नुवाकोट महोत्सवको हिसाब सार्वजनिक

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १५:०१

विदुर, गत वर्षको माघमा गरिएको ‘छैटौँँ नुवाकोट महोत्सव’को आय-व्यय नुवाकोट उद्योग वाणिज्य सङ्घले सार्वजनिक गरेको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा ०७६ माघ १६ गतेदेखि २६ गतेसम्म बट्टारमा भएको महोत्सवमा ६ लाख रुपैयाँ घाटा भएको छ ।

      महोत्सव सञ्चालनका लागि सहयोगको प्रतिबद्धताअनुसार स्थानीय तहबाट आर्थिक सहयोग केही नपाएको र विदुर नगरपालिकाले सहयोगको सट्टा उल्टै मनोरञ्जन कर भनेर एक लाख रुपैयाँ असुली गरेकाले पनि महोत्सव घाटामा गएको सङ्घले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । महोत्सवको खर्च विवरण कोरोनाको जोखिमको कारण ढिलाइ गरेर मंगलबार पत्रकार सम्मेलनमार्फत आय-व्यय सार्वजनिक भएको छ । महोत्सवमा ७५ लाख २५ हजार आम्दानी भएको र ८१ लाख १४ हजार खर्च भएको सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । उनको अनुसार महोत्सव सफल भएको र एक लाखभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न भए पनि आर्थिक रूपमा भने सङ्घलाई पाँच लाख ८९ हजार रुपैयाँ नोक्सान देखिएको हो ।

      महोत्सव सञ्चालन नाफा कमाउने उद्देश्यले नभई जिल्लाको बाह्रैवटा स्थानीय तहको पहिचानलाई वृद्धि गर्दै आर्थिक रूपमा समृद्ध बनाउन केन्द्रित गराइएकाले त्यसमा भने आफूहरू सफल भएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । महोत्सवमार्फत नुवाकोटमा उत्पादन भएका कृषि सामग्रीको बजारीकरण, धार्मिक एवम् सांस्कृतिक सम्पदाको प्रवद्र्धन, पर्यटकीय स्थानको प्रचार गराउन भने सफल भएको पत्रकार सम्मेलनमा सङ्घका कोषाध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘धार्मिक ऐतिहासिक कला सांस्कृतिको सम्बद्र्धन ः दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारासहित बट्टारमा गरिएको महोत्सवको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले र समापन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले गरेका थिए ।