शिवपुरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार ११:४१

बुढिसेरा, विद्यमान कानूनका बारेमा अज्ञानता र प्रभावकारी कार्यान्वयनको अभावमा लैङ्गिक हिंसा बढिरहेकाले यसको समूल अन्त्यका लागि अधिकार प्राप्त सरकारी संयन्त्र र नागरिक समाजको प्रभावकारी परिचालन आवश्यक रहेको शिवपुरी गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् । महिला हिंसाको बास्तविक कारकको पहिचान गरी कारण र समाधानको मार्ग पहिल्याउन स्थानीयस्तरमा जनप्रतिनिधीको भूमिका महत्वपूर्ण हुने धारणा जनप्रतिनिधीले राखेका छन् ।

      सोमबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शिवपुरी गाउँपालिकाको आयोजना र जालपा मिडिया सर्भिसको संयोजनमा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागी गाउँपालिकाका महिला जनप्रतिनिधीले महिला हिंसा अन्त्यका लागि यस सम्बन्धी कानूनको अभावमा स्थानीयस्तरमा प्रभावकारी कदम चाल्न नसकिएको बताएका छन् । विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गरी हिंसामा संलग्न दण्डित हुन्छन् भन्ने मान्यता स्थापित गराउन सक्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीले बताउनुभएको छ । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले महिला हिंसा समाज विकास र समृद्धिको वाधक भएकाले यसको समूल अन्त्यका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयस्तरमा हुने हिंसाका घटना अन्त्यका लागि जनचेतना जागृत गर्ने र अपराधीलाई दण्डित गर्न निरन्तर खवरदारी गर्ने काममा महिला जनप्रतिनिधीको भूमिका अहम हुने उहाँले बताउनु भयो ।

     उक्त कार्यक्रममा अधिबक्ता एवं महिला अधिकारकर्मी अनिता शर्माले महिला अधिकार स्थापित गर्दे समाजबाट महिला हिंसाको अन्त्य गर्न स्थानीयतहको भूमिका महत्वपूर्ण रहेकोले न्यायमा सबैको पहुँच स्थापित गर्ने हिंसामुक्त समाजको परिकल्पनाको उपज स्वरुप संविधानले नै स्थानीयतहलाई न्यायिक अधिकार समेत प्रदान गरेको बताईन् । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सिर्जना तामाङ, गाउँपालिकाका अधिकृत विष्णु न्यौपाने र जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाले महिला हिंसाका कारण र यसको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा बोल्नुभएको थियो ।