी), आकस्मिक, शल्यक्रिया र ल्याब परीक्षणमा विगतका वर्षको तुलनामा २० प्रतिशतभन्दा बढीको वृद्धिदर कायम गरेको छ । अस्पतालका अनुसार यस अवधिमा ९९ हजार आठ सय ४३ जना सेवाग्राहीले उपचार गराएका छन् । जसमा बहिरंगमा ८८ हजार दुई सय ३९ जना, आकस्मिकमा ११ हजार ६ सय चारजना र भर्ना भएकामा दुई हजार पाँच सय ५१ जना बिरामीले सेवा लिएका छन् ।
अस्पतालले पछिल्लो आठ महिनामा आफ्नो भौतिक संरचना, प्रविधि र विशेषज्ञ जनशक्तिमा गरेको लगानीको परिणाम अहिले तथ्याङ्कमा स्पष्ट देखिएको हो । विगतमा सामान्य उपचारका लागि पनि राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यतालाई चिर्दै अस्पतालले अहिले जिल्लावासी मात्र नभई छिमेकी रसुवा र धादिङका नागरिकलाई समेत घरदैलोमै गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । अस्पतालमा दैनिक औसत तीन सयदेखि पाँच सय बिरामी उपचारका लागि आउने गरेका छन् । विशेषगरी मौसमी रोगको सङ्क्रमण र दीर्घरोगको नियमित परीक्षणका लागि आउनेको सङ्ख्या ठुलो छ । आकस्मिक कक्षमा २४सै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा रहने गरी सेवालाई चुस्त बनाइएको छ, जसका कारण ‘रेफर’ हुने दरमा १५ प्रतिशतले कमी आएको छ ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा ४७ जनाले सेवा लिएका छन् । जसमा बढी आफन्तबाट ३९ जना र बाहिरबाट आठजना पीडित भएका छन् । पीडित हुनेमा १९ वर्षदेखि ४९ वर्ष उमेर समूहका बढी महिला रहेका छन् । यस अवधिमा ४४ महिला र तीन पुरुष पीडितले सेवा लिएका छन् । अस्पतालको सबैभन्दा बलियो पक्ष मातृ स्वास्थ्य सेवा बनेको छ । यस अवधिमा मात्रै पाँच सय एकजना महिलालाई सुत्केरी सेवा प्रदान गरिएको छ । जसमा जटिल प्रकारका शल्यक्रियामार्फत हुने प्रसूतिमा दुई सय ४२ जना र सामान्यमा दुई सय ५९ जना महिला रहेका छन् । जन्मने शिशुको तौल एक किलो ५० ग्रामभन्दा कम धेरै शिशुको रहेको हुनाले उचित मातृशिशुको स्वास्थ्यमा ध्यान दिन सल्लाह दिइएको छ । अस्पतालले सामान्य र जटिल शल्यक्रियासमेत सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । हाडजोर्नी, गाइनोकोलोजी र जनरल सर्जरीमा अस्पतालले दक्ष सर्जनको टोली परिचालन गरेको छ । पछिल्लो आठ महिनामा नौ सय १५ भन्दा बढी ठुला र साना शल्यक्रिया भएका छन् । साना शल्यक्रिया तीन हजार तीन सय ४४ वटा रहेका छन् । अस्पतालको प्रयोगशालामार्फत ३९ हजार एक सय १८ जनाले विभिन्न सेवा लिएका छन् । जसमा एक्सरे १७ हजार ६ सय २०, ‘युएसजी’ १० हजार पाँच सय ३६, ‘इसिजी’ आठ हजार ६ सय ७६, एन्डोस्कोपी ८०, सिटिस्क्यान आठ सय ७८ र ‘इकोकार्डियोग्राम’ एक सय ७३ जनाले सेवा लिएका लिएका छन् । स्वास्थ्य बिमाको सहजताले मिर्गौला रोगका बिरामीमा सहजता भएको देखाएको छ । उक्त अवधिमा नियमित रूपमा ४० जना बिरामीले सेवा लिएका छन् ।






प्रतिक्रिया