कोरोना खोप सर्वसाधारणमा सहज पुग्ला !

  • शरण उत्सुक सापकोटा

एक वर्षदेखि कोरोना महामारीबाट विश्व आक्रान्त रहिरहेको अवस्थामा कोरोना खोपको सफल परीक्षण गरेर बेलायतलगायत सम्पन्न देशले खोप लगाउन सुरु गरिसकेका छन् । यसबाट नेपाललगायत साना र अल्पविकसित राष्ट्रका जनतामा आशा जगाएको छ । कोरोना महामारी दुई सय १८ देशसम्म फैलिइसकेको अहिलेको अवस्थामा सात करोडभन्दा बढी कोरोनाका सङ्क्रमित हुँदा १६ लाखजतिले यस रोगबाट ज्यान गुमाइसकेका छन् । नेपालमा दुई लाख ५० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित र १७ सयभन्दा बढी व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

      विश्वभरि मानव सम्यतालाई नै चुनौती दिइरहेको कोरोना भाइरसको अध्ययन-अनुसन्धानमा विभिन्न देशका वैज्ञानिकले तीव्रता दिइरहेका छन् । कोरोनाविरुद्ध प्रयोग हुने भ्याक्सिन (खोप)को क्लिनिकल ट्रायल गर्ने स्वीकृत पाएर अन्तिम चरणको प्रयोग पार गरिसकेको छ । दुई सय ५० वटा भ्याक्सिनले ट्रायल गरेको भए पनि आपतकालीन प्रयोगका लागि चारवटा भ्याक्सिनले मात्र आपतकालीन प्रयोगको स्वीकृति पाएका छन् । आपतकालीन प्रयोगको स्वीकृति पाएको खोपमा अक्सफोर्ड विश्वविद्यालयको एस्ट्राजेनिका, फाइजर÷बायोएनटेक मोडर्ना र चीनद्वारा विकसित सिनोभ्याक्स रहेका छन् । खोपले शरीरभित्र प्रवेश गरेको विभिन्न ब्याक्टेरिया भाइरसलाई नष्ट गरी शरीरमा एन्टिबडीको विकास गरी प्रतिरक्षा प्रणालीलाई रोगविरुद्ध लड्न मद्दत गर्छ । खोप लगाएपछि भविष्यमा ब्याक्टेरिया भाइरसको इन्फेक्सन भएमा शरीरको प्रतिरक्षा प्रणालीलाई त्यसले चिन्छ र सजिलै नष्ट गर्न काम गर्ने माइक्रोबायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख डा. कोमलराज रिजालले बताए । यो खोप बर्सेनि लगाउनुपर्ने बताइएको छ ।

      कोरोना विरुद्धका खोप प्रायः सबै अल्ट्राकोल्ड चेन अर्थात् माइनस ७० देखि माइनस ८० डिग्री सेल्सियसमा सुरक्षित गर्नुपर्ने हुन्छ । हाम्रो देशमा यो अल्ट्राकोल्ड चेनका लागि भौतिक पूर्वाधार सरकारी अस्पताल र निजी अस्पतालमा उपलब्ध छैन । डब्ल्युएचओका प्रमुखले भनेझैँ भ्याक्सिन मात्र आफैँमा समाधान होइन । यसको समानुपातिक र समतामूलक वितरण नै अहिलेको मुख्य चुनौती हो । कुनै पनि कम्पनीले दाबी गरेको खोप पहिले उक्त देशको स्वीकृतिपश्चात् डब्ल्युएचओले उक्त भ्याक्सिन स्वीकृत गर्नुपर्छ । केही देशमा भने स्वीकृति पाएर खोप लगाउन थालिसकेका छन् । हामी कोभ्याक्सको मात्र भरमा छौँ । कोभ्याक्सले ६० लाख डोज दिने बताइएको छ । कोभ्याक्सले पनि सम्बन्धित देशमा स्वीकृत भएको भ्याक्सिन लोअर मिडिल इनकम कन्ट्री (एलएमआइसी)लाई पनि उपयुक्त छ भनेर निर्धारण/अनुमति दिनुपर्छ । हाम्रो देश नेपाल एलएमआइसी राष्ट्रमध्ये पछिल्लो क्रममा पर्नेछ र यसमा पनि सीमान्तकृत जनसङ्ख्या अझ पछिल्लो क्रममा पर्नेछ । यसमा पनि हुनेखाने र हुँदा खाने वर्गबीचको खाडल खोप सुविधामा पनि टड्कारो रूपमा देखिनेछ । त्यसैले पनि नेपालीले खोप आयो भनेर हौसिहाल्ने अवस्था छैन । खोप आर्थिक, भौतिक रूपले ग्रहण गर्ने सामाथ्र्यमा हाम्रो देश छैन ।

      स्वीकृत भ्याक्सिन थोरै समयमा उत्पादन गर्न नसकिने हुँदा माग र आपूर्तिबीचको असमानता पक्कै रहनेछ । तर, प्राथमिकता कसरी निर्धारण गरिन्छ, यो सबैको चाखलाग्दो विषय बनिरहेको छ । आर्थिक स्रोत बलियो हुने राष्ट्रले सम्बन्धित खोप कम्पनीसँग अग्रिम बुकिङ गर्नेछन् । बेलायतलगायत अन्य देशले त खोप लगाउने कार्य नै सुरु गरिसकेको अवस्थामा नेपालजस्तो आर्थिक स्थिति कमजोर भएको राष्ट्रलाई कोरोना खोप आकाशको फल हुने पक्का–पक्की नै छ । देशको भूराजनीतिक अवस्थाले हामी फेरि पनि कोरोना भ्याक्सिनका लागि भारत वा चीनसँग निर्भर रहनुपर्ने देखिन्छ । कोभ्याक्स सुविधाबाहेक बाँकी खोपका डोजहरू नेपालले आफैँ खरिद गर्नुपर्ने अवस्था छ । हाम्रो सबैभन्दा नजिकको र सहज छिमेकी मात्र नभई विश्वकै सस्तो खोप तथा औषधि निर्माणमा अग्रणी देश हो भारत । सेरम इन्स्टिच्युट अफ इन्डियाले अग्रिम करिब ४ करोड डोज (अक्सफोर्ड/एस्ट्राजेन)द्वारा निर्मित खोप उत्पादन गरिसकेको छ । यति मात्र नभई भण्डारणका दृष्टिकोणले पनि अक्सफोर्ड/एस्ट्राजेनद्वारा निर्मित खोप हाम्रा निम्ति बढी सहज र आशातीत खोप हुनेछ । चीनमा निर्मित सिनोभ्याक्स भ्याक्सिनलाई पनि उत्साहित भएर विश्वले हेरिएको छ । सिनोभ्याक्स भ्याक्सिनले गत हप्ता युएईमा आपतकालीन प्रयोग अनुमति प्राप्त गरेको छ ।

       एसियाली मुलुकमै उत्पादन हुने भ्याक्सिन हाम्रा लागि केही सहज हुनेछ । हाम्रो अनुवांशिक संरचनासँग मिल्दोजुल्दो हुने आशा गर्न सकिन्छ । नेपालले आफ्नो कूटनीतिमार्फत भारत सरकारलाई भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता गराउन सफल भएको छ । यसरी नै चीनमा निर्मित सिनोभ्याक्स नेपालमा उपलब्ध गराउन सरकारले चीनतर्फ पनि उतिकै पहलकदमी गर्न सके खोप सहज र छिटो नेपाल भित्रिन्छ । नेपालमा कोरोनाको खोप आउन निकै समय लाग्ने हुँदा हरेकले आफ्नोतर्फबाट मास्क लगाउने भौतिक दूरी कायम राख्ने, भिडभाड नगर्ने, साबुनपानीले नियमित हात धुने तथा स्यानिटाइजर प्रयोग गर्दै यसबाट बच्न पहल गर्नु नै अहिलेका लागि उपयुक्त औषधि हो ।
विज्ञहरूले सरकारले निर्धारण गरेको गाइडलाइनमा रहेर निजी क्षेत्रले गुणस्तरीय, सुरक्षित र प्रभावकारी खोप ल्याउन चाहे सक्षम कम्पनी छानेर अनुमति दिनुपर्ने सुझाब दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर आउने आकलन भइरहेका बेला उनीहरूले सरकारलाई निजी क्षेत्रलाई समावेश गर्न सुझाब दिएका हुन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोभ्याक्स सुविधाबाहेक नेपालले सरकार र निजी क्षेत्रबाट समेत खोप किन्ने दोहोरो रणनीति अँगाले खोप छिटो ल्याउन सकिने र त्यसले महामारी नियन्त्रणमा ठूलो काम गर्ने बताएका छन् ।

      सरकारले निर्माण गरेको भ्याक्सिन दु्रत कार्ययोजनाअन्तर्गतको आठवटा कार्यक्षेत्र रहेका छन् । सरकारले दुईवटा रणनीति अँगाल्नुपर्छ, एउटा कोभाक्सअनुसार अगाडि बढ्नुपर्छ, अर्को सरकारी र निजी क्षेत्र दुवैले आ–आफ्नो च्यानलबाट खोप ल्याउनु पहल गर्नुपर्छ । अझै केही महिनासम्म कोभिड-१९ विरुद्धको खोप बजारमा उपलब्ध हुन धेरै कठिन हुने उल्लेख गर्दै कार्ययोजनाअनुसार तत्काल विश्वकै सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ल्याउनु उचित हुन्छ । यो भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाउने अन्तिम चरणमा छ ।अमेरिकाको कम्पनी नोवावैक्सले समेत ग्यालको प्रोटिन न्यानो पार्टीकल खोप निर्माण गर्न करार गरेको छ । सिराम इन्स्टिच्युटसँग बर्सेनि दुई अर्ब मात्रा नोवावैक्स खोप बनाउने सम्झौता भएको हो । हाल नियमित खोप कार्यक्रमअन्तर्गत नेपालमा उपयोग भइरहेको १२ वटा खोपमध्ये करिब एकतिहाइ खोप सिरम इन्स्टिच्युटकै रहेको छ । त्यसैले पनि सिरम इन्स्टिच्युटकै खोप हाम्रो मुलुकका लागि राम्रो हुनेछ । सरकारले पहल गर्ने हो भने ३/४ करोड मात्रा (डोज) खोप नेपालले पाउन कूटनीतिक पहल गरे गाह्रो पर्ने छैन ।