+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशीको बाढी : इतिहासले दिएको चेतावनी र जलवायु परिवर्तनले थपेको चुनौती

भोटेकोशीको बाढी : इतिहासले दिएको चेतावनी र जलवायु परिवर्तनले थपेको चुनौती
त्रिशूली प्रवाह
४२ मिनेट अगाडी

धुन्चे । भोटेकोशी नदीमा बाढी आउनु रसुवा र नुवाकोटका नदीकिनारका बासिन्दाका लागि नयाँ घटना होइन । पुस्तौँदेखि नदीको बहाब, बाढी र त्यसले ल्याउने जोखिम देख्दै आएका स्थानीयका स्मृतिमा भोटेकोशी र त्रिशूलीमा पटक–पटक ठुला बाढी आएको इतिहास सुरक्षित छ । तर, पछिल्ला वर्षमा बाढीको स्वरूप, त्यसको तीव्रता र हिमाली क्षेत्रमा देखिन थालेका परिवर्तनले पुरानो अनुभवभन्दा फरक किसिमको जोखिमतर्फ सङ्केत गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोटका बुद्धिजीवी तथा भोटेकोशी–त्रिशूली क्षेत्रका घटनाका प्रत्यक्षदर्शी रामहरि रिमाल ‘बाजे’का अनुसार भोटेकोशीमा विसं २०११, २०१९, २०२६, २०४२, २०८२ असार २४ र साउन १४ गते पनि भोटेकोशीमा बाढी आएको थियो । ती घटनाको प्रकृति र क्षतिको मात्रा भने फरक–फरक रहेको उहाँको स्मरण छ । रिमालका अनुसार विगतका बाढीमध्ये विसं २०८३ भदौ १० गते आएको बाढीको स्वरूप भने निकै फरक र विनाशकारी रह्यो । त्यसअघि आएका बाढीले त्रिशूलीबजारमा पानी पस्दा पनि घरमा ठुलो क्षति नभएको र त्रिशूलीमा रहेको एउटा झोलुङ्गे पुल मात्र बगाएको घटना आफूले प्रत्यक्ष देखेको उहाँ बताउनुहुन्छ । झोलुङ्गे पुल बगाए पनि त्यो झोलुङ्गे पुलको लट्ठा भने सोही स्थानबाट करिब दुई सय मिटर मात्र तल बौद्ध विहारमा भेटिएको थियो भने यसपटक भने भोटेकोशीबाट आएको भेलले नदीकिनारको भूगोल नै बदलिने गरी क्षति पु¥याएको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको अभिलेखले पनि विसं २०८३ को भोटेकोशी बाढीलाई ठुलो विपत्का रूपमा राखेको छ । कार्यालयले बाढीसम्बन्धी छुट्टै प्रेस–नोट, बेपत्ता व्यक्तिको विवरण, शव सङ्कलन, उद्धार, राहत र पछिल्लो अवस्थासम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ । भदौ १० को बाढीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा ठुलो प्रभाव पारेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपछि खोज तथा उद्धार, बेपत्ता व्यक्तिको विवरण सङ्कलन, शव पहिचान तथा व्यवस्थापन र राहत वितरणलाई निरन्तरता दिइएको छ । कार्यालयले बाढीपछिको पुनस्र्थापना तथा बसोबास र जीविकोपार्जनसँग सम्बन्धित कार्ययोजना पनि सार्वजनिक गरेको छ । यसअघि वि.सं. २०८२ असार २४ गते ल्हेन्दे खोलाबाट आएको बाढीले रसुवागढी क्षेत्रको नेपाल–चीन जोड्ने पुल, सडक तथा अन्य संरचनामा क्षति पुर्याएको थियो । त्यस घटनामा भोटेकोशी करिडोरमा ठुलो असर परेको र सयौँ मानिसको उद्धार गर्नुपरेको रसुवा प्रशासनले जनाएको छ । त्यसको केही सातापछि साउन १४ गते पनि भोटेकोशीमा फेरि आकस्मिक बाढी आएको थियो । त्यसैले विसं २०८२ र २०८३ का लगातारका घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ– के हिमाली नदीको जोखिम अब पहिलेको जस्तो मात्र रह्यो त ? यस प्रश्नको उत्तर खोज्दा जलवायु परिवर्तनलाई पनि बुझ्न आवश्यक हुन्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी, हिउँ, स्थायी रूपमा जमेको जमिन अर्थात् ‘पर्माफ्रस्ट’ र पहाडी ढलानमा परिवर्तन आउन सक्छ । यस्ता परिवर्तनले हिमपहिरो, बरफ–चट्टानको पहिरो तथा हिमतालसम्बन्धी जोखिमलाई प्रभावित गर्न सक्ने वैज्ञानिक अध्ययनले देखाएका छन् ।

विसं २०८३ भदौ १० को भोटेकोशी बाढीबारे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रारम्भिक अध्ययनमा ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा ठुलो परिमाणमा बरफ र चट्टान नदीमा खसेको हुन सक्ने जनाएको थियो । त्यसबाट पानी, बरफ, ढुङ्गा र लेदो मिसिएको तीव्र बहाब बनेर भोटेकोशी हुँदै त्रिशूलीतर्फ गएको प्रारम्भिक अध्ययनमा उल्लेख छ । तर, उक्त एकल घटनालाई जलवायु परिवर्तनकै कारण भएको भनेर निष्कर्ष निकाल्न अझै पर्याप्त वैज्ञानिक प्रमाण नभएको इसिमोडले स्पष्ट पारेको छ । यही कुरा रसुवाले बुझ्नुपर्ने मुख्य सन्देश हो । हरेक बाढीलाई जलवायु परिवर्तनको परिणाम भन्न मिल्दैन । तर, तापक्रम बढ्दै गएको हिमाली वातावरणमा जोखिमको प्रकृति परिवर्तन हुन सक्छ भन्ने सम्भावनालाई बेवास्ता गर्न पनि मिल्दैन । इसिमोडका अनुसार विसं २०८३ को घटनामा पानीको बहाब अत्यन्त तीव्र थियो । त्रिशूली नदीको गल्छी क्षेत्रमा पानीको सतह छोटो समयमा निकै तीव्र गतिले बढेको हाइड्रोलोजिकल अवलोकनले देखाएको छ । यसले भोटेकोशी–त्रिशूली करिडोरमा केही मिनेटको सूचना पनि जीवन बचाउन महत्त्वपूर्ण हुन सक्छ भन्ने पाठ दिएको छ ।
तल्लो तटीय क्षेत्रसम्म पूर्वसूचना प्रणाली

जलवायु परिवर्तनलाई एउटा गाउँ वा एउटा जिल्लाले मात्र रोक्न सक्दैन । यसको मुख्य कारण विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनसँग जोडिएको विषय हो । तर, जलवायु परिवर्तनबाट हुने जोखिम घटाउन स्थानीय समुदायको भूमिका भने अत्यन्त महत्त्वपूर्ण हुन्छ । पहिलो, काम नदीलाई हेर्नु हो । नदीको बहाब अस्वाभाविक रूपमा बढेको, माथिल्लो क्षेत्रमा ठुलो आवाज आएको, पानीको रङ्ग अचानक फेरिएको वा ढुङ्गा–लेदो बढेको देखिएमा त्यसलाई सामान्य वर्षाको परिणाम भनेर बेवास्ता गर्नुहुँदैन । तत्काल सुरक्षित स्थानतर्फ जाने र अरूलाई खबर गर्ने संस्कार विकास गर्नुपर्छ । दोस्रो, गाउँ–गाउँमा स्थानीय पूर्वसूचना सञ्जाल बनाउन आवश्यक छ । माथिल्लो भोटेकोशी वा ल्हेन्दे क्षेत्रमा खतरा देखिएपछि टिमुरे, रसुवागढी, घट्टेखोला, स्याफ्रुबेँसी, पहिरेबेँसी, बेत्रावती हुँदै त्रिशूली किनारसम्मका समुदायलाई सूचना पुग्ने प्रणाली हुनुपर्छ । स्थानीय मानिसले मोबाइल, सामाजिक सञ्जाल, साइरन, प्रहरी, स्थानीय सरकार र समुदायबिचको सम्पर्कलाई एउटै सञ्जालका रूपमा प्रयोग गर्न सक्छन् । तेस्रो, नदी किनारलाई बस्ती विस्तार गर्ने ठाउँका रूपमा हेर्न छाड्नुपर्छ । बाढीको पुरानो बाटो, नदीको कटान क्षेत्र र पहिरोको जोखिम भएको ठाउँमा नयाँ घर, होटेल, गोदाम वा अन्य संरचना बनाउँदा आजको अवस्था मात्र हेरेर निर्णय गर्नु भविष्यका लागि जोखिम हुन सक्छ । चौथो, वन र पहाड जोगाउनु स्थानीय जलवायु अनुकूलनको महत्त्वपूर्ण उपाय हो । जथाभावी वन फँडानी, डाँडा काट्ने, खोल्सा थुन्ने र प्राकृतिक पानी निकास बन्द गर्ने कामले बाढी तथा पहिरोको जोखिम अझ बढाउन सक्छ । त्यसैले रुख रोप्नेभन्दा पहिले भएका वन जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । पाँचौँ, विद्यालयका विद्यार्थी र स्थानीय युवालाई विपत् चेतनासँग जोड्नुपर्छ । कुन ठाउँ सुरक्षित छ, बाढी आउँदा कुन बाटो प्रयोग गर्ने, कसलाई फोन गर्ने, बालबालिका तथा वृद्धवृद्धालाई कसरी सुरक्षित स्थानमा लैजाने भन्ने कुरा वर्षामा मात्र सिकाउने होइन, वर्षभरि अभ्यास गर्नुपर्छ । छैटौँ, भोटेकोशी–त्रिशूली नदी प्रणालीलाई केवल रसुवाको विषय भनेर हेर्न मिल्दैन । माथिल्लो क्षेत्रमा भएको घटना केही समयमै नुवाकोट, धादिङ र अन्य तल्लो तटीय क्षेत्रमा पुग्न सक्छ । यसपटकको बाढीले पनि यही अन्तरसम्बन्ध देखाएको छ । त्यसैले नेपाल–चीन सीमादेखि तल्लो तटीय जिल्लासम्मको पूर्वसूचना र सूचना आदानप्रदान प्रणाली बलियो बनाउनु आवश्यक देखिन्छ ।

इतिहासको सम्झना, भविष्यको तयारी
रिमालले सम्झनुभएको विसं २०११ देखि २०८३ सम्मका बाढीका घटनाले एउटा कुरा देखाउँछन् – भोटेकोशी र त्रिशूली कहिल्यै पूर्ण रूपमा शान्त रहने नदी होइनन् । तर, नदीको पुरानो स्वभावसँगै हिमाली वातावरण पनि परिवर्तन हुँदै छ । त्यसैले अब विगतको बाढीको कथा सुनाएर मात्र पुग्दैन । विगतका घटनाबाट सिकेर भविष्यका लागि तयारी गर्नुपर्छ । यसपटकको विनाशकारी हिमबाढीले रसुवालाई दिएको सबैभन्दा ठुलो पाठ यही हो – बाढी आउँदा उद्धार गर्नेभन्दा बाढी आउनुअघि सूचना पाउने र सुरक्षित हुने व्यवस्था बलियो बनाउनु जीवन बचाउने पहिलो उपाय हो । जलवायु परिवर्तन रोक्ने विश्वव्यापी प्रयास आफ्नो ठाउँमा आवश्यक छ । त्यससँगै रसुवाले आफ्नो भूगोलअनुसार हिमालको निगरानी, नदीको निगरानी, मौसमको सूचना, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती, वातावरण संरक्षण र समुदायको तयारीलाई प्राथमिकतामा राख्नुपर्छ । नदीलाई रोक्न सकिँदैन । हिमाललाई बाँधेर राख्न सकिँदैन । तर, जोखिम पहिचान गर्न, सूचना समयमै दिन, सुरक्षित स्थानमा जान र प्रकृतिसँग मिलेर बस्ने विकासको बाटो रोज्न भने सकिन्छ । भोटेकोशीले विगतका पुस्तालाई पटक–पटक चेतावनी दिएको छ । अबको पुस्ताले त्यो चेतावनीलाई ज्ञान, तयारी र जिम्मेवारीमा बदल्ने वेला आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह