धादिङका शिक्षक तलवको माग गर्दै सडकमा

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५७
Logo of trishuli prawaha

धादिङवेंशी, धादिङ जिल्लाका निजी विद्यालयका शिक्षक लकडाउनको अवधिको पनि तलव दिनुपर्ने माग गर्दै आन्दोलित भएका छन् ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा तलव सुविधा नपाएको भन्दै धादिङका निजी विद्यालयका शिक्षकले सदरमुकाम धादिङवेंशीमा सोमबार विरोध प्रर्दशन गरेका छन् । निजी विद्यालयका शिक्षक समस्यामा पर्दा पनि सरकार मौन रहेको भन्दै शिक्षकले आपत्ति जनाएका छन् । शिक्षक कर्मचारी यो शैक्षिक सत्रमा समेत प्रतिवद्ध भएर नियमित कार्य सम्पादन गरिरहँदा निजी विद्यालयका सञ्चालकले बेवास्ता गरेको, विद्यालयले नियुक्तिपत्र नदिएकोले आन्दोलित हुनुपरेको आन्दोलनमा सहभागी शिक्षक शक्तिमान लामाले बताउनु भयो ।

आन्दोलनमा सहभागी शिक्षकले कोरोनाले भन्दा भोकले मरिने भो, निजी क्षेत्रका शिक्षकको सामाजिक सुरक्षा सुनिश्चित गर, निजी क्षेत्रका शिक्षकलाई नियुक्तिपत्र जारी गर, दयाको शब्द चाहीँदैन, खाली पेट मार्न पाइँदैन, सेवा हामीले रोकेनौं, भोकले अाँखा देखेनौं, दया हामीलाई चाहीँदैन, अधिकार खोस्न पाइँदैन, विद्यालय सञ्चालक, हाम्रो तलवको ब्यवस्था गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर धादिङवेंशीमा प्रर्दशन गरेका थिए ।