+
Search

ताजा अपडेट +

पपुलर +

बाढीमा १२ स्वास्थ्यकर्मी बेपत्ता

बाढीमा १२ स्वास्थ्यकर्मी बेपत्ता
त्रिशूली प्रवाह
५० मिनेट अगाडी

धुन्चे । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको विध्वंसकारी हिमबाढीपछि १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । ती स्वास्थ्यकर्मीमध्ये रसुवाका ११ र नुवाकोटका एकजना छन् । उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हेटौँडाले जनाएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

केन्द्रका प्रमुखले बाढीपछि केन्द्रले तत्काल आपत्कालीन स्वास्थ्य प्रतिकार्य सुरु गरेको बताउँदै सम्पर्कविहीन स्वास्थ्यकर्मीको खोजी तथा उद्धारसँगै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउँदै लगिएको जानकारी दिनुभयो । सम्पर्कविहीन स्वास्थ्यकर्मीमा रसुवा, गोसाईँकुण्ड–४ स्थित स्याफ्रुबेँसी स्वास्थ्यचौकीका खम्बु बोहरा, टिमुरे स्वास्थ्यचौकीका सरिता मल्ल, सुस्मिता पाण्डे र हिस्सी घले, दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजय घले तथा रसुवागढी हेल्थ डेस्कका गोविन्द यादव र ललितादेवी कुमाईं रहनुभएको छ । यस्तै, उत्तरगया गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत बलराम न्यौपाने र प्रदीप न्यौपाने, नीलकण्ठ माध्यमिक विद्यालयकी स्कुल हेल्थ नर्स ममता श्रेष्ठ, मैलुङ सामुदायिक स्वास्थ्य एकाइकी दिनिशा शाही र त्रिशूली अस्पताल, नुवाकोटकी प्रेरणा तामाङ सम्पर्कविहीन रहनुभएको केन्द्रले जनाएको छ ।

६ स्वास्थ्य संस्था पूर्ण क्षति
केन्द्रका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ बढी प्रभावित भएका छन् । बाढीका कारण स्वास्थ्य संस्थाका भवन तथा स्वास्थ्य सामग्रीमा समेत ठुलो क्षति पुगेको छ । रसुवाको गोसाईँकुण्ड–२ मा रहेको टिमुरे स्वास्थ्यचौकी, रसुवागढी हेल्थ डेस्क, वडा नं. ५ मा रहेको स्याफ्रुबेँसी स्वास्थ्यचौकी, उत्तरगया–२ को मैलुङ सामुदायिक स्वास्थ्य एकाइ, गोसाईँकुण्ड–५ को स्वास्थ्य शाखा तथा स्टोर र उत्तरगया–५ को स्वास्थ्य शाखा तथा स्टोर पूर्ण रूपमा क्षति भएको केन्द्रले जनाएको छ । धादिङको बेनीघाटस्थित चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बेनीघाट अस्पताल भवनको तल्लो तला डुबेर आंशिक क्षति पुगेको केन्द्रका प्रमुखले बताउनुभयो । हालसम्म नुवाकोटका कुनै पनि स्वास्थ्य संस्थामा क्षति नपुगेको पाइएको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह