विदुर । खाद्यवस्तुको गुणस्तरको मापन तथा त्यसको नमुना लिएर जाँच गर्ने खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट एकजना कर्मचारीको भरमा तीन जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ । नुवाकोट, रसुवा र धादिङ जिल्लामा खाद्यवस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको कार्यालयमा एकजना कर्मचारीले काम गर्दै आएका छन् ।


कार्यालयमा चारजनाको दरबन्दी भए पनि तीन महिनादेखि कार्यालय प्रमुख गणेशदत्त जोशीले एक्लै कामकाज गर्दै आउनुभएको छ । कार्यालयका प्राविधिक सहायक दुईजना, कार्यालय प्रमुख र कार्यालय सहयोगीको दरबन्दी भए पनि तीन महिनादेखि एक्लैले कार्यालयको काम गर्दै आएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । ‘जनशक्ति अभावका कारण तीन जिल्लाको काम जेनतेन एक्लैले गर्दै आएको छु,’ उहाँले भन्नुभयो, ‘कामविशेषले कार्यालयबाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा समस्या हुने गरेको छ ।’ ‘मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन नुवाकोट, रसुवा र धादिङको भौगोलिक अवस्था, ठुलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नु परेकोले निकै गाह्रो भएको छ,’ उहाँले भन्नुभयो, ‘स्कुटर/मोटरसाइकल मात्र छ, चारपाङ्ग्रे सवारीसाधन छैन, न त अन्य कुनै सेवा सुविधा ।’ बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको सवारीसाधन लिनुपर्ने बाध्यता रहेको जोशीले बताउनुभयो । ‘स्टोर, प्रशासन, अभिलेखलगायत सबै काम आफैँले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन/उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन,’ उहाँले भन्नुभयो, ‘लेखापाल नहुँदा कोष तथा लेखा नियन्त्रण कार्यालयको सहयोग लिइरहेको छु ।’
त्यसैगरी, खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला एक सय २० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमुना लिएर जाँच गर्दै आइएको प्रमुख जोशीले बताउनुभयो । तीन जिल्ला हेर्ने कार्यालयमा खाद्य पदार्थको गुणस्तर जाँच्नका लागि कर्मचारी र ल्याबको समस्या रहेको छ । ‘यहाँ कार्यालयमा खाद्यको गुणस्तर जाँच्ने ल्याब पनि छैन,’ उहाँले भन्नुभयो, ‘खाद्यवस्तुको गुणस्तर जाँच्नका लागि काठमाडौँ लैजानुपर्ने बाध्यता छ ।’ विसं २०७५ मा कार्यालय स्थापना भएयता दरबन्दी पूर्ण हुन सकेको छैन । कार्यालय प्रमुख जोशीले भन्नुभयो, ‘गत असार मसान्तसम्म खाद्य निरीक्षक रहेकाले निरीक्षण अनुगमन गर्न सहज भएको थियो । असारमा उहाँको सरुवा भएपछि सो काम पनि आफैँले गरिरहेको छु ।’ गत आव.०८२/०८३ मा खाद्य तथा दाना बजार, खाद्य तथा दाना उद्योग, होटेल तथा रेस्टुरेन्ट, दु्रत प्रतिक्रिया अनुगमन, खाद्य निरीक्षक र संयुक्त अनुगमनले निर्देशन अनुगमन गरिएको थियो । गत वर्ष दुध तथा दुग्ध पदार्थको पाँच, तेल तथा घ्युजन्य २१, फल तथा सागपात १२, मसला पदार्थ २३, चिया, कफी, कोका ६, नुन दुई, खाद्यान्न तथा दलनजन्य २६, प्रषोधित पिउने पानी चार, गुलियो पदार्थ ६, कन्फेक्सनरी चार, मासु तथा मासुजन्य एक गरी जम्मा एक सय १० वटा नमुना सङ्कलन गरिएको थियो ।





प्रतिक्रिया