ग्लोबल सहकारीको अध्यक्षमा सुरेन्द्र

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:४८

बट्टार, विदुर नगरपालिका-४ बट्टारमा रहेको ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा तथा चौथां अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

      चौथो अधिवेशनले सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा पवन नेपाल, सचिवमा विष्णुहरि अर्याल र कोषाध्यक्षमा देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनबाट सरोज डङ्गोलको संयोजकत्वमा शर्मिला डङ्गोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षको प्रतिवेदनअनुसार संस्थामा हाल एक हजार पाँच सय ८० जना सेयर सदस्यको एक करोड २४ लाख ३५ हजार नौ सय रुपैयाँ सेयरपुँजी रहेको छ । संस्थाले गत आवमा नौ लाख ११ हजार दुई सय ४१ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष चित्रकारको प्रतिवेदनमा जनाइएको छ । साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।