विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण जनधनको क्षति भएको विदुर–७ तुप्चेका बिमितलाई शिखर इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाले जनप्रतिनिधि र कर्मचारीको रोहवरमा स्थलमै पुगी दाबी रकम भुक्तानी गरेको छ ।


गत बिहीबार (असोज २२ गते) कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रभावित बिमितलाई नुवाकोट शाखाको कर्मचारी बिमित बसेको स्थानमा पुगेर पशुपन्छी गुमाएका किसान, पशुधनी गुमेको परिवारको सदस्य, घर बिमा र सवारीसाधन बगाएको सवारीधनी गरी कुल १६ जनाले दाबी गर्नुभएको रकम नियमअनुसार वितरण गरेको शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिनुभयो । कुल ४२ वटा दाबी सङ्ख्यामध्ये पन्छीमा तीन हजार लेयर्स कुखुराको दाबी रकम रु.१२ लाख ८२ हजार आठ सय ५८, पशुधनमध्ये २४ वटा बाख्रा, आठवटा गाई, चारवटा भैंसीको कुल रकम रु.१६ लाख २४ हजार तीन सय ५०, सवारीसाधन एक स्कुटरको रु.एक लाख ८९ हजार नौ सय, घर बिमा र घरधनीको कुल रु.२७ लाख ५० हजारमा १० लाख अग्रिम भुक्तानी गरी कुल रु.४५ लाख ९७ हजार एक सय आठ वितरण गरिएको हो । दाबी रकम भुक्तानी विदुर-७ का अध्यक्ष रवीन्द्र नेपाल र विदुर नगरपालिका पशुसेवा शाखा प्रमुख डा.सुजाता अधिकारीको रोहवरमा गरिएको बताइएको छ । बाढीका कारण आर्थिक तथा भावनात्मक रूपमा ठुलो क्षति व्यहोरेका बिमितलाई बिमा दाबी रकमले केही राहत पुग्ने अपेक्षा गरिएको छ । विपत्को समयमा बिमितलाई आवश्यक सहयोग र सेवा प्रदान गर्दै शिखरले ‘दुःख पर्दाको साथी’ भन्ने मूलभूत नारालाई आफ्नो व्यवहारमा उतार्ने प्रयास गरेको शाखा प्रमुख राईले बताउनुभयो ।






प्रतिक्रिया