गोसाइँकुण्डको एकीकृत विकासका लागि सात करोड विनियोजन

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १६:१२
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लाको प्रमुख ऐतिहासिक, धार्मिक एवम् पदयात्रामार्ग गोसाइँकुण्डको एकीकृत विकासका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सात करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

      चालू आ.व. ०७७/७८ का लागि मन्त्रालयले सात करोड बजेट विनियोजन गरेको हो । मन्त्रालयले पहिलो चरणमा योजनाअन्तर्गत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । प्रचार-प्रसारको कारणले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ मा पर्ने ‘गोसाइँकुण्ड’मा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । जिल्लामा धार्मिक पर्यटनको विकास गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि योजना सञ्चालन गर्न लागिएको हो । योजनाअन्तर्गत गोसाइँकुण्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माण कार्य, विद्युतीय कार्य, मन्दिर निर्माण, शौचालय निर्माण, रेलिङ निर्माण, ढुङ्गाको गाह्रो बनाई तारबार लगाउने, ढल निकासस्थल निर्माण, ६ वटा ट्रस्ट निर्माण, चोलाङपाटीदेखि लौरीविनासम्म भ¥याङ निर्माण, त्रिशूलधारामा भ¥याङ निर्माण र हेलिप्याड निर्माण कार्य गरिनेछ । यसका लागि २२ करोड ४२ लाख ७१ हजार तीन सय ५१ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसैगरी, योजनाअन्तर्गत खानेपानी वितरणका लागि एक करोड ४० लाख १८ हजार चार सय ७९ रुपैयाँ खर्च लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले योजना सञ्चालनका लागि ३३ करोड आठ लाख एक हजार सात सय ६२ रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

       खानेपानी वितरणका लागि २० वर्षको समयावधि प्रक्षेपण गरेर डिपिआर निर्माण गरिएको छ । डिपिआरअनुसार यस क्षेत्रमा हाल २५ घरधुरीमा एक सय ५० जनसङ्ख्या रहेको देखिन्छ । एकीकृत विकास योजनामा गोसाइँकुण्डवरिपरि हुने भौतिक निर्माण र धुन्चे-गोसाइँकुण्ड पदमार्गलाई मात्र समावेश गरिएको छ । यसले गोसाइँकुण्ड जाने अन्य तीनवटा पदमार्गलाई छुन सकेको छैन । केही वर्ष पहिलेसम्म गोसाइँकुण्डमा मेलाको समयमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा समेत तीर्थयात्री तथा पर्यटक आउने गरेको स्थानीय होटेल व्यवसायी सुब्बा लामाले बताए ।