अजिङ्गरे-रानीस्वाँरा पक्की पुलको ठेक्का : त्रिशूलीमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १४:५४

विदुर,  विदुर नगरपालिका-१२ को सामरीखोलामा अजिङ्गरे-रानीस्वाँरा जोड्ने पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

      प्रदेश सरकारको सहयोगमा विदुर नगरपालिकाले तयार गरेको डिपिआरअनुसार प्रदेश सरकार पूर्वाधार कार्यालय नुवाकोटले उक्त पुल निर्माणका लागि ठेक्का गरी सम्झौतासमेत गरिसकेको छ । गत वर्ष नै नगरपालिकाले डिपिआर तयार गरेर पुल निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गरेको थियो । पुल निर्माणका लागि प्रदेश सरकारले चार करोड ५० लाख बजेट विनियोजन गरेपछि पुल निर्माण कार्य अगाडि बढेको मेयर सञ्जु पण्डितले बताए ।
नगरपालिकाले वडा नं. १ नुवाकोटको पुरानो तथा ऐतिहासिक साँघु अर्थात् त्रिशूली बजारको मुहार फेरिदिएको छ । मेयर पण्डितले महत्वाकाङ्क्षी योजनाको रूपमा ४० लाख बजेट विनियोजन गरेर त्रिशूली बजारको सिरानदेखि पुछारसम्म ढुङ्गा बिछ्याउने र पुरानो नाली र ढल सुधार गराएर बजारको मुहार फेरिएको हो । नगरपालिकाबाट उक्त कार्यका लागि ४० लाख रकम विनियोजन गरी गत वर्षबाट काम सुरु भएको थियो ।

      नुवाकोटको सबैभन्दा पुरानो बजारको रूपमा रहेको त्रिशूली बजार व्यापारिक तथा ऐतिहासिक रूपमा प्रख्यात रहेको छ । प्राचीन समयदेखिकै रसुवा, नुवाकोट तथा धादिङलगायत गोरखा, लमजुङसम्मको व्यापारिक बाटोको रूपमा परिचित त्रिशूली बजारले राजधानी काठमाडौंसँग जोडिने पुलको कामसमेत गरेको थियो । भौगोलिक रूपमा त्रिशूली नदीको किनारमा रहेको यो बजारको आधुनिक बजार बाहिरी राजमार्गमा फैलिएको भए पनि पुरानो तथा ऐतिहासिक बजार अहिलेको पुरानो बजारलाई अझै व्यवस्थित र कलात्मक बनाउन लागिपरेको मेयर पण्डितले बताए ।

       विदुर नगरपालिकाले बजार क्षेत्रको सडकलाई स्तरोन्नति, उकालो बाटोमा ढलान तथा भित्री बजारलाई ढुङ्गा बिछ्याउनुका साथै व्यवस्थित बसपार्क र सुन्दरपार्क बनाउन नगरपालिकाले लगानी गरेको वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिए । त्यसैगरी, नगरपालिकाले त्रिशूलीबजारमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको भवन निर्माण गर्न ४० लाख गत वर्ष विनियोजन गरी गत असारमा सम्पन्न भवन आइतबार हस्तान्तरण भएको छ ।