+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलिया दैनिकी : स्वावलम्बी सन्तान घर छाडिहिँड्ने चलन

अस्ट्रेलिया दैनिकी : स्वावलम्बी सन्तान घर छाडिहिँड्ने चलन
हरिप्रसाद रिमाल
१ घण्टा अगाडी

मेरा छोरीज्वाइँ डा. बाराही रिमाल र मोनास युनिभर्सिटी, मोनास इनर्जी इन्स्टिच्युटका निर्देशक श्रीजन पाण्डे अस्ट्रेलिया बस्न थालेपछि हामी दम्पती (पत्नी निर्मलासहित) पनि अस्ट्रेलियामा घुमघामका लागि आउने गरेका छौँ । सन् २०२२ देखि अहिलेसम्म हामी तीन र चारपटक यहाँ आएका छौँ र यसपालि सन् २०२६ मा पनि आएका छौँ । मेरो लेख्ने बानी भएकाले यसपूर्व यहाँ आउँदा मैले करिब २० वटा दैनिकी शैलीका वा सानो लेख वा टिप्पणी ढाँचाका लेखरचना लेखी नुवाकोटबाट प्रकाशन हुँदै आएको ‘त्रिशूली प्रवाह’ साप्ताहिकमा प्रकाशन गराएँ । यसपालि पनि म बुवाआमाको तिथि श्राद्ध सकेर नेपालमा भोटेकोशी/त्रिशूली हिमबाढी आएकै दिन गत भदौ १० गते नेपालबाट उडी यहाँ आइपुगेको छु र यहाँका अनुभव/अनुभूति राख्ने कामलाई निरन्तरता दिन लागेको छु ।
+                                                                                                                   +                                                                                                 +
यहाँ चलन नै बनेको छ, अठार वर्ष पुगेकाहरू अधिकांश छुट्टै बस्न मन पराउँछन् र यो उनीहरूको अधिकारजस्तै भएको छ । त्यस उमेरमा नपुगुन्जेल भने सन्तानको हरप्रकारले हेरचाह गर्नु, उनीहरूको पालनपोषण गर्नु, राम्रो शिक्षादीक्षा दिएर उनीहरूलाई हरप्रकारले योग्य बनाउनु, परिवर्तित आधुनिक जगत्मा योग्यता र क्षमताअनुसारको कमाइ गरेर इज्जतसाथ बाँच्न सक्ने गराउनु बाबुआमाको उत्कट चाहना, सोख र कर्तव्य हुन्छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सन्तान स्वावलम्बी हुन थालेपछि बाबुआमालाई कहाँ गएर बस्ला, के खाला र कसरी निर्वाह गर्ला भन्ने पिर हुँदैन । विवाहबारे त बाबुआमा पटक्कै चिन्ता गर्दैनन् भने पनि हुन्छ । केटी वा केटा वासनामा लट्ठिएर मात्र कसैलाई प्रेम गर्दैनन् । धेरै कुरा विचार गरेर, एक–अर्कालाई राम्ररी पढेर, बुझेर र आनीबानीसँग राम्ररी परिचित भएपछि मात्र उनीहरू प्रणयसूत्रमा आबद्ध हुन्छन् । त्यति गर्दा पनि मन मिलेन र सँगै जिन्दगी बिताउन असजिलो जस्तो अनुभव हुन थाल्यो भने उनीहरू सम्बन्ध टुङ्ग्याएर सहजै अलग हुन सक्छन् र अर्को घरजमतिर मजैले लाग्न सक्छन् । त्यस कुरामा कतै पनि कसैले पनि टीका–टिप्पणी गर्दैन ।

जे भए पनि सन्तान घरबाट निस्केर हिँड्ने उमेर पुगेको रात बाबुआमाका मनमस्तिष्कमा एकप्रकारको भुइँचालो त जान्छ, पिर त लाग्छ उनीहरूलाई पनि । तर, त्यसलाई उनीहरू स्वाभाविक रूपमा अनुभव गर्छन् र सहन्छन् पनि । प्रत्येक बाबुआमाले राम्ररी बुझेका हुन्छन्, उमेर पुगेका छोराका लागि बुहारी र छोरीका लागि ज्वाइँ बढी प्रिय हुन्छन्‌ भन्ने ।

छोराछोरीहरू घरबाट निस्किएर जाने बखत बाबुआमासँग बस्दा उनीहरूले प्रयोग गर्दै आएका दैनिक उपभोगका सामग्री, लत्ताकपडा, मोटर, कम्प्युटर आदि त लिएर जान सक्छन् । तर, पैतृक वा बाबुआमाको कमाइबाट आर्जित–सिर्जित घरजग्गा आदि सम्पत्तिमा छोराछोरीको कुनै दाबी हुँदैन र लाग्दैन पनि । बुढाबुढीहरू त्यो सम्पत्ति आफूहरूको शेषपछि कुनै परोपकारी संस्था, आफूलाई सदासर्वदा साथ दिँदै आएका कुकुर, आफूहरूलाई विशेष हेरचाह गर्ने व्यक्ति वा छोराछोरीलाई नै पनि दिन सक्छन् । यस कुरामा उनीहरू पूरापूर स्वतन्त्र हुन्छन् । यो युरोप, अमेरिका, अस्ट्रेलिया आदि महादेशको चलन र परिपाटी नै बनेको छ ।

यसो परिवेश हेर्दा र अनुभव गर्दा अब हामीले पनि उनीहरूबाट सिक्नुपर्ने हो कि ? आफूहरूलाई परिवर्तित गर्दै लाने हो कि ? छोराले छुट्टिएर बस्न खोजे ‘बुहारीले घर भाँडी’ भन्ने ठान्ने तथा छोरीले कुनै केटालाई मन पराएर ऊसँग प्रेम गरी भने ‘लौ, बर्बादै भयो, इज्जतै गयो’ भनेजस्तो किन गर्ने ? किन पीडा–वेदनाको पोखरीमा डुबेर जिउलाई आधा मासुको बनाउने ? (सन् २०२६ सेप्टेम्बर २०/वि.सं. २०८३ असोज ४, कामपा–५ हाँडीगाउँ, काठमाडौँ हाल : मेलबर्न, भिक्टोरिया, अस्ट्रेलिया)

 

प्रतिक्रिया

लेखकको बारेमा

हरिप्रसाद रिमाल