भूकम्प स्मारक निर्माण

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १५:१२

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घ र गोयन्का स्टिल तथा सिमेन्ट उद्योगले नुवाकोटको विदुर नगरपालिका-२ वनदेवी मन्दिर परिसरमा भूकम्प स्मारक निर्माण सम्पन्न गरेको छ ।

      ०७२ सालको भूकम्पमा परी नुवाकोट जिल्लामा मृत्युवरण गरेका व्यक्तिको सम्झनामा नुवाकोट उद्योग वाणिज्य सङ्घले गोयन्का ग्रुपको सहयोगमा निर्माण भएको भूकम्प स्मारकको गत बिहीबार उद्घाटन भएको छ । स्मारकको उद्घाटन नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र गोयन्का समूहका उपाध्यक्ष अजय गोयन्काले पानसमा बत्ती प्रज्ज्वलित गरेर उद्घाटन गरेका थिए । गोयन्का प्रा.लि.ले सामाजिक उत्तरदायित्वको विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । नुवाकोटमा सङ्घको अनुरोधमा स्मारक निर्माणमा सहयोग गरेको अध्यक्ष अजयले सो अवसरमा बताए । गोयन्का गु्रपको नौ लाख १८ हजार र अन्य सहयोग जुटाएर सङ्घले १३ लाखको लागतमा स्मारक निर्माण भएको अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

      जिल्लाका एक हजार दुई सय आठजनाको भूकम्पमा परी मृत्यु भएको थियो । १६ फिट अग्लो चार फिट चौडाइ स्मारकमा नुवाकोट जिल्लामा भूकम्पबाट मृत्यु हुनेको पालिकाअनुसार नाम शिलालेख बनाएर लेखिएको छ । उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजनलाल श्रेष्ठ, सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यलगायतले भूकम्प स्मारक निर्माणले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए । स्मारकको संरक्षण, मर्मत र सरसफाइमा सङ्घले ध्यान दिनुपर्ने धारणा सहभागीले राखेका थिए ।