रसुवागढी नाका आंशिक सञ्चालन

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:५९
Logo of trishuli prawaha

धुन्चे, कोभिड–१९ लाई कारण देखाउँदै चीनले झण्डै १० महिनादेखि रोकेको केरूङ नाका अहिले पूर्णरूपमा आंशिक रूपमा सञ्चालन भएको छ ।

      एक वर्षदेखि केरूङमा अड्किएका नेपाली ब्यवसायीको सामान ल्याउन पटक–पटक नेपाल सरकारले वार्ता र पहल गरेपछि आईतबारदेखि एकतर्फ नाका खुलेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले दिएको जानकारीअनुसार आईतबार १० कन्टेनर सामाग्री नेपाल भित्र्एिको छ । केरूङमा अड्किएका सामाग्री क्रमशः नेपाल आउने जानकारी पाएको उहाँले बताउनु भयो । लकडाउन शुरू हुनु अघिदेखि नै नेपाल चीनबीचको ब्यापार सुस्त भएको थियो । लकडाउनपछि आयात केही भएपनि निर्यात ठप्प नै भएको उक्त नाका अहिले चिनियाँ पक्षले एकतर्फी मात्र खुल्ला गरेको छ । नाका दुईतर्फी सञ्चालनको लागि नेपालले बारम्बार आग्रह गरेपनि कोरोना संक्रमणको जोखिम देखाउँदै चिनियाँ पक्ष पन्छिरहेको छ । आंशिक रूपमा आयात खुलेपनि रसुवागढी नाकाबाट निर्यात अहिले बन्द रहेको हिमालय सिमा ब्यापार संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिनुभयो । गत आ.व.मा रसुवागढी नाकाबाट २६ अर्ब ६४ करोड ८१ लाख रूपैयाँ बराबरको सामाग्री आयात भएको थियो भने निर्यात ५८ करोड २३ लाख रूपैयाँ बराबर भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।