विप्लवप्रति अप्रेसनको तयारी

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार ११:४४
Logo of trishuli prawaha

सरकारले विप्लव माओवादी विरुद्ध कडा अप्रेसन चाल्ने तयारी गरेको छ । ब्यक्ति हत्यामा उत्र्एिपछि कानुनी रुपमै कडा प्रावधान सहित कारबाहीको तयारी गरेको गृह स्रोतले जानकारी दिएको छ । विप्लव माओवादीले आफ्नो आन्दोलन ब्यक्ति हत्यातर्फ केन्द्रित नहुने बताएर ब्यक्ति हत्या गर्न थालेपछि गृहले कानुनी ब्यवस्था सहित अप्रेसनको तयारी गर्न लागेको हो ।

      फितलो कानून भएको कारण अहिले विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राउ पर्दै अदालतबाट छुट्दै आएका छन् । फितलो कानूनको कारण छुटेर हौसिंदै ब्यक्ति हत्यामा उत्र्नि थालेपछि सरकारले कडा कदम चाल्ने तयारी गरेको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जानकारी दललाई दिएका थिए । कुनै पनि दलले विप्लव माओवादीको ब्यक्ति हत्या विरुद्ध कारबाही गर्नुहुन्न भन्ने तर्क नगरी सरकारकै कारण विप्लव ब्यक्ति हत्यासम्म पुगेको भन्दै सरकारलाई कानुनी ब्यवस्था गरेर अस्थिरता चाहनेलाई ठेगान लगाउन सुझाव दिएका छन् ।   विप्लव माओवादीले सुराकी गरेको भनेर मोरङ जिल्लाको पहाडी गाउँ मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या गरेको थियो । साँझ नै सो समुहको मेची–कोशी ब्युरो इञ्चार्ज प्रस्तावको नाममा प्रकाशित गरेको विज्ञप्तीमा सुराकी गरेको कारण शिक्षकलाई कारबाही गरेको जनाएको छ । विप्लव समुहका नेता तथा कार्यकर्तालाई असहयोग गर्ने वा उनीहरुको कुरा नमान्नेलाई सुराकीको आरोप लगाउने गरेका छन् । यो घटनालाई सरकारले प्रतिवाद नगरेमा उनीहरुको ब्यक्ति हत्या बढ्ने आँकलन गर्दै सरकारले कडा कारबाहीको तयारी गरेका हो । हत्या गरिएका शिक्षक श्रेष्ठ पूर्वमाओवादी र हालको नेकपा समर्थित भएको बताईएको छ । विप्लवले चन्दा माग्ने र नदिनेलाई पनि सुराकी भनेर हत्या गर्न सक्ने भएकाले सरकारले सुरुदेखि नै उनीहरुलाई निस्तेज पार्ने योजना बनाएको हो । शिक्षक श्रेष्ठलाई विप्लव समुहले घाँटी रेटेर हत्या गरेका छन् । माओवादी कथित जनयुद्धमा लमजुङमा शिक्षक मुक्तिनाथ अधिकारीको पनि माओवादीले घाँटी रेटेर हत्या गरेका थिए । त्यसको जवाफ अहिलेसम्म पनि प्रचण्ड–बाबुरामले दिन सकेका छैनन् ।

       विप्लवको समुह अत्यन्तै कमजोर भएपनि अहिले केही ठाउँमा आतंक सिर्जना गर्न सक्ने अवस्थामा उनीहरु पुगेको सुरक्षा सम्वद्ध स्रोतले जानकारी दिएको छ । गत वर्ष ललितपुरको नख्खुमा भएको एनसेलको कार्यालयको बम प्रकरणपछि उनीहरु रक्षात्मक अवस्थामा पुगेका थिए । तर, विप्लव समुहले ब्यक्ति हत्या आफूहरुको बाटो नभएको भ्रम छर्ने विज्ञप्ती निकालेपछि सरकारले उनीहरुको हिंसात्मक गतिविधी बाहेक अन्य गतिविधीलाई नियन्त्रण गर्ने प्रयास गरेको थिएन । अब मोरङबाट यो वा त्यो नाममा ब्यक्ति हत्या शुरु भएपछि सुरक्षाकर्मी नै विप्लवप्रति थप आक्रोशित भएका छन् । विगतमा पनि विप्लव माओवादी युद्धमा रहेका बेला सुरक्षाकर्मीका धेरै परिवार बिस्थापित भएका थिए । माओवादी युद्धले धेरैलाई विचल्ली पारेपछि अब विप्लवको युद्धमा सामेल हुने युवा तथा जनताको संख्या अत्यन्त न्युन हुने चाहीँ पक्का छ । अहिलेको नयाँ पुस्ता प्रविधीमैत्री र सानो प्रयासमा दैनिक गुजारा चलाउन सक्ने अवस्थामा छन् । शिक्षा, सञ्चार, यातायातलगायतका पूर्वाधारको क्षेत्रमा माओवादी जनयुद्ध शुरु भएको बेलामा भन्दा सयौं गुणा बृद्धि भएको छ । अनकन्टार गाउँमा पनि सडक, बिजुली, सञ्चार सुविधा पुगेको कारण चन्दा उठाएर खाने भन्दा पनि ब्यवसाय गरेर खाने र छोराछोरीलाई पढाउनको संख्या अधिक बृद्धि भएको तथा सडकको कारण सुरक्षा पहुँच बढेको कारण विप्लवको ब्यक्ति हत्याले पहिलाको जस्तो तिव्रता पाउने अवस्था छैन । तर, पनि चाँडै नै सरकारले विप्लव समुहलाई सबक सिकाउने तरिकाले कारबाही गर्ने संकेत गरिसकेको छ ।

      सरकारले विप्लव समुहलाई फकाएर शान्ति प्रक्रियामा ल्याउने प्रयास गरे पनि प्रचण्डसँगको इगोको कारण नेत्रविक्रम चन्द विप्लवले राजसी ठाँट देखाएको कारण समस्या बल्झँदै गएको हो । कम्युनिष्टको नाममा राजनीति गरेपनि विप्लवले आफूहरुलाई नेपालको राजा मान्छन् । उनको कतिपय भनाई राजतन्त्रको पक्षमा जस्तो देखिन्छ । उनी प्रजातान्त्रिक विचारको भन्दा पनि उत्तर कोरियाको जस्तो निरंकुश शासन अर्थात राजतन्त्रको जस्तै पारिवारिक कम्युनिष्ट पद्धति बसाल्ने अभियानमा लागेको कारण उनको समुहमा ठूलो राजनीतिक कार्यकर्ता समावेंश हुने सम्भावना नभएको विप्लव समूह छाडेकै कतिपय नेता र कार्यकर्ता बताउँछन् । ठकुरी कमरेडको रुपमा चिनिएका विप्लवले ब्यक्ति हत्याको बाटो लिएपछि निःस्वार्थ भावका साथ सो समुहमा लागेका कार्यकर्ताको विचल्ली हुने देखिएको छ । सरकारले सकभर सम्झाउने र त्यसलाई बेवास्ता गरे कडा कारबाही चालेर लामो समयसम्म उठ्नै नसक्ने बनाउने योजना बनाएको छ । त्यसका लागि सबै सुरक्षा अंगहरु परिचालन गरेको छ ।