नेकपा नुवाकोटका बहुमत नेता प्रचण्ड–माधव पक्षमा

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:२८

बट्टार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा विधिवत् विभाजन कुरेर बसेको भए पनि नुवाकोटमा रहेका प्रदेश, जिल्ला, नगर तथा गाउँ कमिटीका बहुमत नेता पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेका छन् । आइतबार बट्टारमा भएको नेकपा नुवाकोटको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा भएको हस्ताक्षरअनुसार एक सय ६० जनाको जिल्ला कमिटी सदस्यमध्ये एक सय ३४ जनाले प्रचण्ड–नेपाललाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।

      नुवाकोट नेकपाको एक सय ६० जना जिल्ला सदस्यमा एक सय ३४ जना आइतबार सहभागी भएर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका छन् । २६ जना जिल्ला कमिटी सदस्य उक्त भेलामा उपस्थित भएनन् । नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले दिएको जानकारीअनुसार नुवाकोटको १२ वटै स्थानीय तहमा पुस १६ गते बिहीबार विरोध कार्यक्रम र कार्यकर्ता भेलाको आयोजना गरिएको छ । कार्यक्रमको नेतृत्व र व्यवस्थापनका लागि नेकपा बागमती प्रदेशका १२ जना सदस्यलाई तोकिएको छ । यस्तै, नुवाकोट जिल्लामा नेकपाबाट निर्वाचित वडाध्यक्षहरूमा ३५ भन्दा बढीले आइतबारको कार्यक्रममा सहभागिता जनाएका छन् । ८८ वटा वडा रहेको नुवाकोटमा ५१ वटा वडामा नेकपाले अध्यक्ष जितेको छ । प्रधानमन्त्री ओली पक्षमा बढीमा १५ जना वडाध्यक्ष रहेकोसमेत पार्टी सचिव खतिवडाले बताए । नेकपा नुवाकोटको जिल्ला भेलालाई सम्बोधन गर्दैै नेकपाका बागमती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई जनस्तरबाट विरोध गर्नुपर्ने बताए । पार्टी एकता र पार्टीले लिएका मूल्य–मान्यतालाई समेत केपी शर्मा ओलीले निजी स्वार्थमा प्रयोग गरेको उनको भनाइ छ । सुरुवाती दिनबाट नै आफूअनुकूल र शङ्कास्पद अभिव्यक्ति दिँदै आएको आरोप उनले लगाए ।

      कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विमला सुवेदीले वर्तमान सरकारविरुद्ध नागरिक समाजसमेत सडकमा उत्रिएको बताइन् । रगत र पसिनाले प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई लत्याउँदै प्रधानमन्त्री ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेको उनको भनाइ छ । कार्यक्रममा सहभागी भएका वक्ताहरूले नागरिकले दिएको जनमतको कदर गर्न नसकी प्रधानमन्त्री ओली संसद् विघटनतर्फ लाग्नु सोचनीय विषय रहेको बताएका छन् । बाहिरी शक्तिसँगको साँठगाँठका कारण वर्तमान सरकार चुकेको सहभागीले बताएका छन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य बेदुराम भुसालले संसद् विघटनसम्बन्धी सर्वाेच्चमा परेको रिटको संवैधानिक इजलासले उल्ट्याउनुको विकल्प नरहेको बताए । दुईतिहाइ बहुमत प्राप्त सरकारले विकास निर्माण र समृद्ध मुलुकको परिकल्पना गर्नुपर्नेमा संसद् विघटन गर्दै जनमतको अपहेलना गर्नु लोकतन्त्रमाथिको प्रहार रहेको उनको भनाइ छ ।

      पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले विधि-विधानविपरीत संसद् विघटन गरेको नेकपा नुवाकोटका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले बताए । प्रधानमन्त्रीको कदमको विपक्षमा ओली समूहकै धेरै नेता रहेको अध्यक्ष खतिवडाको भनाइ छ । संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेकोले संसद् पुनस्र्थापना हुनेमा विश्वस्त रहन उनले कार्यकर्तालाई आग्रह गरे । भेलामा जिल्लाका दुई सयभन्दा बढी अगुवा कार्यकर्ता उपस्थित भएका थिए । पुस १४ देखि ३० गतेसम्म सङ्घर्षका कार्यक्रम गर्ने र त्यसलाई वडा तहसम्म लैजाने निर्णय भएको उनले जानकारी दिए । पार्टी विभाजनपछि जिल्लाका अधिकांश नेता नेकपा दाहाल-नेपाल समूहमा देखिएका छन् । बागमती प्रदेश कमिटीमा रहेका नुवाकोटका १८ जना नेतामध्ये १२ जना दाहाल-नेपाल समूहमा खुलेर लागेका छन् । जिल्ला कमिटीका सचिवालय सदस्य ६२ जनामध्ये ४३ जना र कार्यालय टिमका सातजनामध्ये ६ जना नेता पनि दाहाल-नेपाल समूहमा खुलेर प्रधानमन्त्री ओलीको कदमको विरुद्ध लागेका छन् ।