रसुवामा एघार हजार घर निर्माण भूकम्पका बिस्थापित अझै अस्थायी टहरामा

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:५७
Logo of trishuli prawaha

बेत्रावती, २०७२ सालको भूकम्पबाट बिस्थापित रसुवा जिल्लाका २ सय ३१ परिवार अझै जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका छन् । उनीहरु रसुवा र नुवाकोटको विभिन्न स्थानमा अझैसम्म अस्थायी टहरामै बसिरहेका छन् । रसुवाको धेरैजसो बिस्थापित परिवार उत्तरगया गाउँपालिका वडा नं.-५ बोगटीटार र खाल्टेमा बसेका छन् ।

      राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले खाल्टेलाई जोखिमयुक्त बस्ती औंल्याएको छ । खाल्टेमा २ सय ३१ बिस्थापित परिवार बसोबास गरिरहेका छन् । बिस्थापित परिवारको सुरक्षित स्थानमा स्थानान्तरण नहुँदा पाँच वर्षदेखि अस्थायी टहरामै बसोबास गर्न बाध्य छन् । लामो समयदेखि टहरामा बस्दा बिस्थापितको दैनिकी कष्टकर बन्दै गएको खाल्टेकै बसिरहेका छेकु लामाले बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त देखाएको छ । उत्तरगया गाउँपालिकाको करुम¥याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङलगायत विभिन्न ठाउँलाई जोखिमयुक्त बस्ती भनि अध्ययनले प्रमाणित गरेको छ ।

     गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुन्डुप, सिन्धुम, गुम्चेत, लामा होटललगायत बस्ती पहिरोको जोखिममा छ । यी बस्तीमा अझै भूकम्प पीडित परिवार बसोबास गरिरहेका छन् । ७० मध्ये बसोबास रहेको ३० वटा बस्तीलाई पूर्णरूपमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिईएको थियो । अन्य २५ बस्तीलाई भने आवश्यक पूर्वाधार तारजाली, ढल निकास, पर्खाल, वृक्षारोपण गरी सुरक्षित गर्न सकिने प्राविधिकले सुझाव दिएका छन् । प्राधिकरणले जोखिमयुक्त ७० वटा बस्तीमा रहेका १ हजार १ सय २७ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । तीमध्ये अहिलेसम्म ६ सय ८७ परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् । ३ सय ४८ परिवारको स्थानान्तरण गर्ने प्रक्रिया बाँकी छ । सुरक्षित स्थानमा बसोबास गर्न जग्गा खरिद गरिसकेका परिवारले पनि अझै घर बनाउन शुरु गरेका छैनन् । ६ सय ८७ परिवार मध्ये २ सय ६८ परिवारले मात्र घर बनाउन शुरु गरेका छन् ।

     सुरक्षित स्थानमा स्थानान्तरण हुने ६ सय ८७ परिवार मध्ये धेरै जसो एकीकृत बस्तीमा जाने तयारीमा छन् । एकीकृत बस्ती निर्माणमा ढिलाई हुँदा जोखिमयुक्त बस्तीमा बसोबास गरिरेका पिडित परिवार थप जोखिममा छन् । प्राधिकरणले रसुवाको ५ स्थान लाङ्बुमा २२, तिरुमा १ सय २५, बोगटी टारमा ५५, पैरेबेसीमा १ सय २८ र पाङलिङमा ५१ परिवारलाई एकीकृत बस्ती बसाएर राखने प्रक्रिया अघि बढे पनि काम शुरु हुन सकेको छैन । चार ठाउँमा एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट एक वर्ष अगाडि नै कार्याक्रम स्वीकृत भईसकेको हो । तर, अहिलेसम्म एकीकृत बस्तीमा जाने परिवारको पनि घर निर्माण हुन सकेको छैन । डिपीआर निर्माणमा ढिलाई, लकडाउनलगायत कारणले गर्दा एकीकृत बस्ती निर्माणमा ढिलाई भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका इन्जिनियर सरोजकुमार यादवले बताए ।

      हालसम्म रसुवामा १० हजार ९ सय ९८ घर निर्माण भईसकेका छन् । जिल्लामा सबै गरेर १२ हजार ८ सय १७ जना भूकम्प पिडित लाभग्राही छन् । त्यसमध्ये १२ हजार १ सय ४९ जनाले पहिलो किस्ता बापतको ५० हजार बुझिसकेका छन् । दोस्रो किस्ता बुझ्नेको संख्या ११ हजार ५ सय ६८ रहेको छ । १० हजार ९ सय ९८ जनाले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।