नुवाकोटमा सङ्क्रमितको सङ्ख्या सात सय ४२

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:४१

विदुर, नुवाकोट जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ४२ पुगेको छ ।

      स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबार दुईजना कोरोना सङ्क्रमित थपिएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ४२ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले पछिल्लो २४ घन्टामा विदुर नगरपालिकाका दुईजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । सङ्क्रमित पुष्टि हुनेमा म्यागङ गाउँपालिकाका ६५ वर्षका पुरुष र ककनी गाउँपालिकाका ३६ वर्षका पुरुष रहेका छन् । नुवाकोटमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन बुधबार २९ पुरुष र सातजना महिलाको गरिएको छ । बुधबारसम्म कोरोनाको उपचारपश्चात् डिस्चार्ज हुनेको सङ्ख्या चार सय चार पुगेको छ । हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३६ पुगेको छ । सङ्क्रमितमध्ये त्रिशूली अस्पतालमा तीनजना, शिवपुरी गाउँपालिकाको आइसोलेसनमा एकजना र होम आइसोलेसनमा तीन सय ३२ जना बसेका छन् ।

       हालसम्म नुवाकोटका सात हजार दुई सय दुईको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको छ । जसमा पाँच हजार तीन सय ३५ पुरुष र एक हजार आठ सय ६७ महिला रहेका छन् । हालसम्म नुवाकोटमा एक महिलाले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।