प्रहरी चौकी बनाउन एक रोपनी जग्गादान

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १०:४२
Logo of trishuli prawaha

दाङसिंह, नुवाकोटको तारकेश्वर गाउँपालिका-१ छापाडाँडा प्रहरी चौकी दाङसिंहको नयाँ भवन बनाउन स्थानीय मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

      राज्य पुनर्संरचनापश्चात् गाउँपालिकाको केन्द्र रहेको स्थानको सुरक्षा जिम्मेवारी बहन गर्न र धादिङसँग जोडिएको सीमाक्षेत्र हुँदै हुन सक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन स्थानीयबासी मानबहादुर तामाङले एक रोपनी जग्गा दिएका हुन् । प्रहरी चौकी दाङसिंहका लागि एक रोपनी जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटबाट उनले स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण गरेका छन् । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो शान्ति, सुरक्षा भएकाले आफूले प्रहरी चौकीको निर्माणका लागि आवश्यक एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए । नयाँ भवन बनाउन बजेट सुनिश्चित भए पनि हाल चौकी रहेको स्थानमा जग्गाको अपुग रहेको र खरिद गर्न प्रहरीसँग बजेट नहुँदा रोकिएको भवन निर्माण प्रक्रिया अघि बढाउन बाटो खुला भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएको मानबहादुर तामाङसहित उनका छोराहरू सिंहबहादुर तामाङ, फुलबहादुर तामाङ, बमबहादुर तामाङ र श्रीबहादुर तामाङलाई नुवाकोट प्रहरीले कदरपत्रले सम्मान गरेको छ ।

     जिल्ला प्रहरी कार्यालय नुवाकोटमा आयोजित कार्यक्रममा जग्गादातालाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र प्रहरी प्रमुख कार्कीले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गरेका हुन् । प्रहरी चौकी स्थापनाका लागि जग्गाको अभाव र दाताबाट प्राप्तिका लागि लामो समयदेखि कायम रहेको समस्या समाधानका लागि नेकपा तारकेश्वर गाउँ कमिटीका सचिवसमेत रहेका स्थानीय समाजसेवी सोमबहादुर तामाङले उचित स्थानमा जग्गाको पहिचान र छनोट, दाताबाट निःशुल्क प्राप्त गर्न तथा प्रहरी चौकीको नाममा लालपुर्जा उपलब्ध गराउन सहजीकरण गरेका थिए ।