एकतीस हजार फलफूलका बिरुवा वितरण

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार ०७:४१

विदुर/  जिल्ला वन कार्यालय नुवाकोटले यो वर्ष ३१ हजार दुई सय ५० फलफूलको बिरुवा वितरण गरेको छ । कार्यालयले सामुदायिक वनमा फलफूलको बिरुवा रोप्ने अभियान यस वर्षदेखि सुरु गरेको छ ।

वन कार्यालयले जङ्गली जनावर र मानिसबीचको दूरी घटाउन र जङ्गली जनावरबाट मानवबस्तीमा हुने क्षति न्यूनीकरण गर्न सामुदायिक वनमा फलफूलको बिरुवा रोप्ने अभियान सुरु गरेको छ । यस वर्ष कार्यालयले बागमती प्रदेश सरकारको अवधारणाअनुसार सङ्घीय सरकारको सहयोगमा आँप, लिची, सुन्तला, कटहर, एभोकाडो, अम्बा, रुद्राक्ष, ओखरलगायत जातका फलफूलको बिरुवा जिल्लाको १२ वटै पालिकामा मागअनुसार वितरण गरेको छ । कार्यालयले गत असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा भैरवी सामुदायिक वन उपभोक्ता समिति वि.न.पा.– २ मा एक सय विभिन्न जातको फलफूलको बिरुवा रोपेर सामुदायिक वनमा फलफूलको बिरुवा रोप्ने अभियानको सुरुवात गरेको थियो । जङ्गली जनावरले घर, बस्ती र खेतबारीमा लगाएको अन्नबाली तथा फलफूल क्षति गर्ने क्रम बढेको गुनासो आएपछि जङ्गली जनावरका लागि वन क्षेत्रमै फलफूलको बिरुवा रोपेर जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणको अभियान थालेको हो । यस वर्ष मात्र फलफूलको बिरुवा निःशुल्क वितरण गरिएको निमित्त डिभिजन वन अधिकृत सञ्जीव आचार्यले बताए । यो वर्ष विगत दुई वर्षको तुलनामा बोटबिरुवासमेत बढी वितरण गरेको उनले बताए । यो वर्ष लप्सी, सिसौ, चाप, सल्ला, बकाइनो, खयर मसला, धुपीलगायत ९३ हजार बिरुवा निःशुल्क वितरण गरेको कार्यालयका सूचना अधिकारी रेन्जर सुजन अधिकारीले बताए । १० हजार अम्रिसो ककनी गाउँपालिका–४ को छापगौरी सामुदायिक वन उपभोक्ता समितिमा रोपेको र ओखरको बिरुवा म्यागङ, किम्ताङ र पञ्चकन्या गाउँपालिकामा वितरण गरेको उनको भनाइ छ ।