+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलिया डायरी : अस्ट्रेलियावासीका अनुसरणयोग्य कुरा

अस्ट्रेलिया डायरी : अस्ट्रेलियावासीका अनुसरणयोग्य कुरा
हरिप्रसाद रिमाल
१ घण्टा अगाडी

मेरा छोरीज्वाइँ डा. बाराही रिमाल र मोनास युनिभर्सिटी, मोनास इनर्जी इन्स्टिच्युटका निर्देशक श्रीजन पाण्डे अस्ट्रेलिया बस्न थालेपछि हामी दम्पती (पत्नी निर्मलासहित) पनि अस्ट्रेलियामा घुमघामका लागि हरेक वर्षजसो आउने गरेका छौँ । सन् २०२२ देखि अहिलेसम्म हामी तीन–चारपटक यहाँ आएका छौँ । सन् २०२६ मा पनि आएर अहिले यतै छौँ । मेरो लेख्ने बानी भएकाले यसपूर्व यहाँ आउँदा मैले करिब २० वटा दैनिकी शैलीका वा सानो लेख वा टिप्पणी ढाँचाका लेखरचना लेखी नुवाकोटबाट प्रकाशन हुँदै आएको ‘त्रिशूली प्रवाह’ साप्ताहिकमा प्रकाशन गराएँ । यसपालि पनि म बुबाआमाको तिथि श्राद्ध सकेर नेपालमा भोटेकोशी–त्रिशूली हिमबाढी आएकै दिन गत भदौ १० गते नेपालबाट उडी यहाँ आइपुगेको छु र यहाँका अनुभव–अनुभूति राख्ने कामलाई निरन्तरता दिन लागेको छु । अस्ट्रेलियाका जनता र सरकारका हेर्न, अनुभव गर्न र अनुसरण गर्न योग्य धेरै कुरा छन् । तिनको वर्णन गर्ने हो भने त एक ठुलै पुस्तक बन्छ । अहिले भने सर्सर्ती अवलोकनका आधारमा अनुभूत केही अनुसरणयोग्य कुरा आदरणीय पाठकसमक्ष प्रस्तुत गरेको छु ।

Satkar Machinery Center
Utsuk Books & Stationery

१. ध्वनि प्रदूषणमा सजगता अपनाइएकाले धेरैजसो सवारीसाधन विद्युतीयमा परिणत भइसकेका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनबाट पनि अलिकति पनि धुँवा फालिएको अनुभव गर्नुपर्ने अवस्था छैन । सवारी र मालवाहक सबै सवारीसाधन एकनासले मसिनो ‘साइयँ’ आवाजका साथ कुदिरहेका देखिन्छन् । तिनले चर्को ‘घ्यार्र–घुर्र’ आवाज निकालेको सुन्नुपर्दैन । सार्वजनिक बसमा वा पैदल हिँड्दा पनि चर्को स्वरले कुरा गरेको सुनिँदैन । घरमा नै पनि मानिस मन्दस्वरमा अरूलाई कत्ति पनि बाधा नपर्ने गरी बोल्छन् । टिभी, रेडियो आदिबाट समेत ‘चर्को स्वरमा बजाउँदा त्यसबाट कान कमजोर हुँदै जान्छ’ भन्ने सन्देश प्रवाहित भइरहेको हुन्छ । केटा–केटी भएको घरमा त अझ चर्को आवाज प्रतिबन्धितजस्तै हुन्छ । चर्को ध्वनि–प्रदूषणको असर भरसक तिनमा नपरोस् भनेर त्यसो गरिएको हो । केटा–केटी भने मनमौजी तरिकाले बोल्छन्, हाँस–खेल गर्छन् । तैपनि घरका अरू मानिसले बिस्तारै बोलेको सुनेर तिनीहरू पनि त्यो सिको गर्ने प्रयास गर्छन् । मेरो साढे तीन वर्षको नाति मेरो स्वर चर्को भयो भने मुखमा चोरी औँलो लगेर ‘चुप चुप बुवा’ भनी मलाई सचेत गराउँछ । सवारीसाधन मर्मत गर्ने कारखाना बस्तीबाट टाढा सञ्चालित छन् ।

Suzuki New Bike & Scooter

२. आपूmहरूका आवाज वा काम–कारबाहीबाट छिमेकीलाई बाधा नपरोस् भन्नेतर्फ उनीहरू निकै सजग हुन्छन् । एकले गरेको कामले अर्को छिमेकीलाई कुनै पनि बाधा नपरोस् भन्नेतर्फ विशेष ध्यान दिइन्छ । अचम्मको कुरा त के छ भने नयाँ घर निर्माण भइरहेको स्थानमा समेत चर्को आवाज निकालिएको वा मालसामान फुटपाथमा थुपारिएको कतै पनि देखिँदैन ।
३. घर बनाउँदा भवन–निर्माण संहिताको पूरै पालना गरिएको हुन्छ । एकले अर्काको सीमा मिच्ने साहस यहाँ कसैले पनि गर्दैन । कसैले गर्न खोजे कडा दण्ड–सजायको ऊ भागीदार बन्छ । घरको आकार र स्वरूप आ–आफ्नो आवश्यकता र रुचिअनुसार हुन्छ । घर विभिन्न स्वरूप र आकारका भए पनि ती एकैनासे छन् जस्ता देखिन्छन् । प्रत्येक घरका अगाडि सुन्दर उद्यान त अनिवार्यजस्तै दृष्टिगोचर हुन्छ । ढकमक्क फूल नफुलेको त कुनै पनि घर हुँदैन । ती उद्यानमा फुलिरहेका नानाथरी सुगन्धित फूलले भने सबैको ध्यान आकर्षित नगरी छोड्दैनन् । यस्तो लाग्छ– घरको सुन्दरता–शोभा देख्ता कि यी भवन आपसमा ‘तँ राम्रो कि म ? तँ सफा कि म ?’ भन्ने कुरामा प्रतिस्पर्धा नै गरिरहेका छन् ।

४. समय पालनमा अस्ट्रेलियाली जापानीलाई समेत उछिन्छन् जस्तो लाग्छ । एक दृष्टान्त– बिहान झोला बोकेकी एक केटी हस्याङ–फस्याङ गर्दै कुदिरहेकी थिइन् । यस्तो लाग्थ्यो कतै कुनै बित्यास नै परिरहेको छ । पछि बुझियो– उनी ठिक समयमा कार्यालय पुग्न ढिलो भएकाले दगुरेकी रहिछिन् । बिहान सडक सफा गर्नेदेखि लिएर सबै काम नियमित तवरले र ठिक समयमा भइरहेका हुन्छन् । यस्तो लाग्छ– समय पालनमा कडाइले नै अस्ट्रेलियालीलाई उन्नतिको शिखरतिर पु¥याएको हो ।

५. सुघ्घर सफाइको भरपर्दो व्यवस्था रहेकाले प्रत्येक घरअगाडि तीनवटा ठुला बिन उभिइरहेका हुन्छन् । तिनमा तीन प्रकारका फोहोर राखिन्छन् । बिन सबै काला नै भए पनि ढक्कन फरक–फरक हुन्छन् । पहेँलोमा रिसाइकल गर्न मिल्ने, धातु, सिसा, प्लास्टिकका सामान, कागज आदि, रातोमा रिसाइकल गर्न नमिल्ने शिशुको दिसा आदि भएको प्लास्टिक, डाइपर आदि र हरियोमा झारपात, रुखका हाँगा–बिँगा आदि उद्यानबाट निस्कने फोहोर राखिन्छन् । म अहिले भिक्टोरिया राज्यको मेलबर्नको त्यसरी राखिएका बिन भरिएपछि निश्चित समयमा ठुला फोहोरमैला बोक्ने गाडी आउँछ र त्यसमा जडान गरिएको यन्त्रले ती बिनका फोहोर जुरुक्क उचालेर कन्टेनरमा खन्याउँछ । एकमा राख्नुपर्ने कुरा अर्कोमा राखे दण्डभागी हुनुपर्ने कुरामा जनता सचेत छन् ।

६. शान्ति–सुरक्षाको कडा व्यवस्था रहेकाले यस्तो लाग्छ– यस देशमा चोर र लुटेरा कतै छैनन् । घरमा पर्खाल नहुनु, सिसाका झ्याल–ढोका हुनु, तर कतै पनि, कसैको घरमा पनि केही सामान हराएको वा कुनै नोक्सान भएका समाचार सुन्न नपर्नु, घरमा जनता आरामसाथ बस्न सक्नु–पाउनु निर्भयताको पराकाष्ठाबाट त सम्भव भएको होला ।

७. सडक पार गर्न पैदलयात्रीलाई प्राथमिकता दिएकाले पैदलयात्री ज्यादै कम र अधिकांश सवारीसाधनमा यात्रा गर्ने नै छन् । तैपनि यहाँ पैदलयात्रीलाई बढी नै महत्त्व दिइन्छ । सडक पार गर्न कुनै असजिलो पर्दैन । ठुला राजमार्ग र शाखा मार्गमा समेत विद्युतीय सवारी नियन्त्रक यन्त्र जडान गरिएकाले कुनै समस्या छैन । अन्य कम चल्तीका साना–साना मार्गमा पैदलयात्री सडक पार गर्न लागेका देखे भने तिनलाई प्राथमिकता दिएर र अझ कोही बाटो काट्दै छ कि भनी सतर्कतापूर्वक हेरेर मात्र सवारीचालक सवारी लिएर अघि बढ्छन् । हामीकहाँ सवारीसाधनमा यात्रा गर्ने अधिकांश छन् तैपनि पैदलयात्रीलाई सडक पार गर्न लागेको देख्दादेख्दै पेलेर अघि बढ्ने चालकको ज्यादै घटिया बानी छ ।

८. बस्तीबाट बजार, कलकारखाना, टाढा राखिएकाले जनताका दैनिक आवश्यकताका सामान खरिद गर्ने बजार बस्तीबाट केही टाढै हुन्छन् । जसलाई जे चिजको खाँचो पर्छ त्यहीँ गएर खरिद गर्ने हो । हामीकहाँजस्तो घरैपिच्छे पसल वा बस्तीभरि पसलै–पसलको अवस्था यहाँ छैन । बस्तीभित्रै अन्धाधुन्द भट्टीपसल र त्यहाँभित्र बसेर हल्ला गर्नेले निद्रा र सबैथोक हराम गरिदिने अवस्था यहाँ देख्नुपर्दैन । कलकारखाना, उद्योगधन्दा र ठुला मल वा व्यापारिक केन्द्र पनि मानव बस्तीभन्दा परै हुन्छन् । त्यसैले त्यहाँको कोलाहल वा हल्लाखल्लाको असर आवासीय क्षेत्रमा पर्ने स्थिति नै हुँदैन ।

९. कृषि एवम् फलपूmल खेती र पशुपालनमा आत्मनिर्भर रहेकाले विश्वका सात महाद्वीपमध्ये सिङ्गै एक महाद्वीप अस्ट्रेलियामा खेतीपाती, फलफूल र पशुपालनका लागि पनि सातै प्रान्तीय राज्यमा स्थान निश्चित गरिएका छन् । ती स्थानबाहेक अन्यत्र ती व्यवसाय गर्न पूर्ण रूपमा निषेध गरिएको हुन्छ । आफ्ना अधिकांश उत्पादनले राष्ट्रभरि बसोबास गर्ने जनतालाई उपभोग गर्न पुग्ने सामग्री उत्पादन गर्ने यस देशले धेरै उपभोगका सामग्री निर्यात गर्छ भने कमी देखिएका कतिपय सामग्री बाहिरबाट पनि आयात गर्छ । चीन, अमेरिका, थाइल्यान्ड, भियतनाम आदि देशबाट होसियारीकासाथ यहाँ दैनिक उपभोगका सामग्री आयात गरिन्छन् । (सन् २०२६ सेप्टेम्बर २०/विसं २०८३ असोज २४, कामपा–५ हाँडीगाउँ, काठमाडौँ हाल : मेलबर्न, भिक्टोरिया, अस्ट्रेलिया)

 

प्रतिक्रिया

लेखकको बारेमा

हरिप्रसाद रिमाल