चिज उत्पादन घट्यो

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:३३
Logo of trishuli prawaha

धुन्चे, कोभिड–१९ को कारणले रसुवा जिल्लामा यो वर्ष चिज उत्पादन घटेको छ ।

     विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण चिज उत्पादन घटेको हो । जिल्लामा सञ्चालनमा रहेका चिज उत्पादन केन्द्रले चिज भण्डारण गर्ने ठाउँको अभाव र उत्पादित चिज बिक्री नहुँदा गत भदौ १६ गतेदेखि उत्पादन बन्द गरेका थियो । यसअघि बैंशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुन्थ्यो । चिज उत्पादनको सिजन चैत्रदेखि शुरू हुने भएपनि लकडाउनका कारण जेठको तेस्रो साताबाट मात्र केन्द्रले चिज उत्पादन शुरु गरेको थियो ।

     उत्पादन बढ्दै जाँदा राख्ने ठाउँको अभाव भएको र दुग्ध विकास संस्थानले पनि चिज नलगेपछि उत्पादन बन्द भएको हो । यसअघि रसुवाको क्यान्जिनमा उत्पादन भएको चिज बाहेक अन्य चारवटा केन्द्रले उत्पादन गरेका चिज संस्थानले नै लैजाने गरेको थियो । गत वर्ष दैनिक ४० किलोसम्म चिज बिक्री हुने गरेकोमा अहिले बिक्री नभएर थन्किएर बसेको लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बु लामाले बताउनुभयो । कोरोना भाईरसका कारण रसुवामा पर्यटकको संख्या शुन्य भएसँगै चिज बिक्रिमा पनि समस्या भएको हो । कोरोना महामारी शुरू हुनु भन्दा अगाडी स्वदेशी तथा विदेशी पर्यटकले केन्द्रबाट दैनिक ४० केजीसम्म चिज खरिद गर्ने गरेका थिए ।

     स्थानीय बजारमा चिज खपत नहुने र भण्डारण क्षमता पनि कम भएका कारण उत्पादन गर्न नसकिएको केन्द्रले जानकारी दिएको छ । जिल्लामा अहिले दुग्ध विकास संस्थान अन्तर्गत ६ वटा चिज उत्पादन केन्द्र सञ्चालनमा रहेका छन् । चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण चैत्र अन्तिमदेखि असोज मसान्तसम्म मात्र चिज उत्पादन हुने गरेको छ ।