
हेटौंडा, आमाबुबा नभएका बालबालिकालाई वागमती प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्ने गरी चालू आर्थिक वर्ष २०७७/७८ देखि प्रदेश सरकारले प्रक्रिया अघि सारेको हो । स्थानीय तहमार्फत आमाबुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
वागमती प्रदेशभरका १ सय १९ वटै स्थानीय तहलाई भत्ता उपलब्ध गराउन चालू आर्थिक वर्षको सुरुवातमै बजेट निकासा दिईएको मन्त्रालयका सामाजिक विकास महाशाखाले जनाएको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको मार्गदर्शनानुसार आमाबुबा बिहिन बालबालिका संरक्षण कार्यक्रममा आमाबुबा बिहिन १८ वर्ष पूरा नगरेका बालबालिकालाई लक्षित समूह मानिएको छ । लक्षित समूहका प्रति बालबालिकालाई मासिक दुई हजारका दरले भत्ता वितरण गरिने छ ।