विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीको विध्वंसकारी हिमबाढीबाट पूर्ण क्षति भएका नुवाकोटका अधिकांश सहकारीले सुरक्षित स्थानमा सम्पर्क कार्यालय खोलेर कारोबार सुरु गरेका छन् । जिल्ला सहकारी सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीले दिएको जानकारीअनुसार बाढीले १५ सहकारीमा पूर्ण क्षति पुगेको छ । क्षति पुगेका सबै सहकारीले सम्पर्क कार्यालय खोलेर कारोबार नियमित गरिसकेका छन् ।


विदुर–१, त्रिशूलीबजारमा रहेको त्रिशूली बचत तथा ऋण सहकारीले विदुर–९ कोलनीको प्रहरी चौकीसँगै सम्पर्क कार्यालय खोलेर सेवा दिइरहेको अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिनुभयो । विदुर–७, तुप्चे, सोलेको हाम्रो सहकारी संस्था लि.ले सम्पर्क कार्यालय सञ्चालन गरिसकेको व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभयो । बाढीबाट विदुर– १, त्रिशूलीमा सञ्चालनमा रहेका साँघुु बहुउद्देश्यीय सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि., दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था लि., कुलभक्तेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले पनि सुरक्षित स्थानमा कार्यालय खोलेर कारोबार सुरु गरेका छन् । त्यसैगरी, विदुर–१, धोबीखोलामा रहेको मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लि., विदुुर–१, ढुङ्गेको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि., विदुर–१०, वेत्रावतीमा रहेको शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि., उत्तरगया बचत तथा ऋण सहकारी संस्था लि., शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि., विकासशील कृषि सहकारी संस्था लि., नवदीप कृषि सहकारी संस्था लि., लाङ्टाङ बहुउद्देश्यीय सहकारी संस्था लि. र विदुर–५, देवीघाटमा रहेको जालपादेवी बहुउद्देश्यीय सहकारी संस्था लि.ले समेत कार्यालय सञ्चालनमा ल्याइसकेको सङ्घका अध्यक्ष अधिकारीले बताउनुभयो । संस्थाको क्षति केवल भौतिक संरचना र सम्पत्तिको क्षति मात्र नभई वर्षौँदेखि सङ्कलित संस्थागत अभिलेख, कागजात, सदस्यको विवरण तथा सहकारी अभियानको महत्त्वपूर्ण सम्पत्तिको क्षति भएकाले अभिलेख तयारीमा क्षति पुगेका सहकारीले काम गरिरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।






प्रतिक्रिया