ट्रेड युनियन काङ्ग्रेस र स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सुरु

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १०:५३

विदुर, नेपाल ट्रेड युनियन काङ्ग्रेस नुवाकोट र नेपाल स्वास्थ्यकर्मी सङ्घ नुवाकोटले साङ्गठनिक संरचनालाई सङ्घीय संरचनाअनुसार स्थानीयस्तरमा विस्तार गर्न सुरु गरेको छ । शनिबार तारकेश्वर गाउँपालिकामा स्थानीय अधिवेशन गरेर नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस र नेपाल ट्रेड युनियन काङ्ग्रेससँग आबद्ध संस्था नेपाल स्वास्थ्यकर्मी सङ्घले संरचना विस्तार र सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको हो ।

      तारकेश्वर गाउँपालिकाको स्थानीय अधिवेशनबाट मदन बराल मगरको अध्यक्षतामा नेपाल ट्रेड युनियन काङ्ग्रेसको स्थानीय समिति निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मोतीराम ढकाल, दुर्गा अधिकारी र गणेशप्रसाद खनाल तथा सदस्यमा भोजबहादुर भण्डारी, सञ्चमाया तामाङ, मुना श्रेष्ठ, दुर्गा अधिकारी, सीताराम वस्ती र बट्टाई विश्वकर्मा रहेका छन् । यसैगरी उपास तमाङको अध्यक्षतामा स्वास्थ्यकर्मी सङ्घको स्थानीय समिति गठन भएको छ । सो समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विष्णुमाया श्रेष्ठ, रञ्जितकुमार सिंह, कृष्णमान श्रेष्ठ र ज्ञानु तामाङ तथा सदस्यमा मनकुमारी सापकोटा, लक्ष्मी श्रेष्ठ, गंगा न्यौपाने, सुनिता मिश्र र सावित्री बुढाथोकी चयन भएका छन् । अधिवेशन उद्घाटन नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले गरेका थिए । उनले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको बताउँदै श्रमिकको हकहित र समस्या समाधानमा नेपाली काङ्ग्रेस सदैव प्रतिबद्ध रहेको बताए ।

      कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला नेताहरू चोकराज शाक्य, रमेशकुमार महत, राजकुमार भट्टराई, केशव अर्याल, तारकेश्वरका इकाइ सभापति हरि श्रेष्ठ, दिपेश शाक्य, नवराज खनाल, तारकेश्वर गाउँपालिका-३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठ, काङ्ग्रेस नेता वीणारत्न शाक्य, नवीन अधिकारीलगायतले नेपाली काङ्ग्रेसको सङ्गठन सुदृढीकरणमा ट्रेड युनियनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमा संरचना विस्तारले श्रमिकको हकहित संरक्षण र पार्टीको आन्तरिक जीवन मजबुत बनाउने बताएका थिए । सो कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष मञ्जु प्रधान, नेपाल स्वास्थ्यकर्मी सङ्घ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डे, शिक्षक सङ्घका लोचन भट्टराई, स्वास्थ्यकर्मी सङ्घका मिश्रीलाल यादव, रञ्जितकुमार सिंहलगायतले श्रमिकको समस्या र समाधानका लागि काङ्ग्रेसले गर्ने कामको चर्चा गरेका थिए ।