स्ट्रबेरीको जाम उत्पादन तालिम

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार ११:४६
Logo of trishuli prawaha

रानीपौंवा, नुवाकोटको ककनी गाँउपालिकामा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम सम्पन्न भएको छ ।

      चिसो स्थानमा फल्ने स्ट्रबेरीको बहुआयामिक उत्पादन शुरु गर्दै बजारीकरण गर्ने उद्देश्यले जाम उत्पादन तालिम सञ्चालन गरेको हो । आसा साना किसान सहकारी संस्था लिमिटेडमार्फत समुदायमा स्ट्रबेरी उत्पादन गर्दै आएकालाई जाम उत्पादन गर्ने तालिम दिईएको हो । सामाजिक कार्यमा सक्रिय रहँदै आएको सामुदायिक बिकास केन्द्र नेपालको आर्थिक सहयोगमा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । गाँउपालिकाले सहकारीको लागि संकलन केन्द्रको समेत निर्माण गरेको छ । कार्यक्रममा ककनी गाँउपालिकाका अध्यक्ष मानबहादुर तामाङले सहकारीमार्फत स्थानीयस्तरमा रोजगारीको सिर्जना गरिरहेको बताउनु भयो । गाउँपालिकाले उद्यम गर्न चाहने सबै नागरिकलाई सिप प्रदान गर्दै स्वरोजगारको लागि अवसर सिर्जना गरेको बताउनु भयो ।

      कार्यक्रममा गाँउपालिका वडा नम्बर-२ का अध्यक्ष केदार पौडेलले उत्पादन मात्रै हुँदा बिचौलिया फष्टाएको बताउनु भयो । कृषि उपजको उत्पादन मात्रै नभई बहुआयामिक उत्पादनमा जोड दिंदै स्ट्रबेरीको सामाग्री उत्पादन गरी बजारीकरण गर्नुपर्ने बताउनु भयो । सहकारीमार्फत उत्पादन भएका सामाग्रीको बजारीकरणको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा आसा साना किसान कृषि सहकारीका अध्यक्ष सरिता तामाङले ककनीमा उत्पादन भएको स्ट्रबेरीको जामको बजारीकरणमा सहयोग गरिदिन आग्रह गर्नुभयो । सहकारी मार्फत स्थानियस्तरमा रहेका महिलालाई जाम उत्पादन गर्ने र बजारीकरण गरी आयआर्जनमा बढावा दिन सहज हुने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक विकास केन्द्र (सिडिसि) नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले संस्थाको तर्फबाट हुने अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । सहकारीमार्फत उत्पादन मात्रै नभई बजारीकरणमा समेत सिडिसिले सहयोग गर्ने उहाँको भनाई रहेको थियो ।