नुवाकोटको नौ ‘कोट’मध्येको एक कोट धैबुङकोट गुमनाम

  • सरस्वती न्यौपाने

धुन्चे, नेपालको बागमती प्रदेशअन्तर्गत नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण रसुवाको कालिका गाउँपालिका-२ मा रहेको धैबुङकोटको ऐतिहासिक महत्व रहेको भए पनि अहिले प्रचार-प्रसार नहुँदा गुमनाम बनेको छ । नुवाकोटको नामकरण गर्दा नौ कोट मिलाएर बनाइएको थियो । नौ कोटमध्येको धैबुङकोट अहिले स्थानीय सरकार र अन्य सरोकारवाला निकायले चासो नदिँदा ओझेलमा परेको छ ।

       ०३२ सालभन्दा अघि रसुवा, नुवाकोट र धादिङलाई पश्चिम १ नम्बरको नामले चिनिन्थ्यो । तीन जिल्लाको केन्द्र नुवाकोट रहेको थियो । धादिङको धुँवाकोट र रसुवाको धैबुङलगायतका भूभाग विगतमा नुवाकोटमा समेटिएको थियो । बेलकोट, मालकोट, धुवाँकोट, भैरमकोट, कालिकोट, सल्यानकोट, सिमलकोट, प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामकरण भएको थियो । ०३० सालपछि जिल्ला पुनर्संरचना गर्दा नुवाकोटको केही भाग रसुवा र धादिङमा र रसुवा र धादिङका केही भाग नुवाकोटमा परेको थियो । नुवाकोट नामकरण हुँदा धैबुङकोट नुवाकोटमा रहेको ०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा सीमाङ्कन गरिएको ऐतिहासिक पक्ष र विभिन्न दस्ताबेज पाइन्छ । नुवाकोट हुँदा यस ठाउँलाई रामकाली गाउँ पञ्चायतको नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राम मन्दिर, धैबुङमा रहेको कालिका मन्दिरको संयुक्त नामलाई समावेश गरी रामकाली गाउँ पञ्चायत नामकरण गरिएको स्थानीय समाजसेवी चन्द्रशेखर लम्सालले जानकारी दिए । ०३२ साालपछि जिल्ला छुट्याउँदा नौ कोटमध्येको धुवाँकोट धादिङ जिल्लामा प¥यो ।

       स्थानीयवासीको भनाइअनुसार विगतमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई दही खुवाउने प्रचलन रहेको थियो । साबिकको धैबुङ गाविस, हाल कालिका गाउँपालिका कालिकास्थानको चिउरी बोटनजिकै बनेको कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बतसँग लडाइँ लडेका थिए भन्ने किंवदन्ती रहेको छ । सत्कारसहित खानामा दही र पानी पर्दा ओढ्नका लागि घुम दिइने चलन थियो । त्यतिबेलादेखि नै यस ठाउँ दही र घुमको रूपमा प्रख्यात हुँदै गयो । पछि पनि गोसाइँकुण्ड जाने प्रायः मानिसलाई ओढ्न घुम नभए पनि दही खुवाएर पठाइन्थ्यो भन्ने स्थानीय बुढापाका अझै गाउँमा भेटिन्छन् । यस ठाउँको नाम दही र घुमबाट अप्रभंश भएर धैबुङ रहन गयो । एक हजार पाँच सय १४ वर्गमिटरमा फैलिएको रसुवा जिल्लामा नेपालीको पवित्र तथा पर्यटकीय खण्ड बेत्रावती उत्तरगया धामदेखि विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा विभिन्न स्थल देख्न सकिन्छ । पृथ्वीनारायण शाहको राज्य एकीकरणका क्रममा युद्घ व्यवस्थापनका लागि कोतघर बनाइएको र त्यही समयदेखि गोरखाबाट गोरखनाथको मूर्ति टाउकोमा बोकेर धौबुङ हुँदै गोसाइँकुण्डमा स्नान गर्न लैजाने र ल्याउने चलन रहेको थियो । अहिले पनि गोरखनाथको मूर्ति गोसाइँकुण्ड मेलामा टाउकोमा जोगीहरूले बोकेर हिँडेर आउने गर्छन् । रामकाली हुँदा हाल नुवाकोटमा रहेको केराघारी, मभिर, कुवापानीलगायतको भूभाग रसुवामा थियो । ०३० सालपछि जिल्ला पुनर्संरचना गर्दा रसुवाको बेत्रावतीको भाग रामकाली गाउँ पञ्चायतमा रहेको थियो । अहिले पनि विभिन्न कागजात र ऐतिहासिक दस्ताबेजमा साबिकको धैबुङ गाविसलाई जिबजिबे नीलकण्ठ भनेर उल्लेख गरेको पाइन्छ । राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरणको क्रममा यस भूभागमा आउँदा आफूसँग आएका भाइ भारदारलाई बाली (कुत) उठाएर खाने गरी केही भूभाग उनीहरूको नाममा दर्ता गराइदिएको भन्ने ऐतिहासिक कागजातबाट पुष्टि हुन्छ । अहिलेसम्म पनि त्यहाँको जमिन बिर्तावालाको नाममा रहेको छ ।

       नेपालको संविधान २०७२ अनुरूप राज्य पुनर्संरचना भएपछि रसुवालाई ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । यसअघि १८ गाविस रहेको थियो । विशिष्ट हिमाली जीवनशैलीबीच रहन-सहन, वेशभूषा र चालचलन रहेका छन् । यही साबिकको धैबुङ गाविस हालको कालिका गाउँपालिका-५ जिबजिबेको रमणीय स्थल थुम्कीमा अवस्थित नीलकण्ठ महादेव मन्दिर रहेको छ । पासाङल्हामु राजमार्गको कालिकास्थानबाट पूर्वपट्टि करिब एक दशमलव ३ किलोमिटर दूरीमा पर्ने यो मन्दिरसम्म नै सडकमार्ग बनिसकेको छ । २०१८ सालमा यस महादेवको मन्दिर स्थापना भएको हो । परापूर्वकालमा यस मन्दिरमुनि बाँधिएको गाई प्रत्येक बिहान हराउने भएकाले खोजी गर्दा उक्त गाईले यस शिलामा दूध झारिरहेको कारण त्यसवेलादेखि यहाँ पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ । एकपटक मन्दिर भत्काउँदा कसैले वास्ता गरेनन्, के हुन्छ त भनेर स्थानीयले बेवास्ता गर्दा आकस्मिक रूपमा पटक–पटक चट्याङ परिरहँदा मान्छे तथा वस्तुभाउ मर्न थालेपछि ज्योतिषीको सल्लाहले क्षमापूजा गरेपछि सो भय हटेको स्थानीय बुढापाका बताउँछन् । त्यसैले त एक कोटमध्येको धैबुङकोटको ऐतिहासिक, धार्मिक महत्व र महिमा रहे पनि अहिले ओझेलमा परेको छ । यस क्षेत्रको प्रचार-प्रसार र केही भौतिक पूर्वाधार मर्मत र निर्माण गर्न सके पर्यटक प्रवद्र्धन भई आन्तरिक एवम् बाह्य पर्यटकको आगमन वृद्धि हुने र आर्थिक, सामाजिकस्तर उकास्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।