२७७ विद्यालय पुनर्निर्माण

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:५१

विदुर, गत ०७२ को भूकम्पमा परी ध्वस्त भएका नुवाकोटका दुई सय ७७ वटा विद्यालयको भवन पुनर्निर्माणमा एक अर्ब ४१ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । भूकम्प जानुअघि नुवाकोटमा चार सय ५३ वटा विद्यालय रहेका थिए । तीमध्ये भूकम्पका कारण तीन सय ६४ विद्यालय पूर्ण क्षति र एक सय २० वटा विद्यालयमा आंशिक क्षति पुगेको थियो ।

जिल्ला आयोजना कार्यान्यन इकाइ शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष ०७३/७४ मा विद्यालय पुनर्निर्माणका लागि २१ करोड ३९ लाख ५७ हजार रुपैयाँ, आर्थिक वर्ष ०७४/७५ मा ४८ करोड २४ लाख १२ हजार रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा विद्यालय र शौचालय निर्माणका लागि ३४ करोड पाँच लाख ८० हजार र आर्थिक वर्ष ०७६/७७ मा विद्यालय, शौचालय र खानेपानीका लागि ३७ करोड ८३ लाख दुई हजार रुपैयाँ खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७३/७४ देखि आर्थिक वर्ष ०७६/७७ सम्म नेपाल सरकारको अनुदानमा विद्यालय व्यवस्थापन समितिमार्फत दुई सय ७७ वटा विद्यालयको सात सय ८८ कक्षा कोठाको पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा नुवाकोटले जनाएको छ । ककनीमा २५ वटा विद्यालयका ९४ वटा कक्षाकोठा, किस्पाङमा १४ वटा विद्यालयको ५२ वटा कक्षाकोठा, तादीमा १४ वटा विद्यालयकोे ४३ वटा कक्षाकोठा, तारकेश्वरमा २० वटा विद्यालयको ७५ वटा कक्षाकोठाको निर्माण गरिएको छ । त्यस्तै, दुप्चेश्वरमा २६ वटा विद्यालयको ८१ कक्षाकोठा, पञ्चकन्यामा १२ वटा विद्यालयको ५४ वटा कक्षाकोठा, विदुरमा २७ वटा विद्यालयको ९८ वटा कक्षाकोठाको पुनर्निर्माण सम्पन्न भएको छ ।

     त्यस्तै, बेलकोटगढी नगरपालिकाको १५ विद्यालयको ६९ वटा कक्षाकोठाको पुनर्निर्माण सकिँदा, म्यागङ गाउँपालिकामा १७ वटा विद्यालयको ६० कक्षाकोठा, लिखु गाउँपालिकाका ११ वटा विद्यालयको ४५ वटा कक्षाकोठाको पुनर्निर्माण सकिएको छ । शिवपुरीमा २३ वटा विद्यालयको पुनर्निर्माण सकिँदा ८५ वटा कक्षाकोठाको पुनर्निर्माण सकिएको छ भने सूर्यगढी गाउँपालिकामा १३ वटा विद्यालयको ४१ वटा कक्षाकोठाको पुनर्निर्माण व्यवस्थापन समितिमार्फत सम्पन्न भएको छ । त्यस्तै, जापान सरकारको ऋण सहयोगमा ५७ वटा विद्यालयका लागि दुई अर्ब १५ करोड ३० लाख ८५ हजार रुपैयाँ विपत् उत्थानशील विद्यालय परियोजनामार्फत ६ वटा विद्यालय पुनर्निर्माण भइरहेको छ । त्यसको लागत २४ करोड ८७ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा नुवाकोटले जनाएको छ ।