– सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको धार्मिक तथा प्रकृतिबाट निर्मित पार्वतीकुण्डमा यस वर्ष लागेको जनैपूर्णिमा मेलामा दर्शन गर्ने स्थानीय मात्रै भए ।
शिव, शङ्कर र महादेवको नाममा दर्शन गर्ने गोसाइँकुण्डपछिको दोस्रो धार्मिक महत्व बोकेको पार्वतीकुण्ड हो । पार्वतीकुण्डको स्थानीय तामाङ भाषामा आमा भनेको पार्वती र छोदिङ्मो भनेको कुण्ड बुझिन्छ । राजधानी काठमाडौंबाट एकैदिनमा पुग्न सकिने प्रकृतिले भरिपूर्ण यो ठाउँ पुग्नेहरू जोकोहीले पनि स्वर्गमा पुगेको अनुभव गर्छन् । विश्वव्यापी रूपमा रहेको कोभिड–१९ का कारण गोल्जुङ, गत्लाङलगायतका माथिल्लो भेगका बासिन्दाबाहेक यस वर्ष पार्वतीकुण्डको दर्शन गर्न अन्य मानिस आएनन् । कुण्डमा स्थानीय बोम्बो, लामा झाँक्रीले विधिपूर्वक पूजाआराधना गरेका थिए ।
पार्वतीकुण्डको पनि आफ्नै महिमा रहेको छ । पौराणिक कथनअनुसार भगवान् शिवले कालकुट विष सेवन गरर पानीको खोजीमा हिँड्ने क्रममा बाटैमा पार्वती महिनावारी भएपछि महादेवलाई हेर्न र छुन नहुने भएपछि पार्वती भगवान् शिवलाई नदेख्ने ठाउँको खोजी गर्दै अहिले भइरहेको कुण्ड भित्तामा त्रिशूलले हानेर पानी निकालेपछि पानीले बिस्तारै सानो मान्छे डुब्नेखाले पोखरी बन्यो र पार्वती त्यहीँ डुबुल्की मारेर बसेको र पछि आँखाले नभ्याउने गरी पोखरी विशाल बनेको स्थानीय बुढापाकाको कथन छ । अहिले कुण्डको पानी गल्लाङलगायत आसपासका गाउँका लागि खानेपानीको मुहान बनेको छ । कुण्डको पानी कहिल्यै सुक्दैन । उक्त कुण्डको पोखरीमा सुनजस्तै देखिने पहेँलो चराले सफा गरिरहन्छ । एक अदभूत शक्ति रहेको यो कुण्ड मानिसले बनाएको होइन । कुण्डलाई बोझोले पुरिने अवस्था आएपछि गत वर्ष स्थानीयले पूजापाठ गरेर केही भागको बोझो पन्छाई सफा गरेका थिए । वरिपरि हरियाली डाँडाकाँडा रहेको कुण्डको बाटो भएर गणेश हिमालको फेदी रसुवा–धादिङको सिमाना सोमदाङसमेत जान सकिन्छ । यसपटक भने जनैपूर्णिमाको समयमा स्थानीय आफ्नो परम्परा कायम राख्न लामा, झाँक्री से–सेले बम्बो से गीत गाउँदै पूजा गर्न गएका थिए । कुण्डमा सन्तान नहुनेले भाकल गरे पुग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
विगतका वर्षहरूमा जनैपूर्णिमाको अवसरमा जिल्ला, जिल्लाबाहिरका र विदेशीसमेत प्राकृतिक छटाको रसास्वादन गर्न र धार्मिक लाभ लिन तथा स्नान गरेपछि दुःख–बिमार, ग्रहदशा टार्न सकिन्छ भनेर हजारौैँको सङ्ख्यामा आउने गरेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए । यस वर्ष कोरोनाको त्रासको कारण कुण्डमा शून्यता छाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका–२ टिमुरेमा रहेको दूधकुण्डमा पनि यस वर्ष स्थानीय मात्रै मेला भर्न गएका थिए । स्थानीय भाषामा पेदाङ छो भनिन्छ । पेदाङको अर्थ दूध र छोको अर्थ कुण्ड हो । करिब चार हजार सात सय मिटरको उचाइमा रहेको दूधकुण्डमा लामा, झाँक्रीले पूजापाठ गरेर आफ्नो परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन् । टिमुरेबाट चार दिन लगाएर गोसाइँकुण्डभन्दा अग्लो स्थानमा रहेको दूधकुण्ड १६ वर्षअघि लामा गुरुहरूले पत्ता लागएका थिए । दूधकुण्ड र पार्वतीकुण्ड दिदीबहिनी हुन् भन्ने धार्मिक किंवदन्ती रहेको छ । टिमुरेका प्रमुख लामा गुम्बोवाङा लामाका अनुसार यस कुण्डको पानी चामलको चौलानीजस्तै सेतो देखिन्छ । चौलानीलाई तामाङ भाषामा ब्रेमु भनिन्छ । धार्मिक महत्व बोकेको यस कुण्डमा पनि वर्षको एकपटक भव्य मेला लाग्ने गर्दछ । यो कुण्डमा धार्मिक हिसाबले भन्दा पनि प्राकृतिक हिमशृङ्खलाको अवलोकन र पथप्रदर्शकमा रुचि भएका आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।