बट्टार सहकारीको साधारणसभा जारी

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १५:२६

विदुर, नुवाकोट जिल्लाको सहकारी संस्थामध्येको अग्रणी बट्टार सहकारी संस्थाको २५औँ साधारणसभा शनिबारदेखि सुरु भएको छ ।

      नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै सहकारीले एक हप्ता लगाएर साधारणसभा गरिरहेको छ । शनिबारदेखि सुरु भएको साधारणसभा भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ । साधारणसभामा दैनिक सेयर सदस्यलाई क्रमशः बोलाएर संस्थाको वार्षिक प्रतिवेदन आय-व्यय विवरण र भावी कार्ययोजना प्रस्तुत गरिरहेको प्रमुख व्यवस्थापक हरिप्रसाद जोशीले जानकारी दिए ।

      सहकारीले गत आ.व.०७६/७७ मा पाँच करोड आठ लाख ७१ हजार पाँच सय ९५ आम्दानी गरेको थियो । सो अवधिमा पाँच लाख ७८ हजार तीन सय ३२ खर्च हुँदा सहकारीले सबै खर्च कटाएर सात लाख ९३ हजार दुई सय ६३ रुपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिए । सहकारीमा महिला ६ सय २५, पुरुष आठ सय ७५ र संस्थागत १५ गरेर १५ सय १५ सेयर सदस्य रहेका छन् । सहकारीको कुल सेयर पुँजी चार करोड ७५ लाख ४८ हजार रहेको छ । सहकारी आ.व. ०७५/७६ को तुलनामा आ.व.०७६/७७ मा ३५ प्रतिशतले निक्षेप वृद्धि गर्न सफल भएको छ । गत आ.व. मा सहकारीले ३३ करोड २४ लाख १५ हजार तीन सय ३० निक्षेप सङ्कलन गरेको थियो । आ.व. ०७५/७६ को तुलना सहकारीले ऋण लगानी आ.व. ०७६/७७ मा वृद्धि गरी २४ करोड नौ लाख ४९ हजार चार सय २३ रुपैयाँ लगानी गर्न सफल भएको लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज न्यौपानेले जानकारी दिए ।
०५३ सालमा स्थापना भएको सहकारीले २५औँ वार्षिकोत्सव गत भदौ ३० गते सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोना सङ्क्रमणको विषम परिस्थितिमा समेत ज्येष्ठ नागरिक वृद्धाश्रम देवीघाटलाई खाद्यान्न सामग्री सहयोग गरेको थियो ।