विद्युतीय सवारी सञ्चालनको रुट विदुर

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १६:१२
Logo of trishuli prawaha

विदुर, बागमती प्रदेश सरकारले प्रदेशका मुख्य सहरमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि नुवाकोटको विदुरसहित एक दर्जन स्थानमा रुट तय गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्रमा निजी क्षेत्रसँगको सहकार्यमा मुख्य सहरमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तय गरेको हो ।

      मन्त्रालयका अनुसार प्रदेशको मुख्य सहर नुवाकोटको विदुरसहित धादिङबेंसी, गल्छी, भरतपुर, हेटौँडा, सिन्धुलीमाडी, धुलिखेल र काठमाडौं उपत्यकामा पहिलो चरणमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तयार गरेको छ । तयार गरेको रुटमा निजी क्षेत्रले पनि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि निजी क्षेत्रलाई समेत आह्वान गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा विद्युतीय सवारीका साधन सञ्चालन गर्न कानुन र कार्यविधिसहितको रुट अर्थात् कहाँ-कहाँ गुडाउने भन्ने तय गरिएको हो ।

        प्रदेश सरकारको मात्र लगानीमा पहिलो चरणमा धुलिखेलबाट बनेपा, काठमाडौं, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेश सरकारले ०८५ सम्ममा काठमाडौं उपत्यकासहित चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधन हटाउने लक्ष्य बनाएको छ ।