जयगणेश सहकारीको जग्गा खरिद गर्ने समिति

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १५:१९

विदुर, नुवाकोटको विदुरमा जिल्लाका प्रतिष्ठित उद्योगी-व्यवसायी, सहकारीकर्मीले ०६४ सालमा स्थापना गरेको जयगणेश बहुउद्देश्यीय सहकारी संस्था लि.को मंगलबार सम्पन्न साधारणसभाले कार्यालय सञ्चालनका लागि जग्गा खरिद गर्न समिति बनाएको छ ।

      सहकारीको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सचिव प्रकाशकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खरिदका लागि जग्गा खोज्न, प्रस्ताव गर्न, सल्लाह, सुझाब समिति गठन गरेको हो । सहकारीको साधारणसभाले पुरानो सञ्चालक समितिको कोषाध्यक्षबाहेक अरू पदमा यथावत् चयन गरेको छ । कोषाध्यक्ष गीता लामिछानेको घरायसी कारणले दिएको राजीनामा साधारणसभाले स्वीकृत गर्दै सञ्चालक समितिकी सदस्य लिस्ना प्रधानलाई कोषाध्यक्षमा र सञ्चालक समितिको रिक्त सदस्य पदमा सेयर सदस्य शिवराम ढकाललाई चयन गरेको छ । सहकारीमा अध्यक्ष वैकुण्ठ मिश्र, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, सहकारीका निवर्तमान अध्यक्ष नारायण पौडेललगायतले संयुक्त रूपमा उद्घाटन गरेको साधारणसभामा उत्कृष्ट बचतकर्ता गोकुल श्रेष्ठ, त्रिशूलीबजार, असल ऋणी प्रसन्न सेढाईं बट्टारलाई सम्मान गरिएको थियो । साधारणसभामा संस्थाका सञ्चालक सदस्य राजनलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा गत महिना निर्वाचित भएकोमा बधाई दिँदै सम्मान गरेको थियो ।

       आ.व. ०७५/७६ मा तीन सय ५० सेयर सदस्य रहेको संस्थामा आ.व. ०७६/७७ मा सेयर सदस्य वृद्धि भएर चार सय सेयर सदस्य रहेको जानकारी अध्यक्ष वैकुण्ठ मिश्रले दिए । सहकारीको सेयरपुँजी दुई करोड २४ लाख ८२ हजार सात सय रहेको छ भने गत आ.व. ०७६/७७ मा सहकारीले दुई करोड २२ लाख ३५ हजार दुई सय ८४ निक्षेप सङ्कलन गरेर चार करोड ९४ लाख ५६ हजार पाँच सय ४३ कर्जा लगानी गरेर खर्च कटाई खुद नाफा ८३ हजार दुई सय ३३ गर्न सफल भएको छ ।