प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई सिधा प्रश्न !

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:१४

नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पुनर्बहालीको विषयमा गाउँ-गाउँ, वस्ती-वस्ती शहरबजार मात्र नभई सामाजिक सञ्जालमार्फत यत्र तत्र सर्वत्र चर्चा परिचर्चा चलिरहँदा म एक राष्ट्रप्रेमी सचेत नेपाली प्रदेशी युवाको मनमा तपाईंप्रति उब्जिएको कौतुहल र गुनासो यही पत्रमार्फत अभिब्यक्त गर्ने अनुमति चाहान्छु । एक सामान्य किसान परिवारमा जन्मेर पनि देश र जनताको लागि भनेर १४ वर्षसम्म कारागार जीवन बिताउनुभएको तपाईं माथी जनताको ठुलै भरोसा रहिरहेको छ ।

     जीवनको हरेक उतार-चढावको सामना गर्दै आफ्नो राजनीतिक यात्रालाई सफलताको उचाईमा पु¥याएर पटक–पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पनि हुनुभयो । आफ्नो कार्यकालमा नाकाबन्दी हुँदा भारत विरुद्ध चालेको कदम र हालसालै विवादित भूमि कालापानी र लिपुलेकलाई नेपालको नक्सामा उतारेको कदमलाई आम जनताले खुलेरै प्रशंसा गरे । तर बिडम्वना त्यति हुँदा हुँदै पनि एनसेल काण्ड, वाइडवडी काण्ड, सुन काण्डलगायत पछिल्लो समयको कुलमान घिसिङको काण्डले त झनै आम ३ करोड जनता पूरै आक्रोसित नै देखिन्छन् । नेपाल संसारको दोस्रो ठूलो जलस्रोतको धनी देश हो । जलस्रोतबाटै देशको झन्डै आधी अर्थतन्त्रको हिस्सा ओगट्न सक्ने सम्भावना भएको मुलुकमा वर्षौदेखि जनता अन्धकारमा बस्न बाध्य भएको कुरा यहाँलाई अवगत नै थियो । प्राधिकरणको प्रमुखमा कयौं ब्यक्ति आए र गए । तर अन्धकार कहिल्यै गएन । जब तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यकालमा तात्कालिन उर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरण प्रमुखमा कुलमान घिसिङको आगमन हुनुभयो ।

     तब १८ घन्टा लोडसेडिङ गराएर अन्धकारमा राखेको नेपाल लोडसेडिङमुक्त गराएर प्राधिकरणको ११ अरबको घाटालाई पनि उल्टै नाफामा पु¥याए । फलस्वरूप तीन करोड जनताले घिसिङलाई उज्यालो नेपालको नायकको “उपमा“ पनि दिनुभयो र तपाईको सरकारले पनि वाहवाही बटुले । लोडसेडिङमुक्त गराएर तपाईले नेतृत्व गरेको सरकारको नाम नेपालकै इतिहासमा लेखिने गरी काम गर्ने एक सच्चा, ईमान्दार र कर्तब्यनिष्ठ ब्यक्ति घिसिङलाई सारा जनताले फेरी एकपटक काम गर्ने अवसर दिनुस् भन्दै गर्दा जनताको मनोभावनालाई कदर गर्दै मुक्तकण्ठले प्रशंसा गरी पुनर्बहाली गर्नुपर्ने ठाउँमा उहाँलाई बहिर्गमन गराएरै छाड्नुभयो । परिणाम स्वरूप सिङ्गो जनता अहिले घिसिङकै पुनर्बहालीको निमित्त सडक आन्दोलनबाट सरकारको ध्यानाकर्षण गराईरहँदा तपाई किन मौन ? कोरोना कहरले गरिव जनता रोगले भन्दा भोकले सडकमा मरिरहँदा तपाई किन मुकदर्शक ? तपाइँको राजनीतिक त्याग र तपस्या समृद्ध नेपाल र आम जनताको हितको लागि हो कि भ्रष्ट, दलाल र माफियाको भरण पोषणको लागि हो ? घिसिङको पुनर्बहालीको लागि सडकमा शान्तिपुर्ण आन्दोलन गर्दै गर्दा सत्ता र शक्तिको आडमा बर्बरतापुर्ण शैलीमा सर्वसाधारणमाथि प्रहरी दमन गराउनु कत्तिको न्यायोचित छ ? नेपालमा गणतन्त्र आउनु भनेको वयलगाढा चढेर अमेरीका जानू जस्तै हो ।

       अर्थात् नेपालमा कुनै हालतमा गणतन्त्र सम्भव छैन भन्ने ब्यक्ती तपाईं आज त्यही गणतन्त्रात्मक मुलुकको कार्यकारी प्रमुख भई सत्ता र शक्तिको पहुँचमा आसिन भएर जनताको मनोभावना विपररित कदम चाली सामन्तवाद शैली लादिरहँदा कतै तपाइँले इतिहासको पानामा आफ्नो नाम सुनौलो अक्षरले लेख्नुपर्ने बेलामा सत्ता र शक्तिको दुरुपयोग त गरिरहनुभएको छैन ? “काम गर्ने कालू मकै खाने भालु’’ भनेझै १० वर्ष जनयुद्ध लडी एकात्मक सामन्ती राजतन्त्र ढालेर गणतन्त्र स्थापित गर्ने प्रचण्ड त्यही गणतन्त्रमा पटक–पटक प्रधानमन्त्री बनेर जनआकंक्षा विपरित हालिमुहाली गर्ने तपाई । अह ! सुहाएन प्रधानमन्त्री पटक्कै सुहाएन । बरु साच्चिकै तपाईमा नैतिकता मरेको छैन भने गणतन्त्रको नायक प्रचण्डलाई सत्ता हस्तान्तरण गर्नुहोस् र आफ्नो स्वास्थ्यको ख्याल गर्दै सामान्य जिवनयापन जिउने तिर लाग्नुहोस् । हैन भने मैले (सारा जनताले) सोधेको यी तमाम प्रश्नको जवाफ छातीमा हात राखेर पशुपतिनाथ र बुद्ध भगवानलाई साक्षी राखी तपाईको अमुल्य समयको १० मिनेट एकान्तमा गएर घोत्लिनुस् । सायद यी प्रश्नको सम्पुर्ण सही जवाफ आफैले आफैभित्र पाउनु हुनेछ र आत्माग्लानी पनि महशुस गर्नु हुनेछ । किन कि मान्छेले अरुलाई झुट बोल्न र ढाट्न सकिन्छ तर आफैले आफैलाई कहिल्यै पनि झुट बोल्न र ढाट्न सक्दैन । यो ध्रुव सत्य हो । अन्त्यमा, कुलमान घिसिङको पुनर्बहालीको लागि आम जनताले गरेको मागलाई सम्बोधन गरिदिनुहुन विनम्र अनुरोध गर्दै यहाँको नेतृत्वबाट चलेको सरकारबाट छिट्टै समृद्ध नेपाल देख्न पाइयोस् भन्दै विदा हुने अनुमति माग्दछु । हस् त धन्यवाद !

उही परदेशी फुलबहादुर (मम्ब) तामाङ,
(र्याडिसन होटेल, दोहा कतार)
स्थायी ठेगाना : तारकेश्वर गा.पा.वडा नं.-१ नुवाकोट