विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी लेदोसहितको हिमबाढीले बगाएको त्रिशूलीबजारको स्थायी पुनरूत्थान, क्षतिपूर्ति तथा पुनस्र्थापनाका लागि स्थानीय बाढीपीडितले विदुर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।


विदुर–१, त्रिशूलीबजार बाढीपीडित संवाद समितिका संयोजक नवीन्द्रमान प्रधानको नेतृत्वमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई विदुर-१ का अध्यक्ष लेनिन रञ्जितको रोहवरमा मंगलबार विभिन्न माग राखी बजार पुनस्र्थापनाका लागि पत्र बुझाएको छ । ऐतिहासिक महत्त्व बोकेको त्रिशूली बजारका बासिन्दा तथा व्यवसायीले बाढीका कारण विस्थापित हुनुका साथै सर्वस्व गुमाएका छन् । पीडितले आफूहरूले गुमाएको घर, जग्गा र व्यवसाय नै गाँस, वास तथा कपाससँग प्रत्यक्ष जोडिएकाले त्यसैलाई आधार मानी आधारभूत पुनरुत्थानका लागि माग राखेको संयोजक प्रधानले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । प्राविधिक रूपमा जोखिमयुक्त ठानिएका घरजग्गाको अधिग्रहण गरी सरकारका तर्फबाट न्यायोचित मुआब्जा दिनुपर्ने वा मुआब्जा लिन नचाहने पीडितका लागि त्रिशूलीबजारनजिकै रहेको कोलोनोस्थित नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा ‘स्मार्ट सिटी’ विकास गरी आधुनिक घर र व्यवसाय पुनस्र्थापित गराउनुपर्ने माग गरिएको छ ।

प्राविधिक रूपमा सुरक्षित रहेका वा आंशिक क्षति भएका स्थानका लागि सुरक्षित मोटरेबल पुल निर्माण गरी व्यवसायलाई पुरानै गतिमा फर्काउने सुनिश्चितता गर्न समितिले माग गरेको छ । व्यावसायिक पुनरूत्थानका लागि ध्यानाकर्षण गराउँदै समितिले शतप्रतिशत पीडित व्यवसायी रहेको र जीविकोपार्जनको एक मात्र माध्यम गुमेकाले सरकारले तत्काल अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ । नुवाकोट, रसुवा र धादिङ गरी तीन जिल्लाकै पहिलो शैक्षिक धरोहरका रूपमा विसं २००७ मा स्थापित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तथा विसं २०६० मा स्थापित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनरूत्थान र व्यवस्थापन त्रिशूलीबजारका बासिन्दा बस्ने ठाउँनजिकै हुनुपर्ने अनिवार्य सर्त पनि ज्ञापनपत्रमा उल्लेख छ ।





प्रतिक्रिया