ज्येष्ठ नागरिक संरक्षण दिग्दर्शन विमोचन

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:५८

देवीघाट, नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको ज्येष्ठ नागरिक संरक्षण दिग्दर्शन शनिबार विमोचन भएको छ ।

      ४१२ पृष्ठको दिग्दर्शनको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा संयुक्त रूपमा विमोचन गरेका थिए । पाँच लाख २१ हजारको लागतमा प्रकाशन भएको दिग्दर्शनले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा स्थापनादेखि हालसम्म प्राप्त गरेको सहयोग र हालसम्मको गतिविधिलाई समेटेर सार्वजनिक गरिएको छ । प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालको सभापतित्वमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि मन्त्री मानन्धरले ज्येष्ठ नागरिक सेवाको क्षेत्रमा प्रतिष्ठानले नमुनायोग्य काम गरेको बताए । सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर पण्डितले आगामी दिनमा योभन्दा परिष्कृत, सुसज्जित र अझ व्यवस्थित रूपमा प्रतिष्ठानले अग्रज ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणमा अनुकरणीय कार्य गर्न सफल हुने विश्वास व्यक्त गरे । नगरपालिकाले प्रतिष्ठानलाई गर्दै आएको सहयोगमा कुनै कमी नहुनेसमेत सो अवसरमा उनले प्रतिबद्धता जनाए । अग्रज तथा ज्येष्ठ नागरिकको सम्मान गर्नु पूर्वीय दर्शनको एक महत्वपूर्ण चरित्र रहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । प्रतिष्ठानले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई समाजसम्म पु¥याउन ज्येष्ठ नागरिकको आधारभूत मानव अधिकारको संरक्षण गर्न तथा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक हेर्ने दृष्टिकोण निर्माण गर्न सफल रहेको उनले सो अवसरमा बताए ।

      ज्येष्ठ नागरिक संरक्षण दिग्दर्शन प्रकाशन मण्डलका संयोजक शम्भुप्रसाद शर्माले दिग्दर्शन एक हजार पाँच सय प्रति प्रकाशित भएको र प्रकाशन गर्नुको उद्देश्यबारे सो कार्यक्रममा जानकारी गराएका थिए । पण्डित वासुदेव नेपाल र वाचस्पति नेपालको स्वास्तिवाचनबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष विन्दादेवी अर्यालले स्वागत गर्दै प्रतिष्ठानको स्थापनादेखि हालसम्मको गतिविधिको जानकारी गराएकी थिइन् । प्रतिष्ठानका कार्यसमितिका सदस्य एवं विदुर नगरपालिकाका पूर्वमेयर ठाकुरप्रसाद गजुरेल, विदुर नगरपालिकाकी उपमेयर गीतादेवी अर्याललगायतले प्रतिष्ठान उद्देश्यअनुसार सञ्चालन भइरहेको बताएका थिए । प्रतिष्ठान ०६७ कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सङ्घसंस्थाअन्तर्गत दर्ता भएको छ । विदुर नगरपालिका-५ देवीघाटमा सरकारी गैरसरकारी सङ्घसंस्था मनकारी दाताको सहयोगमा पाँच रोपनी आठआना जग्गामा ज्येष्ठ नागरिक सेवा आश्रम, दिवासेवा केन्द्र र पूर्वीय सभ्यता तथा दर्शनको सङ्ग्रहालय स्थापनाका लागि ६४ कोठाको लिफ्टसहित आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी हाल ज्येष्ठ नागरिक सेवा आश्रम, दिवासेवा केन्द्र सञ्चालन भइरहेको समितिका सदस्य मीनकुमार खतिवडाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । प्रतिष्ठानको परिसरमा सुविधासम्पन्न बुढ्यौली अस्पताल, पूर्वीय दर्शन र संस्कृति झल्कने सङ्ग्रहालय र पौराणिक तथा आधुनिक पुस्तकालय स्थापना गर्ने उद्देश्यमा अहरोत्र खटिरहेको प्रतिष्ठानका सहसचिव रामहरि गजुरेलले बताए ।