+
Search

ताजा अपडेट +

पपुलर +

सुगतपुर विहार पुनः ब्युँताउन साथ दिऔँ

सुगतपुर विहार पुनः ब्युँताउन साथ दिऔँ
प्रवीण बज्राचार्य
५० मिनेट अगाडी

नुवाकोट जिल्ला, विदुर–१, त्रिशूलीबजारमा अवस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीले बगाएर बगरमा परिणत हुनु सिङ्गो बौद्ध समुदाय र नेपालकै बौद्ध शैक्षिक इतिहासका लागि अपूरणीय क्षति हो । यो विहार केवल एउटा धार्मिक स्थल मात्र नभएर नेपालमा आधुनिक परियत्ति शिक्षा (बौद्ध दर्शन र नैतिक शिक्षा) को जग बसाल्ने ऐतिहासिक केन्द्र थियो । विसं २०१९ मा भिक्षु बुद्धघोष महास्थविर वर्षावासका लागि सुगतपुर विहारमा आउनुभयो । उहाँले स्थानीय उपासक–उपासिकालाई बौद्ध धर्मको शिक्षा दिन थाल्नुभयो । त्यही समयमा उपासक धर्मरत्न शाक्य त्रिशूलीले नेपालका सबै विहारमा बौद्ध शिक्षा सञ्चालन गर्ने उद्देश्यले पाठ्यक्रमसहितको प्रस्ताव भिक्षु बुद्धघोषसमक्ष राख्नुभयो । त्यसबाट उहाँ अत्यन्त प्रसन्न हुनुभयो र सोही प्रस्तावअनुसार ‘नेपाल बौद्ध परियत्ति शिक्षा’ सुरु भयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बाढीको यस निष्ठुरी रूपले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्ताबेज र पुरातात्त्विक महत्त्वका संरचनालाई क्षणभरमै नामेट पारिदिएको छ । हाल ऐतिहासिक सुगतपुर विहारले ओगटेको भूमि र यसको परिसरलाई त्रिशूलीको बाढीले पूर्ण रूपमा कटान गरी बगर बनाउँदा यहाँको भौतिक इतिहास पूर्ण रूपमा मेटिन पुगेको छ । आज विहारको भौतिक संरचनालाई बगाएर बगर बनाए पनि त्यसबाट सुरुवात भएको परियत्ति शिक्षा आज हरेक बौद्धमार्गीको मन र मस्तिष्कमा गहिरो गरी सञ्चारित भइसकेको छ । भौतिक संरचना ढल्न सक्छन्, मेटिन सक्छन्, तर ज्ञान र चेतनाको जुन बिउ सुगतपुर विहारले रोपेको थियो, त्यो आज एउटा विशाल वृक्ष बनिसकेको छ । इँटा र माटाले बनेको विहार बगर बन्यो, तर त्यसले बाँडेको बुद्धको दर्शन, सदाचार र नैतिक शिक्षा मानिसको संस्कार र जीवनपद्धति बनेर जीवितै छ । बौद्ध समुदायका मनमा यस ठाउँप्रतिको श्रद्धा अझ प्रगाढ बनेको छ । यही आत्मिक शक्तिले नै भोलिका दिनमा यस ऐतिहासिक विरासतलाई पुनः ब्युँताउन ऊर्जा दिनेछ ।

इतिहासको कालखण्डमा यस बिहारमा विभिन्न भिक्षु आएर विभिन्न किसिमका ज्ञान बाँड्नुभएको थियो जसमध्ये ‘भिक्षु मैत्री महास्थविर’ हुनुहुन्छ जो अखिल नेपाल भिक्षु महासङ्घका पूर्वाध्यक्ष पनि हुनुहुन्छ । श्रद्धेय भन्तेको जन्मभूमिमा रहेको यो विहार केवल उहाँको एउटा कर्मथलो मात्र नभई उहाँको जन्मस्थान र बाल्यकालको स्मृति जोडिएको भूमि पनि हो । यस भूमिबाट नेपालमा परियत्ति शिक्षाको बीजारोपण गर्नु उहाँ र सम्पूर्ण नुवाकोटवासीका लागि ऐतिहासिक गौरवको विषय हो । उहाँले यस विहारका लागि धेरै सहयोग जुटाइदिनुभएको छ र सहयोग दिनु पनि भएको छ । व्यक्तिगत रूपमा श्रद्धेय भिक्षु मैत्रीको विहारप्रतिको आत्मीय सम्बन्ध निकै मार्मिक छ । उहाँको बाल्यकाल, साधना र सम्पूर्ण जीवन नै विहारसँग जोडिन्छ । त्यो उहाँको चित्त र मनको अभिन्न हिस्सासँग जोडिएको छ । आफ्नो जन्मभूमि र बाल्यकालदेखिको साधनास्थल भएकाले विहारका प्रत्येक कुना, माटो र त्यहाँ सञ्चालित परियत्ति शिक्षासँग उहाँको बाल्यकालदेखिकै भावना जोडिएका छन् । विहारसँग उहाँको र स्थानीय बासिन्दाको सम्बन्ध केवल एउटा धर्म वा सम्प्रदायमा मात्र सीमित थिएन; यो त मानिसको हृदय, भावना र आत्मीयताको एउटा बलियो कडी थियो ।

आज विहार बगरमा परिणत भए पनि फेरि निर्माण गर्नु अत्यावश्यक छ । त्यसैले श्रद्धेय मैत्रीले सो विहार फेरि ब्युँताउन एउटा अठोट लिनुभएको छ, त्यसमा साथ दिनका लागि म सम्पूर्ण परियत्ति शिक्षा लिने उपासक–उपासिकालाई हृदयदेखि नै अनुरोध गर्छु । आउनुस्, हाम्रो इतिहास र धर्म हामी आफैँ बचाऔँ । विदुर–१, त्रिशूलीबजार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

प्रवीण बज्राचार्य