शिवपुरी जिल्लाको उत्कृष्ट पालिका

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १६:१३
Logo of trishuli prawaha

विदुर, जिल्ला समन्वय समिति नुवाकोटले कार्य मूल्याङ्कनको आधारमा जिल्लाको १२ वटै स्थानीय तहमध्ये शिवपुरी गाउँपालिका उत्कृष्ट पालिका घोषणा गरेको छ ।

      जिल्ला समन्वय समितिको वार्षिक समीक्षा तथा चौथो जिल्लासभा कार्यक्रमको अवसरमा गत बिहीबार शिवपुरी गाउँपालिकालाई कार्य मूल्याङ्कनको आधारमा उत्कृष्ट पालिका घोषणा गरिएको हो । कार्यक्रममा सङ्घीय सांसद् हितबहादुर तामाङले गाउँपालिका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मञ्जु केसीलाई संयुक्त रूपमा प्रशंसापत्र प्रदान गरेका थिए । प्रशासनिक भवन निर्माण सम्पन्न गर्न शिवपुरी गाउँपालिकाले देखाएको तत्परतालाई मध्यनजर गर्दै सम्मान गरिएको जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्ला सभामा १२ वटै स्थानीय तह र जिल्लास्थित सरकारी कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना, खर्च तथा प्रगति विवरण प्रस्तुत भएका थिए । जिल्लासभाले साझा धारण प्रस्तुत गर्दै सबै स्थानीय तहबीचको समन्वय र आपसी साझेदारीमा विकास निर्माणका आयोजना सञ्चालन गर्ने बताएका छन् ।

      स्थानीय तहबीचको सिमाना क्षेत्रमा विकास निर्माणका कार्य प्रभावित भएको बताउँदै जिल्लासभाले दुई स्थानीय तह सिमाना क्षेत्रमा एउटै विकास निर्माणको आयोजना बनाउँदै बजेट माग गर्ने र विकास निर्माणलाई तीव्रता दिने बताएका छन् ।