लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५६

विदुर, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर १० गतेबाट नुवाकोटसहित देशभर सुरु भएको छ ।

      १६ दिने अभियान सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम गरेर मनाउन सरकारले सबै तहका सरकारलाई आग्रह गरेको छ । विगतका वर्षमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको र यस वर्ष पनि त्यसैअनुसार मनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनवटै तहका सरकारलाई परिपत्र गर्दै दिवसको १६ दिनसम्म विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाउन आग्रह गरेको हो । सङ्घीय सरकारले गत बुधबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने भएकाले सबै निकायले त्यसैअनुसार मनाउन भनेको नुवाकोटबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद नारायणप्रसाद खतिवडाले जानकारी दिए । महिला मात्र नभई पुरुषसमेत हिंसामा पर्ने भएकाले लैङ्गिक हिंसा रोक्न तथा यसविरुद्ध लाग्न अहिलेको सरकारले आवश्यक कानुनको निर्माण गरेर अघि बढिरहेकाले त्यसलाई जिल्लादेखि स्थानीय तहसम्म पु¥याउन उनले सुझाब दिए ।

           यस वर्ष नोभेम्बर २५ देखि अर्थात् मङ्सिर १० गतेदेखि डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेसम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राखिएको छ । संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि अभियानकै रूपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।  हरेक वर्षजस्तै आजदेखि १६ दिनसम्म मनाइने दिवस मात्र नभई सधैँभरि नै हिंसाको घटनाविरुद्ध सचेत हुनुपर्ने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताएका छन् । हिंसा गराउन संलग्नलाई कारबाहीदेखि सचेत र पीडितलाई समाजमा पुनरुत्थानका लागि पहल गरेर हिंसा अन्त्य गराउन सबै पक्ष सक्रियताको साथ लाग्नुपर्ने विदुरमा आयोजित कार्यक्रममा जिसस प्रमुख तामाङले बताए ।

     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भको अवसरमा विदुर नगरपालिकाको आयोजना र शक्ति समूहलगायतका सामाजिक सङ्घ-संस्थाको सहकार्यमा गत बुधबार साँझ विदुरमा दीप प्रज्ज्वलन गरेर सुरु गर्दै यसलाई १६ दिनसम्म सबै स्थानीय तहमा पु¥याउने कार्यक्रम रहेको छ ।